ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा

स्वागत छ कमरेडहरु ! आउनुस !!कमरेड शितलले मुड्की उचाल्दै सबै महिला कमरेडको स्वागत गर्नु भो ! बैठक कोठामा आशनग्रहण भो सबैको !!
– बस्दै गर्नुस है ! म किचन चेक गरेर आउँछु है ! कमरेड शितल भान्सा तिर लाग्नु भो !
– वाईफाई छैन ? पासवर्ड दिनुस न ! यसो टाईमपास ….
– छ नि ! किन नहुनु ? उ …. भित्तामा हेर्नुस न !!

सबैको नजर भित्तामा गयो ! लेखिएको थियो – ukhaan 100 . कोहि पासवर्ड हालेर मोबाईलमा घोप्टिनु भो ! कोहि तासको गड्डी फिट्न तिर लाग्नु भो ! कोहि एक अर्कामा टाउको जोडेर ‘ साउती क्रान्ति ‘ मा ब्यस्त हुनु भो !!
– सरि है ! खाना रेडि हुँदैछ ! खाना अघि हल्का कोल्डड्रीङ्क्स लिउँ है ?
– हल्का किन ? तहल्का ड्रीङ्क्स नै लिउँ न ! ब्यबस्था छैन र ? कमरेड शितलको आग्रहमा अर्कि कमरेडले चुट्की लिनु भो ! गलल्ल सामुहिक क्रान्तिकारी हाँसो गुन्जियो !
– के छ बाहिरको हाल खवर ? आफू त भित्र को भित्रै !! कमरेड शितलले जिज्ञासा राख्नु भो !
– के हुनु र ? खत्तम पारो नि कोरोनाले ! मरिन्छ जस्तो भैसको !!!
– लौ ! अझै गको छैन कोरोना ? के गर्‍यो त्यसले ?

– के को जानू ? पहिले त एक्लै आकोथ्यो ! अहिले त शाखा सन्तान सहित थर्पु कसेर बस्या छ ! जाने कुरो त परै जाओस हामी सबैलाई लान्छ जस्तो पो छ ! कमरेड स्वास्थले थप बताउनु भो – हाम्रो वाँ लाई कस्तो भ्याई नभ्याई छ ! कति दिन भो घरै आईस्या छैन ! कोरोना रोक्न कुद्या कुदयै एक्लै !! अब त झन जनताको मति सुधार्ने जिम्मा पनि वाँ लाई नै देको छ सरकारले !! बिचरालाई झन टेन्सन !!

– लौ ! तुरुन्तै फर्किनु भनेर मैले तिलरी बेचेर खर्च पठाईदेको उहिल्यै !! अझैसम्म अटेर गरेर बसिराख्या रैछ ? अब एउटा बक्तब्य निकालेर ठेगान लाउँछु त्यस्लाई !! कमरेड शितल आक्रोशित हुनु भो !
– हो त ! खत्तम पारो नि त्यो मोरो कोरोना हो कि सोरोनाले ! हाम्रो वाँ पनि भर्खर मन्त्री होईसेकोथ्यो ! मलाई संसारै घुमाउछु भन्दै होईसिन्थ्यो ! बार बर्षमा पोइ आको मलाई ज्वरो आको भने जस्तो पो भो ! अस्ट्रेलिया पुगेको मात्रै – डढेलो सल्की गो !! कमरेड पर्यटनले दुखेसो पोख्नु भो – बिदेश बाट जन्ता ल्यार अलेली जोहो गर्न खोज्दै होईसिन्थ्यो मोरा पत्रकारले पोल खोल्दिहाले !! तर बाठो होईसिन्छ केही न केही उपाय त निकालिसिन्छ होला नि ! पत्रकार कराउदै गर्छन उखान अन्कल हुन्जेल no tension .

– त्यै त ! मेरो बुढोले पनि अस्ति चेपाङ्ग पोलेको ! कत्ती न महल नै लडाए झै कोकोहोलो मच्चाए ! असत्ती मोराहरु कोरोनाले लगे नि हुने !!! कमरेड बनले पनि आक्रोश पोख्नु भो !!

– हो त ! दुष्टहरु कम्ताका छन ? मेरो बुढोको पनि छदाखादाको रेडियाको जागिर नै खुस्काईदे ! सत्तरी करोडको बात लाईदेर !! सुरुबुरु घर चल्दैथ्यो अहिले बिजोग छ !! बालकोटको चौकिदारिमै चित्त बुझाउनु पर्या छ अहिले !! गाउँ तिर त अहिले वाँ लाई हाब्रे भनेर जिस्काउछन रे अचेल ! हाब्रो च्यातेर खुस्केको भनेर !! कमरेड हाब्रेको रोदन !!!

– होस पुर्याउनु पर्छ नि त लाटी ! हाम्रो वाँ पनि त लाटै हो नि तर मेरो बुद्धिले गर्दा सधैं जोगिसिन्छ !! पानी टंकी भित्र पैसा लुकाउने जुक्ति मेरै त हो नि ! कसैले भेटेनन !! अहिले बन्दुक किन्दा कमाउने आईडिया दिने पनि मै त हो नि ! हाम्रो वाँ त मेरै बुद्धिले चलिसिन्छ ! स्वास्निको बुद्धिले चल्ने लोग्नेको त प्रगति नै प्रगति !!! यसपाली तिजमा सुनको बन्दुक दिने भनिस्या छ मलाई ! तर आर्मिले अलि गुल्चे गर्ला जस्तो छ ! कमरेड रक्षाले आफ्नो बठ्याईको बिस्कुन फिंजाउनु भो !!
– मेरो पनि त त्यस्तै हो नि ! लोग्ने सबैका लाटै हुन्छन ! कोरोनाको बहानामा कसरी कमाउने भन्ने सवै मैले नै सिकाको ! मलाई पनि तिजमा सुनको कीट दिने भनिस्या छ ! कमरेड स्वास्थ पनि के कम ? रक्षा कमरेडको बास्सामा रंगको एक्का हान्दिनु भो !!!

– मैले पनि किसान लाई मलमा अल्मल्याएर भए पनि अलेली जोहो गर्नु भन्याछु ! खै के हुने हो ? कमरेड कृषिले पनि गफ थप्नु भो तर आफैं बिस्वस्त हुनु हुन्थेन !!
– मैले चै बाठो भेटेको हो लोग्ने चै ! जे भए नि झापाली पो त ! बिस्तारै बोलिसिन्छ थाहै नपाई सिध्याईदिन्छ !! मुलुककै अर्थतन्त्र हेर्नुस न ! एक त झापाली त्यसमाथि कुमाईको संगत !!! झापा तिर त अचेल व्वाँसो भन्छन रे वाँ लाई !! भन्दै गरुन आफुलाई ठिकै छन अरुको के मतलब ? कमरेड अर्थले झापाली गफ हाक्नु भो !!!भुजा रेडि हजुर ! अर्दलीले जाहेर गर्‍यो !!
– भुइँमै बसौं है ! तलै बसेर खाँदा रमाइलो हुन्छ ! पहिले पनि भुइँमै त बसिन्थ्यो नि हैन ?सबैको मत मिल्यो ! सबैले कार्पेटमा आसन जमाउनु भो !

– कार्पेट त दामी हाल्नु भएछ नि ! कति पर्‍यो ? कुनै कमरेडले जिज्ञासा राख्नु भो !
– खै ! सरकारले हाल्देको कति पर्‍यो थाहा भएन ! युट्युवे हरु चै करोडौंको भनेर चिच्याउछन रे माईतिघर मण्डला तिर ! मैले सरकारलाई तिलरी देको थे नि त कोरोना खेद्न ! त्यै त्यागको बदलामा पर्धानमन्त्रीले सरकारलाई भनेर पठाईदिसेको ! पर्धानमन्त्रीले मलाई आफ्नै बैनी जस्तै माया गरिसिन्छ नि ! म पनि उहाँलाई आफ्नै दाजु नै मान्छु !! तर मोरा पत्रकार ……… डाको छोडेर रुन थाल्नु भो शितल कमरेड !!

