कमला भट्टराई , झापा । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सिङ स्टाफहरुको समस्या समाधान गर्न ५ सदस्यीय समिति गठन भएको छ । बुधवार प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिसँग वार्ता भएपछि समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले भने ‘समस्या समाधान गर्न एक समिति गठन भएको छ, समितिले एक साताभित्र समाधानसहितको रिपोर्ट बुझाउनेछ, । प्रवक्ता डा. दिदेश सापकोटाका अनुसार समस्या समाधान गर्न अस्पताल निर्देशक डा.गौरीशंकर साह संयोजक रहेको एक समिति गठन गरिएको छ ।
समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेका छन् भने नर्सिङ स्टाफहरुकोतर्फबाट २ जना प्रतिनिधि रहनेछन् । उक्त समितिमा नर्सिङ स्टाफहरुकोतर्फबाट सफला बुढाथोकी र रमा बस्नेत प्रतिनिधिकोरुपमा रहने भएका छन् । नर्सिङ स्टाफहरु बिहान उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई ज्ञापन पत्र बुझाउन गएका थिए ।
ज्ञापन पत्र बुझाउने क्रममा नै नर्सिङ प्रतिनिधिहरुसँग मागको बिषयमा उपकुलपतिसहितका चारै पदाधिकारीहरुबीच छलफल भएको हो । वार्तामा आन्दोलनरत नर्सहरुको १३ जना प्रतिनिधिहरु सहभागी थिए । उपकुलपति कार्यालयमा वार्ता भइरहदा बाहिर भने नर्सहरुले धर्ना दिइरहेका थिए ।