भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।
७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ ।भारतीय जनता पार्टीले ८ स्थानमा जीत निकालेको छ ।
केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन ।यससँगै अरविन्द केजरीवालले थप ५ वर्ष दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । आम आदमी पार्टीको जीतसँगै हजारौं समर्थकले दिल्लीका सडकमा खुशीयाली मनाएका छन् ।
निर्वाचनमा विजयी भएका केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, कांग्रेसका प्रभावशाली नेता राहुल गान्धी सहित विभिन्न राजनीतिक दलका नेताहरुले बधाई दिएका छन् ।