अखिल नेपाल फुटबल संघ( एन्फा) ले उपमेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको भोली पल्ट शुक्रबार फुटबलका सबै गतिविधि रोक्ने सुचना जारी गरेको छ ।
कोरोना भाइरस संक्रमण असर विश्व व्यापी रुपमा फैलदै गएपछि नेपालमा पनि सावधानीका लागि विभिन्न कार्यक्रम स्थगित हुन थालेका छन् । एन्फाले शुक्रबार विज्ञप्ती जारी गर्दै चैत ३ गते धरानमा सुरु हुने भनिएको महिला लिग, राष्ट्रिय टोलीको तयारी र सबै कार्यक्रम रोक्ने निर्णय गरेको छ ।
विभिन्न जिल्ला संघले आयोजना गर्ने गोल्डकप लगायतका प्रतियोगिता पनि अनिश्चित कालका लागि स्थगित भएका छन् ।अर्को महिना स्वदेशमा हुने विश्व कप छनोटअन्तर्गत चाइनिज ताइपे र अष्ट्रेलियासँगको खेलका लागि सुरु भएको राष्ट्रिय फुटबल टोली तयारी पनि स्थगित भएको छ ।
चाइनिज ताइपेविरुद्ध चैत १३ गते र अष्ट्रेलियाविरुद्ध चैत १८ गते दशरथ रंगशालामा खेल हुने तय थियो । यसबीचमा अष्ट्रेलिया कोरोनाको कारण देखाउँदै छनोट खेल स्थगित गर्नका लागि एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्रचार समेत गेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले बिहीबार मात्रै सुचना जारी गर्दै सुरु भइसकेका प्रतियोगियताबाहेक सबै प्रतियोगिता र गतिविधि रोक्न भनेको थियो । एन्फाले हरेक साता शनिबार सञ्चालन गर्दै आएको फुटबल प्रशिक्षण कार्यक्रममा पनि अनिश्चित कालका लागि स्थगित गरेको छ ।