देवेन्द्रकिशोर ढुंगाना : इटहरी/ सुनसरीको नेपाल र भारत सिमाक्षेत्रबाट दुवै देशका नागरिकहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको १ सय दिन पुरा भएको छ । लकडाउन सुरु भएपछि सीमाक्षेत्र र सिमानाका बन्द रहेकाले मानिस हरुलाई हिडडुल र मालसामान ओसारपसारमा बन्देज लगाईएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले सिमाक्षेत्रमा सिल गरेको अवश्थामा सुनसरीमा भने लागु औषधसहितका मालसामानहरुको निर्वाध रुपमा तस्करी भइरहेको छ । सुनसरीको भारतीय सीमावर्ती क्षेत्रमा रहेको बसन्तपुर, भुटाहा, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्ज, भाण्टावारी, श्रीपुरजब्दी, हरिपुर, लौकही, भोक्राहा, नरसिह नाकाबाट दैनिक रुपमा रात र दिनको समयमा अवैध रुपमा मालसामानको ओसारपसार हुने क्रम बढदै गएको छ । सुनसरीको देवानगञ्ज गाँउपालिका स्थित कप्तानगञ्ज कौवाखोज र पाचो सिमर नाकामा नेपालमा उत्पादन भएका विभिन्न ब्राण्डका मदिराहरुको ठुलो परिणाममा तस्करी हुने गरेको छ ।

सिमा सुरक्षाका लागी लकडाउन सुरु भएपछि सरकारले सिमाक्षेत्रको दशगजामा सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन गरेपनि लामो समयदेखी ड्युटीमा खटिएका सशस्त्र प्रहरीकै सुरक्षाकर्मीको मिलोमतोमा तस्करीका मालसामानहरु नेपाल भित्रीने र भारत तर्फ लैजाने कार्य हुदै आएको सिमाक्षेत्रका स्थानियहरु बताउछन । सुनसरीको कप्तानगञ्ज, घुस्की, बसन्तपुर र भुटाहा सिमाक्षेत्रबाट दैनिक रुपमा दिउसो र रातीको समयमा भारतबाट नेपालमा प्रतिबन्धीत औषधि, खैनी,गुटखा, रजनीगन्धा, कपडा, हार्डवेयरका सामान, इलेक्ट्रोनिक्स, आलु, प्याज, लसुन, दाल, खाने तेल, मसला, महिलाका मेकअप श्रृङगारका सामानहरु, जिउँदो कुखुरा, इनडक्सन चुल्होसहित विभिन्न प्रकारका कपडा लगायतका सामानहरु सिमाक्षेत्रबाट अवैध रुपमा तस्करी भएर आउने गरेको छ ।

नेपालबाट फलफुल स्याउ, हरियो मटर दाना, रक्सी र विभिन्न प्रकारका चाइनिज सामानहरु चोरी निकासी भइरहेको स्थानियहरुले बताएका छन । देवानगञ्जका प्रमोदकुमार साहका अनुसार कप्तानगञ्ज नाकाबाट नेपाल भारत तर्फ मालसामान ओसारपसार गर्ने कार्यमा सक्रिय पहाडिया मियाँ, महेश्वर यादव लगायतले सशस्त्र प्रहरी वलको विओपीमा सेटिङ मिलाएर दैनिक ३० जनाको समुह परिचालन गरेर सामानहरु वारपार गर्ने गरेको बताउछन । घुस्कीका समसुल मियाँका अनुसार घुस्की नाकाबाट अली, कलाम मियाँ, रहमान मियाँ र नुरुल भन्ने भारतीय तस्करहरुले सशस्त्र प्रहरी वलको विओपीमा सेटिङ मिलाएर दिउसो र रातीको समयमा विभिन्न प्रकार मालसामानहरु दुवै मुलुक तर्फ ओसार पसार गर्न २० जना मानिसहरु परिचालन गर्ने गरेको बताउछन ।

सिमाक्षेत्रबाट सामान ओसारपसार गर्ने कार्यका परिचालन गरिएका मानिसहरुले सामान ल्याउने र लैजाने कार्य वापत दैनिक २ हजार सम्म ज्याला पाउने गरेका छन । बसन्तपुर र लौकही क्षेत्रमा समेत दुवै मुलुकमा ठुलो परिणाममा मालसामान ओसारपसार गर्नेहरुको सक्रियता लकडाउन सुरु भएपछि बढेकाले सिमाक्षेत्र सिलबन्दी गरेपनि अवैध कारोवार भने फस्टाउदो अवश्थामा रहेको सिमाक्षेत्रका स्थानियहरु बताउछन ।

देवानगञ्जका एक जनप्रतिनिधिका अनुसार सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु तस्करीमा मालसामान ओसारपसार गर्नेहरुबाट दैनिक रुपमा रकम असुली गर्ने कार्यमा लागेकाले सुनसरीमा सिमाक्षेत्रमा सिलबन्दीको असर सर्वसाधरणहरुमा मात्र हुने गरेको छ हरिनगर गाउँपालिकाका एक वडाअध्यक्षले भने नेपाल प्रहरी र सशस्त्र प्रहरी सिमाक्षेत्रमा रहेका सुरक्षा निकाय भएकाले प्राय जसो नेपाल प्रहरी विभिन्न मुद्धा मामिला, झै–झगडा मिलाउन, मानिस पक्राउ गर्न र कोरोना नियन्त्रणका लागी स्थापना गरिएका क्वारेन्टाईनको व्यवश्थापन, भारतबाट आएका मानिसहरुको खोजी निगरानीमा व्यस्त हुदा सिमामा एक्लै जिम्मेवारी पाएको सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरु तस्कर सँग मिलोमतो गरि पैसा कमाउने तर्फ लाग्दा अवैध मालसामानको ओसार पसार र कोरोना सक्रमणको त्रास बढदै गएको छ ।

भारतबाट नेपालमा प्रतिबन्धीत डाइलेक्स, नाइट्राभेट ट्याब्लेट, स्पास्मो प्रोक्सिभन र नाइट्रोसन ट्याब्लेट,रेफलिन, ओनरेक्स, कोरेक्स लगायत नामका लागुऔषध कारोवारीहरुले ओसारपसार गरि वेचबिखन गर्ने गिरोह समेत लकडाउन सुरु भएपछि बढदै गएको सिमाक्षेत्रका स्थानियहरुले बताएका छन । सिमाक्षेत्र र भारतको बजारमा लागुऔषधको कारोवार गर्ने नयाँ नयाँ अनुहारका मानिसहरु दैनिक जसो लुकीछिपी रुपमा आवतजावत गर्ने क्रम बढेकाले सुनसरीमा लकडाउनको समयमा अन्य माल सामान जस्तै लागुऔषधको ओसारपसार र कारोवार बढेको सिमाक्षेत्रका स्थानिय बताउछन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार