काठमाडौँ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।

बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् ।काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो ।यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् ।

प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।एसएसपी सुवेदीका अनुसार मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसएसपी सुवेदी भन्छन्, ‘ विप्लव समूहले थप आक्रमण गर्नसक्ने भन्दै बालुवाटरलगायतका स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।’

विप्लव समूह अपराधिक सङ्गठन रहेको भन्दै सरकारले २०७५ फागुन २८ गते उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहका एक हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन् ।सरकारले विप्लव समूहलाई आतंककारी समूह रहेको घोषणा समेत गरेको छ । सूचना, सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवmक्ता समेत रहेका गोकुल बाँस्कोटाले माघ २ गते नियमित पत्रकार सम्मेलनको क्रममा विप्लवका गतिविधिले सो समूह आतंककारी रहेको पुष्टि भएको बताएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार