हामी आज ५४औँ राष्ट्रिय रक्त सञ्चार दिवसको संघारमा छौँ। कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रूप लिएका वेला पनि यस क्षेत्रमा गर्नुपर्ने, पुर्याउनुपर्ने सेवा र योगदानमा हामी स्वयंसेवी रक्तदाताहरूले कमी आउन दिएका छैनौँ । यो आफैँमा एउटा गौरवान्वित तथ्य हुन गएको छ ।
राष्ट्रिय रक्त सञ्चार दिवस भन्नासाथ विगतमा भए–गरेका कार्यहरूको प्रभावकारी समीक्षा हुन वा गर्न जरुरी छ । बर्सेनि आउने यस्ता दिवसले सम्बन्धित निकायलाई कमी–कमजोरीहरू सच्याउँदै समयसापेक्ष गुणस्तरीय सेवा प्रदान गर्न उत्साह दिन्छ । यस्तो उत्साह सिर्जना गर्ने वातावरणको विकास पनि जरुरी छ । रक्त सञ्चार सेवाको क्षेत्रमा नयाँ–नयाँ आयामहरू पस्कन सक्नुपर्दछ । यसले परिपक्वता ल्याउँछ ।
स्वयंसेवी रक्तदाताहरू किमार्थ आफ्नो रगत बिक्री गरिरहेको टुलुटुलु हेरेर बस्ने छैनन् ।
विषयवस्तुको बोधलाई सार्थक तुल्याउने उद्गम अवस्थालाई बुझ्न जरुरी हुन्छ । रक्त सञ्चार सेवाको सात दशक पुरानो इतिहास छ । सात दशक पुरानो इतिहासलाई आज हामी ५४औँ वर्षको भनेर स्मरण गर्दै छौँ । यस क्षेत्रमा सुरुदेखि भएका कामको लेखाजोखा किन गरिन्न रु सरकार वा सम्बन्धित निकायहरूले कहीँ कतै उल्लेख गर्ला, स्मरण गर्ला भन्दाभन्दै अहिलेसम्म भएको छैन् ।
यसरी इतिहासलाई तिलाञ्जली दिने कार्य गर्नुहुँदैन र पाइँदैन । यसको इतिहासलाई लिपिबद्ध गर्न जरुरी छ । आजको दिन नेपाल सरकारको ध्यान यसतर्फ गम्भीरतापूर्वक केन्द्रित हुन आवश्यक छ ।
विक्रम सम्वत् २००० सालदेखिको इतिहास पढ्दै आइरहेका छौँ । तर, हामीले राष्ट्रिय रक्त सञ्चार दिवस भनी ०२३ साल साउन १२ गतेलाई मात्र उल्लेख गर्दै आएका छौँ । जसको कारण आज मात्र ५४औँ राष्ट्रिय रक्त सञ्चार दिवस भनी मनाउन बाध्य अनि विवश बनाइदिएको छ । अनि प्रश्न गर्न र उल्लेख गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना बनाइदिएको छ । हाम्रा इतिहास झुट हुन् त ?
वीर अस्पतालको प्याथोलोजी विभागबाट सुरु भएको रक्त सञ्चार सेवा आज देशको ७३ जिल्लाको एक सय १६ स्थानबाट सञ्चालनमा छ । सेवा प्रदान गरिँदै आइरहेको छ । सेवा प्रदान गर्ने थलो र स्थानको विस्तार सँगसँगै त्यसलाई सार्थक सेवा प्रदायक गन्तव्य बनाउन सक्नुपर्छ ।
रक्त सञ्चारको क्षेत्रमा आवश्यक प्रविधिहरू समयानुसार क्रमशः आविष्कार हुँदै गइरहेका छन् । यस क्षेत्रमा भए गरिएका उपलब्धिहरूको अस्तित्वबोध गराउन नभइनहुने तत्व भनेको मानव रगत नै हो । जब रगत छ, तब मात्र यस्ता आविष्कार र उपलब्धिहरूले सार्थकता पाउन सक्छन् । रगतको मूल स्रोत भनेकै केवल स्वयंसेवी रक्तदाताहरू मात्र हुन् । जसको विकल्प छैन ।
मानव रगत न कारखानामा बन्न सक्छ न खोलानालामा बग्छ । मानव कम्पनीका दुईवटा ब्रान्ड नर र नारीबाट मात्र यो उत्पादन हुने गर्दछ । त्यसमा पनि केवल १८ वर्ष पुगेका, ४५ किलोग्राम शारीरिक तौल भएका, कुनै पनि औषधि प्रयोग नगरिएका, लागुपदार्थबाट टाढा रहेका स्वस्थ्य व्यक्तिहरूले मात्र रक्तदान गरी उपलब्ध गराउन सक्छन् ।
विश्व स्वास्थ्य संगठनले संसारभर स्वैच्छिक अवैतनिक स्वयंसेवी रक्तदाताहरूबाट मात्र रक्तदान गराई सन् २०२० सम्ममा सम्पूर्ण रगत स्वैच्छिक अवैतनिक रक्तदानमार्फत संकलन गरी आपूर्ति सुनिश्चित गर्ने लक्ष्य लिएको छ । कोभिड–१९ ले यो लक्ष्य प्राप्तिमा केही हदसम्म बाधा पुर्याएको छ । फेरि पनि यो लक्ष्य हासिल गर्न जुट्नुको विकल्प छैन ।
स्वयंसेवी रक्तदाताले दानस्वरूप उपलब्ध गराएको रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरू आवश्यकताअनुसार पीडित पक्षहरूलाई निःशुल्क वितरण गर्नुपर्ने नीति राज्यले लिएको छ । तर, सरकारकै नीतिलाई लत्याउँदै, उपहास हुनेगरी नेपाल रेडक्रस सोसाइटीले आफ्नोमातहतका केन्द्रीय रक्त सञ्चार सेवादेखि जिल्ला शाखा तथा उपशाखालगायतलाई मनोमानी ढंगले स्वयंसेवी रक्तदाताको रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको खुलेआम रसिद काटेर बिक्री–वितरण गरिरहेको वर्तमान अवस्था छ ।
राज्यले ल्याएको ०७१ सालको राष्ट्रिय रक्त सञ्चार नीतिले त झनै लगामविनाको घोडाझैँ मनमानी ढंगले स्वयंसेवी रक्तदाताको रगतमाथि लुट मच्चाउन थालेका छन् ।बजारभाउ नै निर्धारण गरेझैँ पोखरामा सात सयदेखि एक हजारसम्म, तनहुँमा आठ सय ५, लमजुङमा एक हजार, बाँकेमा एक हजार, धादिङमा पाँच सय, बनेपामा सात सय, पाल्पामा सात सय ५० देखि दुई हजारसम्म, कपिलवस्तुमा आठ सय, ललितपुरमा पाँच सय ७०, काठमाडौं केन्द्रीय रक्त सञ्चार सेवामा चार सय ९५ देखि ६ सय ७५ सम्म, भक्तपुरमा पाँच सय पाँच सय आठदेखि आठ सय ४० सम्म, चितवनमा आठ सय ५०, मकवानपुरमा आठ सय ५०, मोरङमा आठ सय १०, गुल्मीमा १५ सय, जनकपुरमा पाँच सयदेखि नौ सय ५० सम्म, दमकमा नौ सय ५०, बिर्तामोडमा नौ सय ५०, दोलखामा पाँच सय (नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा ज्येष्ठ नागरिक र विपन्नलाई निःशुल्क) दाङमा सात सय ५०, प्युठानमा आठ सय, रूपन्देहीमा सात सय २५ देखि आठ सय २५, गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ६ सयदेखि सात सयसम्म, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सात सय ५० देखि नौ सय २५ सम्म, मनमोहन मेमोरियल शिक्षण अस्पतालमा सात सय ५०, पाटन अस्पतालमा ६ सय, नोबेल अस्पताल प्रालिमा पाँच सय ३० देखि ६ सयसम्म, परोपकार प्रसूतिगृहमा चार सय ३५ देखि पाँच सय ५५ सम्म, धरानमा सात सय ७० देखि आठ सय ८० सम्म, पर्वतमा ११ सय ५०, वीर अस्पतालमा पाँच सय ५० देखि सात सयसम्म लिएर व्यापार गरिरहेका छन् ।
यसैगरी काठमाडौंका आइएसओ मान्यता प्राप्त भनिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा एक हजारदेखि दुई हजारसम्म, मेडिसिटी अस्पतालमा दुई हजार, अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा १७ सय ५० देखि २५ सय ७० सम्म, हिमाल रक्त सञ्चार सेवामा सात सयदेखि एक हजारसम्म असुलेर पीडित पक्षबाट मनग्य आर्थिक लाभ लिइरहेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको सक्रियतामा म्यादी जिल्लामा पूर्णतः रगत निःशुल्क वितरण भइरहेको छ । त्यसैगरी टीकापुर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाहरूले पनि निःशुल्क रगत वितरण गर्दै आएका छन् । आगामी वर्षदेखि देवदह नगरपालिकाले पनि निःशुल्क रगत उपलब्ध गराउन कार्यनीति बनाउँदै छ ।
नेपाल सरकारबाट आजकै मितिदेखि आफूले तय गरेको नीति–निर्देशिकालाई उचित कार्यान्वयन गर्नतर्फ अग्रसर हुन ढिलाइ गर्नुभएन । स्वयंसेवी रक्तदाताहरू किमार्थ आफ्नो रगत बिक्री गरिरहेको टुलुटुलु हेरेर बस्ने छैनन् । भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनाबाट सजग हुन जरुरी छ । रगत दानलाई जीवन दान भनेर स्वयंसेवी रक्तदाताहरूले निःशुल्क प्रदान गरेको रगतको उच्च मूल्यांकन भनेकै आवश्यक परेकालाई निःशुल्क रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू उपलब्ध गराउनु हो ।
५४औँ राष्ट्रिय रक्त सञ्चार दिवसले सरकारलगायत सबैमा समर्पणभाव जगाउन सफल हुन सकोस् । तब मात्र ५४औँ राष्ट्रिय रक्त सञ्चार सेवा दिवसले सार्थकता पाउनेछ । नयाँपत्रीकाबाट
लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्