कमला भट्टराई भद्रपुर। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७९ हजार ७ सयभन्दा धेरै संक्रमित थपिएका छन् भने ७ हजार ११३ जनाको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो ।
यसअघि जुलाई १६ अर्थात् साउन १ गते २ लाख ४९ हजार ६ सय ६८ जना संक्रमित थपिएका थिए । उक्त रेकर्ड तोड्दै यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट दैनिक ४, ५ हजारले ज्यान गुमाउने गरेकोमा पछिल्लो २४ घण्टाम ७ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।
यो पछिल्लो तीन महिनायताकै सबैभन्दा धेरै संख्या हो । यसअघि अप्रिल २१ मा ७ हजार २ सय ३६ जनाको मृत्यु भएको थियो भने अप्रिल १७ मा अहिलेसम्मकै सबैभन्दा बढी ८ हजार ४ सय ९१ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ९ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ६५ हजार ३ सय ३९ जना संक्रमित थपिँदा १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।
भारतमा ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि हुँदा १ हजार १ सय २० जनाको मृत्यु भएको छ। यस्तै दक्षिण अफ्रिकामा १३ हजार १ सय ५०, कोलम्बियमा ७ हजार ३ सय ९०, मेक्सिकोमा ६ हजार ८ सय ५९, अर्जेन्टिनामा ५ हजार ७ सय ८२, पेरुमा ४ हजार ४ सय ६३ मा संक्रमण पुष्टि भएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या भने ढेड करोड नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार १ करोड ५० लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख २० हजार २ सय ५७ जनाको मृत्यु भएको छ ।