भद्रपुर l भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा नेपालको झण्डा गाड्न हिडेका बेला पक्राउ परेका दार्चलाका ८ जना युवाहरु रिहा भएका छन् ।
दाुर्चला जिल्लाको लेकम गाउँपालिका—१ का ७ जना र नौगाड गाउँपालिकाका एक युवालाई प्रहरीले बीच बाटोबाटै गिरफ्तार गरेको प्रहरीले आज उनीहरुलाई रिहा गरेको हो । व्याँस गाउँपालिका—२ दुम्लीङबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । आज रिहा हुनेमा लेकम गाउँपालिका १ सर्मोलीका जनक साउँद, अनिल साउँद, दिपक बिष्ट, सुरेन्द्र बिष्ट, गणेश बिष्ट, जीवन बिष्ट, मदन बिष्ट र नौगाड गाउँपालिकाका किशन ठगुन्नालाई रहेका छन् । भारतले नेपालीभूमिमा सडक खनेको सार्वजनिक भएसँगै दार्चुलाका युवाहरु आक्रोसित भएका छन् ।
उनीहरुले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला जलाउँदै विरोधका कार्यक्रम गर्दै आएका थिए । यसैबीच युवाहरुको एक टोली भारतले अतिक्रमण गरेरको जमिनमा नेपालका झण्डा गाड्ने भन्दै सो क्षेत्र प्रस्तान गरेको थियो तर प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको थियो ।
सरकारले नेपालको नक्सा सार्वजनिक गर्नुभन्दा पहिले नै युवाहरु कार्यक्रम तय गरेका थिए । लिम्पियाधुरासम्मको भूमि नेपालकै भएपनि २०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । सरकारले लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी मान्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा मात्रै तीन सय ९५ वर्गकिलोमिटर भूभाग अतिक्रमणमा परेको छ ।
यसअघिकै नक्साअनुसार पनि भारतले ६० वर्गकिलोमिटर जमिन अतिक्रमण गरेको थियो । भारतले चीनको सीमा अर्थात कैलाश मानसरोबर जाने सडक करिब २२ किलोमिट सडक नेपाली भूमि मिचेर बनाएपछि विवाद सुरु भएको थियो ।