दिनेश कार्की गाईघाट । इनरुवा ६ मधेशामा रहेका आधा दर्जन प्लाईउडको कच्चापदार्थ उत्पादन गर्ने भेनियर उद्योगहरुमा दुई सातादेखि ४ सय बढी भारतीय मजदुर ल्याएर उद्योग सञ्चालन गरिरहेको फेला परेको छ । भारतमा कोभिड १९ कोरोना भाईरसको संक्रमण फैलिरहेको अवश्थामा सिल गरिएको सिमानाकाबाट लुकिछिपी नेपाल आएका मजदुरहरु क्वारेन्टिनमा नबसी काम गर्न थालेका हुन ।
इनरुवा ६ हलेसी चौक आसपासमा रहेका शिखर भेनियर उद्योग, रामजानकी भेनियर उद्योग, स्वस्तिक भेनियर उद्योग, राठी भेनियर उद्योग लगायतमा दुई सातादेखि आएका भारतीय मजदुरलाई काममा लगाईएको हो । उद्योग सञ्चालकहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा नगरी लुकिछिपी आएका मजदुरले माक्स नलगाउने, सावुन पानीले हात नधुने, सामाजिक दुरी कायम नगर्ने, जथभावी हिड्डुल गर्ने लगायतका दैनिकीले मधेशा घोपाली टोल र हलेसी चौक आसपासका स्थानीयहरु त्रसित बनेका छन ।
इनरुवा ६ मधेशाका चन्देश्वर चौधरीले भने, ‘भेनियर उद्योग रहेको क्षेत्र आसपासमा बसोवास गर्ने स्थानीय र उद्योगमा कार्यरत रहेका मजदुरहरु बिचमा प्रत्यक्ष रुपमा दैनिक आमने सामने भेटघाट हुने भएकाले संक्रमणको जोखिम बढ्ने सम्भावना देखियो ।’ उनीहरु भारतबाट आएको कारण स्थानीयहरुमा सक्रमण फैलिन थालेको भन्दै प्रशासनले भारतीय मजदुरहरुको पीसीआर परिक्षण गरी संक्रमित भए नभएको यकिन गरेर मात्र काममा लगाउन स्थानीयले माग गरेका छन ।
इनरुवा ६ मधेशाका विदुरमणी बरालले शिखर भेनियरमा २० जना, राठी भेनियरमा १ सय ५० जना, रामजानकी भेनियरमा २५ जना, स्वस्तिक भेनियरमा १ सय ५० जना र घोपाली टोल नजिकको एभरेष्ट भेनियरमा ४ सय बढी मजदुर कार्यरत रहेकाले मधेशाका स्थानीयहरु कोरोना फैलिने त्रासमा रहेको बताए । बराल भन्छन्,‘भारतिय मजदुररु बिहान दिउसो चिया नास्त पसलमा साँझ विभिन्न पसलमा गएर खानपिन गर्ने, स्थानीयहरु सँग घुलमिल, उठ्बस हुने भएकाले लुकिछिपी भारतबाट कोरोना परिक्षण नगरी काममा आएका कोरोना फैलिने जोखिम बढ्दो रहेकाले भोली पछुताउनु भन्दा समयमा नियन्त्रणका लागि आवश्यक कदम चाल्न प्रशासनले ध्यान दिनु उचित हुनेछ ।
’ मधेशाका राजिव दुलालले भारतमा दैनिक संक्रमितहरुको संख्या बढ्ने र मृत्यु दरसमेत उच्च रहेकाले लुकिछिपी नेपाल आएका मजदुरहरुलाई क्वारेन्टिनमा राखी पीसीआर परिक्षण गरेर मात्र काममा लगाएको भए स्थानीयहरुमा त्रासको स्थिति उत्पन्न नहुने भएकाले प्रशासनले त्यसतर्फ समयमा ध्यान दिनुपर्ने बताए ।
राठी भेनियरका प्रदिप राठीले आफ्नो उद्योगमा लकडाउन अघि भारतीय कामदार रहेपनि त्यसयता भारतीय कामदार नरहेको दावी गर्दै लकडाउन अघि घर नर्फिएका कोही बाँकी रहेको मात्रै हुन सक्ने बताए । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले भारतीय कामदारलाई ल्याएर भेनियर उद्योगहरुले काम लगाईरहेको जानकारी आफूले पनि पाएको भन्दै तत्काल आवश्यक प्रक्रिया सुरु गर्ने बताए ।
स्थानीयहरुका अनुसार भोक्राहामा निर्माणाधिन हेटौडा भोक्राहा प्रशारण लाईनमा काम गर्ने भारतीय कामदारहरु पनि केही दिनअघि मात्रै भारतबाट फर्किएर काममा जुटेको र उनीहरु इनरुवा ३ महेन्द्र चौक र बसचौक क्षेत्रमा डेरा लिएर बसिरहेका छन ।