हल्दिवारी झापा । काकडभिट्टादेखि इनरुवासम्म निमार्ण हुने भनिएको रेलमार्गका लागि सरकारले जग्गा अधिग्रहण प्रकृया शुरु गरेको छ । मेची–महाकाली विद्युतीय रेलमार्गका लागि झापा मोरङ र सुनसरीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको हो ।
सरकारले बजेट भाषण मार्फत रेलमार्ग बनाउने धोषणा गरे लगत्तै पहिलो चरणमा निर्माण हुने भनिएको १०६ किलोमिटर काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो । रेल विभागका प्रतिनिधिसहितको टोलीले तीनवटै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरु संग गरेको छलफलका आधारमा सुनसरीमा भोक्राहाको चिरौली चोकदेखी १४० बिगाहा १८ कठ्ठा जग्गा अधिग्रहण हुने जानकारी गराईएको थियो ।
१०६ किलोमिटर लामो रेलमार्ग निर्माण काकडभिट्टादेखि इनरुवा खण्डको सरकारले सुनसरीमा १४० बिगाहा १८ कठ्ठा जग्गा, मोरङमा २३० बिगाहा, र झापामा ३०३ बिगाहा जग्गागरि ६७३ बिघा १८ कठ्ठा जग्गा रेलमार्गले ओगट्ने भएकाले अधिग्रहण प्रकृया शुरु गरेको हो ।
तीनवटै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएपछि ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले जग्गाधनी प्रमाणपूर्जा, मालपोत तिरेको रसिद र नागरिकताको प्रमाणपत्रसहित हकदाबीका लागि निवेदन दिनुपर्ने जनाईएको छ ।