देवेन्द्रकिशोर ढुंगाना झापा । सुनसरी र मोरङका बिभिन्न नाकाहरुको प्रयोग गरेर हतियार तथा लागूऔषध कारोबारी गर्ने गिरोहको नाइके पक्राउ परेका छन । लामो समयदेखि यस क्षेत्रको नाकाको प्रयोग गरेर हतियार र लागुऔषधको कारोवार गर्दै आएका बग्गा भनिने भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मस्ट वान्टेडको सूचीमा रहेका हतियार कारोबारी बग्गा भनिने प्रदीप यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ । भारत बिहार राज्य अररियाको ईन्द्रनगर ग्राम पञ्चायत–१० बस्ने ३९ वर्षिय बग्गा सुनसरी–मोरङमा हतियार र तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके हुन् । उनी प्रहरीको मस्ट वान्टेड सूचीमा थिए । उनलाई प्रहरीले शनिबार दिउँसो साढे ४ बजे विराटनगर–१६ दरैयाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले बग्गाको साथबाट लागूऔषध पनि बरामद गरेको छ । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बग्गासँग उनको एक समूह नै सुनसरी र मोरङ क्षेत्रमा हतियार र लागुऔषधको कारोवारमा सक्रिय रहेको थियो । उनीहरुले सुनसरीको पूर्वि नाका र मोरङको पश्चिमी नाकाबाट आफ्नो कारोवार सञ्चालन गर्दै आएको बताईएको छ । बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धा मोरङमा विचाराधीन छ ।

प्रहरीका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने प्रहरीको विश्वास छ । शनिबार मध्यान्न नेपाल प्रवेश गरेका यादवसँग प्रहरीको विराटनगर– १६ दरैयामा जम्काभेट भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् । घम्साघम्सी हुँदा बग्गाको शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाइ छ । पक्राउ गर्नेक्रममा भाग्न खोजेपछि सामान्य बल प्रयोग भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । बग्गाले २०७५ मंसिर ३ र ८ गते हतियारसहित पठाएका भरिया विराटनगरबाट पक्राउ परेका थिए ।

           त्यस्तै ३ मंसिरमा विराटनगर– १६ बाट उदयपुरको उदयपुरगढी गाउँपालिका– १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका– १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परे । ८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए ।

उनीहरुबाट प्रहरीले बग्गाको कारोवारको ठोस प्रमाण जुटाएको थियो । उनले पेस्तोल र लागूऔषध विराटनगर – १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएका थिए । विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर– एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।,

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार