हेटौडा । प्रदेश ३ को स्थानीय राजधानीबारे प्रदेश सभामा सुरु भएको प्रस्तावमाथिको छलफलमा काँग्रेस सांसद नरोत्तम वैद्य प्रतिवेदन नै गोलमटोल रहेको बताएका छन् । उनले यो प्रतिवेदन हो कि होइन रु भन्दै विरोध गरेका छन् ।
त्यस्तै उनले काभ्रे भक्तपुर, नुवाकोट जहाँ राखेपनि हुन्छ भनेर प्रतिवेदनले अन्यौल थपेको बताए ।‘यसका आधारमा निर्णय हुन सक्दैन । हामीले कार्यदल किटानी गर्न बनाएको हो । हचुवा प्रतिवेदन आएको छ । ७ लाख रुपैयाँ खर्च मात्रै गरिएको छ । प्रतिवेदनको गुह्य हेर्दा भक्तपुरमा राख्नुपर्छ भनेजस्तो भएपनि भक्तपुरमा संघ सरकारले काम गर्न दिदैनँ,’ छलफलमा भाग लिँदै उनले हरेक हिसावले प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त हुने बताए ।
‘मकवानपुर त अन्तिम विकल्प हो’ वैद्यको भनाइ छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल गर्दै वैद्यले स्थायी राजधानी तोक्न ढिला गर्नुमा मुख्यमन्त्रीको असफलता भएको टिप्पणी गरे ।