काठमाडौं, ६ फागुन । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ ।
गतपुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले रेकर्ड तोडेको थियो । उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले आज नयाँ किर्तिमान कायम गरेको हो। सोमबार सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै पनि सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ । पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ । त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको सरोकारवालाले बताएका छन् ।