– लौ ! यसरी रुन हुन्छ त ? शोकलाई शक्तिमा पो बदल्नु पर्छ त ! नरुनुस प्लिज !! मोरा पत्रकारको काम हल्ला गर्ने हो गर्दै गरून् ! आफ्नो सुर छोड्नु हुन्न !! बसौं अब खानपिन सुरु गरौं !!! कमरेड शान्तिले माहोल शान्त पार्ने प्रयत्न गर्नु भो !!
आँसु पुछ्दै कमरेड उठ्नु भो ! झ्यालको पर्दा तान्दै बोल्नु भो – खाको फोटो खिचेर अर्को बबाल मच्चाउछ्न फेरि ! अस्ति एउटा मुर्कुटो पत्रकारले सागबारिमा म्याक्सी लाएर खिचेको फोटो हाल्देर कत्रो खिल्ली उडाको ? बरु कोरोनाको डर छैन यी मोरा सग चै जोगिनु पर्छ !! लौ अब कार्यक्रम सुरु गरौं !

आयोजक कमरेडले अगाडि थप्नु भो – यो कोरोना महामारिका कारण जनता उपचार नपाएर मरे पनि ! खान नपाएर मरे पनि उनिहरुको जनप्रतिनिधि भएका कारणले हामिले खाईदिनै पर्या छ ! बाँचिदिनै पर्या छ !! जबर्जस्ति खुसी भैदिनु पर्या छ !! यो हाम्रो रहर नभएर बाध्यता हो !!! हामिले चाड्वाड मनाएको , खाएको , खुसी मनाएको जनताकै लागि हो ! त्यसो हुनाले जनताको नाममा खानु अघि ती निरीह जनताका नाममा एक मिनेट मौन धारण गरेर उनिहरु प्रतिको कर्तव्य पूरा गरौं !! मौन धारण भो !! ताली बजाईयो ! आवाज बुलुन्द भो – हेप्पी तिज !!भोजन बिच एक कमरेडले आयोजको तारिफ सुरु गर्नु भो – मान्छे उच्च पदमा पुगेपछी चेन्ज हुन्छ्न , बिलासी हुन्छ्न , भ्रष्ट हुन्छ्न , घमण्डि हुन्छ्न भन्ने हल्ला लाई शितल कमरेडले गलत साबित गर्दिनु भो ! कति सरल ! कति सालिन ! कति सादा जीवन !! कति सामान्य खानपिन तपाईंको !! यत्रो सर्बोच्च पदमा पुगेर पनि कुनै परिवर्तन छैन !! पार्टीले तपाईं प्रती गर्व गर्नुपर्छ !!

– लौ ! मेरो पद पो सर्बोच्च हो त ! बानी बेहोरा रहन सहन र व्यबहारले त म ‘ सर्बुच्च ‘ नै छु नि !! पार्टी भन्दा बाहिर कहिल्यै गको देख्नु भको छ ? देख्नु भएन ? मुलुकको खान्की खाए पनि पार्टीको झगडा मिलाउन कसरी लागि पर्या छु ? पहिले पार्टी अनि मात्र देश अनि मात्र जनता !! पहिले पनि भुइँमै थिएँ अहिले पनि भुइँमै छु ! पार्टीमै छु !! माहोल भावुक बन्यो !! सबैले टाउको हल्लाएर सहमति जनाउनु भो !!!

ल ! यसपालिको तिज यस्तै भो ! रुख्खा सुख्खा !! चौरासी ब्यन्जन नै पुर्याउने धोको थियोे ! दुई चार आईटम कम भएकोमा क्षमाप्रार्थी छु ! अर्को तिजमा त्यो लक्ष्य पूरा होस भन्ने कामना गर्दछु !! कोरोना त्रास बिच पनि मेरो निम्तो स्विकारेर बहादुरीपुर्वक भेला भैदिनु भएकोमा सबैलाई क्रान्तिकारी अभिबादन !! मुड्की उचालेर कमरेड शितल चिच्याउनु भो – हेप्पी तिज ! सबैले आवाज बुलुन्द गर्नु भो – हेप्पी तिज !!!ढोका बाहिर निस्केपछि सबैलाई गोलबद्ध गरेर साउती स्वरमा फुस्फुसाउनु भो – मोरा पत्रकारले थाहा पाए भने बबाल गर्छन ! आजको भेला , खानपिन , रमाइलो सबै आफ द रेकर्ड है !!!

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार