देशको विभिन्न भागमा जातीय विभेद तथा छुवाछूत सम्बन्धि विभिन्न घटनाहरु भइरहेको प्रति उत्पीडित अधिकार मञ्च, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।पोखरा महानगरपालिका-१६ बस्ने मोहन कुमार सुनारका भाइ सम्मर बहादुर सुनारको हालै वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा मृत्यु भई काजकिरियाका लागि पोखरा महानगरपालिका समेतको लगानीमा निर्मित काजकिरिया गर्ने सार्वजनिक भवन प्रयोग गर्न अनुमति माग्दा कथित उपल्लो जातिका व्यक्तिहरुले उक्त भवन दलितलाई प्रयोग गर्न दिन नमिल्ने भनी जातीय गाली-गलौज समेत गरेर विभेद गरेकोमा मिति २०७७/०१/११ मा जि.प्र.का. कास्कीमा जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा जाहेरी दर्ता गरिएको थियो ।
सो घटनालाई लिएर नेकपा कास्कीका अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सभा सदस्य माननीय कृष्ण बहादुर थापाले जारी गरेको विज्ञप्तिले सिंगो दलित मुक्ति आन्दोलनमाथी नै अपमान गरेको हाम्रो ठम्याइ रहेको छ । विभेदमा परेर न्याय माग्न जाँदा त्यसलाई उनले सामाजिक सद्भाव धमिल्याउन खोजेको आरोप लगाएका छन् । सरकारमा रहेको पार्टीको एक जिम्मेवार नेताको यस्तो अभिव्यक्तिले सिंगो उत्पीडित दलित समुदाय आक्रोशित भएको छ । आजसम्म दलित समुदायले शोषण, दमन, अन्याय, अत्याचार, अपमान, घृणा, विभेद र तिरस्कार सहि आएकोले प्रतिकार र प्रतिवाद नगरेर तिम्रो सामाजिक सद्भाव कायम भएको देखिएको हो भने अब दलितहरुले यश किसिमको घटनाहरूको पाइला-पाइलामा प्रतिकार गर्नेछन् । दलित समुदाय कमजोर छैन । तिम्रो पाखण्डी सोच र व्यवहार भत्काएर नयाँ समाजको सद्भावको पर्खाइमा आम नेपाली नागरिकहरू रहेका छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले मानव अधिकारको विश्वव्यापी मान्यता, नेपालीको संविधान र जातीय भेदभाव तथा छुवाछूत ( कसुर र सजाय ऐन )- २०६८ को विरुद्धमा विज्ञप्ति जारी गरेको हुँदा निजलाई कडा भन्दा कडा कार्वाहीको जोडदार माग गर्दछौं । साथै, अहिले पनि पीडित सुनार परिवारको घर घेर्ने, धम्काउने, डर, त्रास देखाउने लगायतका गतिविधि भइरहेको बुझिएकोले त्यस्तो कार्य तत्काल रोक्न चेतावनी दिन चहान्छौं ।
त्यस्तै गरि, मोरङको मिक्लाजुङ्ग-९ मा मिति २०७७/०१/१९ गते रातको समयमा १४ वर्षीय दलित बालिका माथि भएको घटनाको दलित अधिकारकर्मीहरु समेतको अगुवाइमा इप्रका उर्लाबारीमा मुद्दा दर्ता भएको छ । घटनाको दोषी भनिएको वर्ष २२ को धीरेन मगर हालसम्म फरार रहेको छ । निजलाई तत्काल पक्राउ गरि कानुन बमोजिम हदैसम्मको कार्वाहीका लागि सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं ।
दिन प्रतिदिन जातीय छुवाछूतको नाममा यस्ता किसिमका घटना हुँदै जानुले पुरातन संस्कार अझै पनि कायमै रहेको तथ्य उजागर गरेको छ । यस्तो प्रवृत्ति सम्पूर्ण दलित समुदाय माथिको प्रहार हो । यसको गतिलो जबाफ दिनका लागि उत्पीडित दलित समुदाय तयार रहेको छ । यसका लागि दलित समुदायको पक्षमा पैरवी गर्ने सरोकारवाला सबै जिम्मेवार पक्षसंग एकजुट भई अघि बढ्न हार्दिक अपिल गर्दछौं । साथै, यी घटनाहरुमा संलग्न सबै दोषीहरूलाई यथाशीघ्र कानुन बमोजिम हदैसम्मको कार्वाहीका लागि नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।
सागर पोर्तेल
(अध्यक्ष )
उत्पीडित अधिकार मञ्च, नेपाल झापा ।