काठमाडौं । प्रतिनिधि सभाका सभामुख चयन सकस बनिरहेको छ । दुईवटा संसद बैठक स्थगित गरेर सहमतिको प्रयास गरिरहेको भए पनि सत्तारुढ नेकपाले आफ्नै पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । पुस २७ गतेका लागि संसद बैठक बोलाइएको भए पनि हालसम्म उक्त दिन बैठक बस्नेमा आशंका कायमै छ । तर, यही बेला सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
प्रतिपक्षी दललाई बेवास्ता गर्दै आएको सत्तारुढ नेकपाभित्र सभामुख चयनको सकस परिरहेका बेला प्रचण्ड बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका हुन् । सोमबार देउवा निवास पुगेका प्रचण्डले सभामुख चयनमा सहयोग गर्न देउवासँग आग्रह गरेका छन् ।
कांग्रेसले सभामुख र उपसभामुख मध्ये एक आफ्नो पार्टीले पाउनु पर्ने दाबी गर्दै आएका बेला प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक राजनीतिकलगायतका विषयमा पनि कुराकानी भएको छ । सभामुख चयन गर्न सत्तारुढ नेकपालाई बाधा नपर्ने भए पनि आन्तरिक विवाद बढिरहेका बेला प्रचण्डले देउवालाई भेटेका हुन् ।
प्रतिनिधि सभाको बैठकमा हुने निर्वाचनमा बहुमत ल्याउने सभामुखको उम्मेदवार सभामुख बन्न सक्छ । यसका लागि सत्तारुढ नेकपालाई पर्याप्त सदस्य अर्थात बहुमत सदस्य छन् । र पनि नेकपाभित्र सभामुखका लागि पूर्वएमाले र पूर्व माओवादी धारबाट फरक फरक व्यक्तिको नाम अघि सारेपछि विवाद भइरहेका बेला प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।