नरेन सुब्बा, सुनसरी / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभाग सिल गरिएको छ । धनकुटाको जिल्ला अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सले रिफर गरेको बिरामी विभागमा भर्ना भएको खुलेपछि सोमबार सिल गरिएको हो ।
प्रतिष्ठानले बिहानदेखि नै स्त्री तथा प्रसूति विभाग, ओपिडी र वार्डलाई सिल गरेको छ । विभागीय प्रमुख प्राडा. मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पतालमा ज्वरो आएका दुई महिलामध्ये एकलाई कोरोना संक्रमित नर्सले प्रतिष्ठानमा रिफर गरेकी थिइन् । ती नर्सले हेरेका प्रसूतिमध्ये यसअघि पनि ६ जनालाई प्रतिष्ठानमा पठाइएको खुलेको छ । ‘ती महिला गत शुक्रबार गाइनो वार्ड विभागमा भर्ना भएकी थिइन् ।
उनको दुई साताअघि शल्यक्रियामार्फत धनकुटा अस्पतालमा बच्चा भइसकेको छ,’ उनले भने, ‘डिस्चार्ज भएर घर गएकी सुत्केरी इन्फेक्सन भएपछि पुनः अस्पताल आएकी थिइन् ।’ ती महिलालाई प्रतिष्ठानकै आइसोलेसन वार्डमा राखिएको छ । प्रमुख रेग्मीका अनुसार भर्ना भएकी बिरामीको पीसीआर रिपोर्ट नआएसम्म सिल गरिएको छ भने नयाँ बिरामी भर्ना नगर्ने र भएका विरामीलाई पनि डिस्चार्ज नदिने निर्णय गरिएको छ ।
प्रतिष्ठानको प्रसूति विभागमा दैनिक ३० देखि ४० जना बिरामी आउने गरेका थिए । विभागका वार्डहरुमा अहिले पनि सुत्केरी भइसकेका र हुन बाँकी गरी ९० महिला रहेका छन् । उनीहरुलाई पहिलेकै चिकित्सक र नर्सको टिमले हेर्नेछन् ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1