काठमाडौं l सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतले नेपालको लिपुलेक हुँदै निर्माण गरेको सडकले नेपालको सार्वभौमिकताको अवमुल्यन गरेको जनाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त वक्तव्य जारी गर्दै सडक निर्माण गर्ने कार्यले सार्वभौमिकताको अवमुल्यन गरेको जनाएका हुन् ।
नेपालको लिपुलेक पास हुँदै चीनको मानसरोवर जोड्ने सडक उदघाटनक कार्यलाई विज्ञप्तिमा खेदजनक भनिएको छ ।सीमा क्षेत्रमा थप जटिलता उत्पन्न हुने कुनै कार्य नगर्न समेत भारतलाई नेकपाले आग्रह गरेको छ ।
नेकपाले सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको उल्लेख गरेको छ । नेपालले पटकपटक सचिव स्तरीय वार्ता मार्फत् सीमा विवाद सुल्झाउन गरेको पहललाई भारतले वेवास्ता गरेको नेकपाको वक्तव्यमा उल्लेख छ ।
साथै नेकपाले तत्काल सडक निर्माण कार्य रोक्न माग गरेको छ । कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला भारतले यस्तो कदम चालेको भन्दै नेकपाले दुःख व्यक्त गरेको छ । नेकपाले नेपाल र भारत सरकारलाई सीमासम्बन्धी समस्या हल गर्न तत्कालै पहल लिन पनि आग्रह गरेको छ ।