अनकन्टार घना जङ्गलमा पुगेपछि स्यालले आफू राजा भएको घोषणा गर्यो । ‘यो जङ्गलको सबैभन्दा बलियो जनावर मै हुँ, यदि मभन्’दा बलियो कोही छ भने मसँग युद्ध गर्न आऊ !’ स्यालले गर्जना गर्दै आह्वान गर्यो ।
तर जङ्गलबाट कोही निस्केन । जङ्गल सुनसान थियो । स्यालको आवाज उसकै कानमा फर्केको थियो । स्याल केही बेर पर्खिरह्यो तर कोही आएन । ऊ बिहानदेखि भोको पनि थियो । त्यसैले भोक मेट्न छेवैका रूखमा फलेका सुन्तला टोक्न लाग्यो । तर सुन्तला टोक्नासाथ त्यसबाट रसको सट्टा सुक्खा, खस्रो र खर्याक्खर्याक आवाज मात्र आयो ।
उसले बिग्रेको सुन्तला भन्ठानेर त्यो फाल्दै अर्को टिप्यो । त्यो पनि त्यस्तै । सुन्तलाको बोट उस्तो भन्ठानेर नजिकैको केराका घारीमा पसेर पाकेको केराको घरीमा ऊ झम्ट्यो । तर केराको स्वाद पनि अगिको सुन्तलाजस्तै । त्यसपछि उसको भोक हरायो र ऊ डराएर त्यस जङ्गलबाट सुइँकुच्चा ठोक्यो ।