काठमाडौँ। यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौ,’ उनले सेतोपाटीसगँ भने ‘अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढीरहेको छ। त्यसकारण जरिवाना बढाउन लागेका हौं।’
विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ।
‘प्रदेश सरकारसँग छलफलपछि हामी ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउँछौं। मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिन्छ। त्यसपछि मस्यौदा संसदमा जान्छ,’ हमालले भने।
संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ। अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई ३ हजारसम्मको जरिवाना लिन अधिकार दिइएको छ।
यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउने छ। यो ऐन लागू भएपछि ट्राफिक नियम उलंघनको जरिवाना न्यूनतम र उच्चतम भन्ने हट्छ र सिधै ५ हजार जरिवाना लाग्छ।’