प्रतिकात्मक तस्वीर

  रासस –  झापामा समुदायबाट संकलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पीसीआर मशिन खरिद गरिएको छ ।प्रयोगशालाका उपकरण मंगलवार आइपुगेपछि जडान शुरू गरिएको छ ।

कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरू गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा संकलन गरेर यन्त्र खरिद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण मंगलवार आइपुगेको जानकारी दिए ।

मुलुकमै समुदायबाट चन्दा संकलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पीसीआर ल्याब हो । यसका लागि १ करोड २० लाख रुपैयाँ जति चन्दा संकलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तर्राष्ट्रिय झापाली समाज एक्लैले २५ लाख रुपैयाँ योगदान गरेको छ । ‘सम्पूर्ण उपकरण आइपुगेको छ,’ एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने, ‘आशा छ, अबको ५ दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरू हुनेछ ।’

अभियानले पीसीआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताए । प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नम्बर १ सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रदेश नम्बर १ मै झापामा कोडिभ–१९ का संक्रमित ज्यादा भए तापनि संक्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो ।

अभियानका सदस्य सजेश शिवाकोटीले कोटेसन प्रक्रियाबाट काठमाडौंको जयश्री श्याम कम्पनीबाट पीसीआर ल्याबका उपकरण आयात खरिद गरिएको बताए । उपकरणमा ८५ लाख रुपैयाँ खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ ।

पीसीआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उनले बताए । उपकरण जडानका लागि काठमाडौंबाटै इन्जिनीयर आएका छन् । कोरोना महामारीसँग लड्न निजी क्षेत्रले पीसीआर ल्याब स्थापना नै गरेकामा झापा जिल्लावासी हर्षित भएका छन् । जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका वासिन्दा समेत लाभान्वित हुने सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाको भनाइ छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार