देवेन्द्रकिशोर ढुंगाना । आफै प्रदेश १ मा कोरोना समुदाय स्तरमा फैलिसकेको सार्वजनिक अभिब्यक्ति दिएका मुख्यमन्त्री शेरधन राई आफै लामो समयदेखि काठमाडौमा रहँदा प्रदेशमा कोरोना नियन्त्रण र ब्यवस्थापनको कार्य प्रभावित बन्न पुगेको छ ।
प्रदेश १ मा अहिले कोभिड अस्पतालको बेड भरिदा संक्रमितहरु जोखिमपूर्ण रुपमा घरमै बस्नु पर्ने बाध्यात्मक स्थिति उत्पन्न भईसक्दा मुख्यमन्त्री नहुँदा नयाँ योजना र ब्यवस्थापनमा समस्या देखिएको हो । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले मुख्यमन्त्रीकै नेतृत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र कोभिड १९ निर्देशक समिति’ बनाएको छ ।
तर मुख्यमन्त्री लामो समयदेखि प्रदेशमा नहुँदा ति समितिबाट अघि बढाउनु पर्ने काम, योजना र रणनीतिहरु अलमलमा परेका छन मुख्यमन्त्री राई बिगत ११ दिनदेखि सरकारले काठमाडौमा मुख्यमन्त्रीहरुलाई उपलब्ध गराएको अपार्टमेन्टमा रहेर पार्टीको आन्तरिक विवाद र केपी ओली सरकारको औचित्य पुष्टि गर्नमा ब्यस्त देखिएका छन । यस सम्बन्धी उनका अभिब्यक्तिहरु यूट्युब च्यानलहरुमा आईरहेका छन प्रदेश १ मा समुदाय स्तरमा फैलिएको भनिएको कोरोनाको संक्रमण नियन्त्रणका लागि चाल्ने आवश्यक कदमका लागि दुईवटा समितिबाट निर्णय हुनुपर्छ । तर, मुख्यमन्त्री राई काठमाडौंमा बस्दा प्रदेशमा कोरोना नियन्त्रणको काम प्रभावित बन्न पुगेको हो ।
संक्रमण नियन्त्रणको सबै अभियान नेतृत्व मुख्यमन्त्रीमा केन्द्रित भएका कारण प्रदेशमा योजनाको काम प्रभावित बनेको हो । आइसोलेसन बेड अभावमा कोरोना संक्रमितहरु घरमै बस्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङले कोरोना संक्रमण पुष्टि भएर पनि प्रदेशमा ४० जना भन्दा बढी घर तथा विभिन्न क्वारेन्टिनमा छन् । उनले आइसोसन बेड अभावमा संक्रमितको व्यवस्थापन गर्न कठिन भएको बताए । विराटनगरमा मात्र १६ जना संक्रमितहरु घरमै बसिरहेका छन् । सुनसरी सदरमुकाम इनरुवामा १ जना घरमै बसिरहेका छन । सोमबार रंगेलीमा संक्रमण पुष्टि भएका २२ मध्ये १३ जना क्वारेन्टिइनमै बसिरहेका छन् ।
प्रदेश १ सरकारले संक्रमित बढ्दै गएका कारण कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र रहेको भवनको पछाडिको गोदाममा दुई सय सैया आइसोलेसन बेड थप्ने निर्णय गरेको थियो । तर, मुख्यमन्त्री विराटनगरमा नहुँदा काम अघि बढ्न सकेको छैन । संक्रमण तेस्रो चरणमा प्रवेश गरे पनि नियन्त्रण कसरी गर्ने प्रदेश सरकार अलमलमा छ । मुख्यमन्त्री राई विराटनगरमा नहुँदा कोरोना नियन्त्रणको स्पष्ट मार्गचित्र बनाउन नसकिएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वीकारोक्ति छ । ‘
अहिलेको अवस्था नियन्त्रण गर्न औपचारिक मार्गचित्र नै तयार गरेका छैनौं । हामी परामर्शमा छौं,’ घिमिरेले भने ‘मुख्यमन्त्रीज्यू काठमाडौंमा हुनुहुन्छ, उहाँ आएपछि औपचारिक निर्णय गरेर सरकारको धारण र कार्य योजना सार्वजनिक गर्ने योजना छ ।’ मुख्यमन्त्री शेरधन राईसँगै आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ पनि काठमाडौंमै छन् । दुई साता लामो काठमाडौं बसाइपछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की भने शुक्रबार बिराटनगर फर्किएका छन् ।