हल्दिवारी गाउँपालिकाको जलथल एफसी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको च्याम्पियन बनेको छ । म्याङलुङ खेलमैदानमा भएको फाइनल खेलमा आयोजक बिटिएफसीलाई २/१ गोलअन्तरले पराजित गर्दै जलथलले उपाधि जितेको हो ।
फाइनल खेलको म्यान अफ दी म्याच जलथल झापाका कप्तान कर्ण लिम्बू घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार पाए ,त्यस्तै गोल्डकपकै सर्वाधिक २ गोल गरेका झापाका सरोज कार्कीले हाइस्कोरको उपाधिसँगै नगद २५ हजार पाए ।
त्यस्तै उत्कृष्ट गोलरक्षक झापाका राजकुमार लिम्बू, उत्कृष्ट मिडफिल्डर झापाकै लक्ष्मण चौधरी घोषित हुँदा आयोजकका सन्देश लिम्बू उत्कृष्ट डिफेन्डर र आयोजककै दिनेश लिम्बू गोल्डकपकै उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद २५–२५ हजार पाए ।
भगिमानसिं तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमले आयोजना गरेको गोल्डकपको विजेता झापा हल्दिबारी गाउँपालिकाको जलथल एफसीले नगद ३ लाखसहित ट्रफी पायो भने उपविजेता आयोजक बिटिएफसीले नगद एक लाख ५० हजार र ट्रफीमा चित्त बुझायो ।
मंसिर २० गतेदेखि सञ्चालित गोल्डकपमा झापा, मोरङ, इलाम, पाँचथर, सुनसरी, उदयपुर, काठमाडौँ र तेह्रथुमका आठ टिम सहभागी थिए ।