नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न लामो समयसम्म जोडबल गर्दा पनि पार्टीभित्रबाटै अल्पमतमा परेपछि सो अनुमोदन गर्ने कार्यबाट पछि हटेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका अन्य शीर्ष नेताहरूलाई एमसीसी पास गर्न सहयोग गर्न गरेको प्रयास असफल भएपछि उनी एमसीसीबाट पछि हट्ने निर्णयमा पुगेको स्रोतको दाबी छ । एमसीसीबारे असार १० गतेको लागि बोलाइएको स्थायी कमिटिले जे निर्णय गरेपनि स्वीकार्ने मनासायमा ओली छन् ।

सल्लाहकारको टिमले पनि उनलाई एमसीसीबाट पछि हट्दा जनमानसमा राम्रो छवि जाने सल्लाह दिएको बुझिएको छ । पछिल्लो समय नेपालको नयाँ नक्सा जारी गरेपछि राष्ट्रवादी छवि बनेको र एमसीसीलाई अस्वीकृत गर्ने हो भने जनमानसमा राम्रो छाप पर्ने सल्लाह ओलीलाई उनीनिकट नेताहरूले पनि दिने गरेका थिए । तर ओली भने अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको र थप बिग्रन नदिन एमसीसी पास गर्ने असफल प्रयास गरिरहेका थिए । नयाँ नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध बिग्रिएको र एमसीसी अस्वीकृत गरेपछि अमेरिकासँग पनि सम्बन्ध बिग्रने डर अझै पनि ओलीमा छ ।

कतै भारत र अमेरिका मिलेर आफ्नो राजनीतिक करियर नै धरापमा पार्ने त हैनन् भन्ने आशंका ओलीमा रहेको छ । तर जति पहल गर्दा पनि आफ्नै पार्टीभित्रका अन्य शीर्ष नेताहरूलाई सम्झाउन नसकेपछि ओली एमसीसीलाई बेवास्ता गर्दै मन्त्रिपरिषद् पुनर्गठनमा लागेका छन् । नयाँ आर्थिक वर्षसँगै झण्डै १० जना मन्त्री परिवर्तन गर्ने ओलीको तयारी छ ।

मन्त्रिपरिषद् गुनर्गठनबारे ओलीले प्रचण्डसँग पनि परामर्श गरेका छन् । पछिल्लो समय आशा गरेका मन्त्रीहरू पनि कोरोना रोकथाममा सक्रिय हुन नसकेको भन्दै ओलीले कम्तिमा १० जना मन्त्री फेर्ने योजना बनाएको प्रचण्डलाई सुनाएका थिए ।

त्यसो त ओलीले उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्रिपरिषदमा सहभागी भएर सरकारलाई सघाउन आग्रह गरेका थिए । गौतमलाई उपप्रधानसहित अर्थ मन्त्रालय संहाल्न ओलीले आग्रह गरेका थिए । उनलाई सरकारको सिफरिसमा राष्ट्रियसभामा लैजाने निर्णय यसअघि नै नेकपाले गरिसकेको थियो । पटक–पटक प्रधानमन्त्री बनाउने आश्वासन पाइरहेका गौतमलाई ओलीले हाललाई क्याविनेटमा सहभागी हुन र निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वसन दिएको स्रोतको दाबी छ ।

यता प्रवक्ता श्रेष्ठलाई भने शिक्षा मन्त्रालय संहाल्न ओलीले आग्रह गरेका छन् । श्रेष्ठले भने परराष्ट्र मन्त्रालयमा आँखा लगाएको स्रोतको दाबी छ । पछिल्लो समय सचिवालयमा अल्पमतमा परेका ओलीले गौतम र श्रेष्ठलाई रोजेकै मन्त्रालय दिएर आफू निकट ल्याउने पहल गरेको बुझ्न सकिन्छ ।

ओलीले पूर्वमाओवादीतर्फका मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति वस्नेतलाई मन्त्रिपरिषद्बाट विदाइ गर्ने तयारी गरेका छन् । त्यसैगरी पुर्व एमालेबाट अर्थमन्त्री युवराज खतिवडासहित, भूमिसुधारमन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली रहेको बुझिएको छ । सञ्चार र शहरी विकास मन्त्रालय खाली नै रहेकोले त्यहाँ पनि नयाँ मन्त्री नियुक्त गर्ने ओलीको तयारी छ ।

नयाँ मन्त्रीको दौडमा भने नेकपा सचिव विष्णु पौडेलदेखि सुरेन्द्र पाण्डेसम्म रहेका छन् । त्यसैगरी पम्फा भूषाल, महेश बस्नेत, खगराज अधिकारी, बेदुराम भूषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतको पनि चर्चा चुलिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार