देवेन्द्रकिशोर ढुंगाना – बिर्तामोड । कोरोना संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन र स्थानीय सरकारले लगाएको निषेधित क्षेत्र लगायतका कारण उत्पन्न आर्थिक संकटले बिपन्नहरुलाई बिहान–बेलुकाको हातमुख जोर्न धौधौ परिरहेको बेला सुनसरी जिल्लाका विभिन्न स्थानीय तहहरुमा फुड बैंक सञ्चालन गर्ने क्रम बढेको छ ।
न्यून आय भएका ज्याला मजदुरी गर्ने परिवारलाई जीवन जिउन नै निकै कठिन परेको महसुस गरेर स्थानीय युवाहरुको पहलमा यस्ता फुड बैंकहरु सञ्चालन गर्ने क्रम बढेको हो । यसै क्रममा महामारीको समयमा सुनसरीकोे दुहवीका केही युवाहरुले ‘फुड बैंक’ स्थापना गरेर अभियानलाई अगाडि बढाएका छन ।
दुहवी युवा समुहले विहिबारबाट ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानको सुरुवात गरेका हुन् । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्छन् भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जान्छन् । काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर दुहवीका युवाहरुले यस्तो अभियान सञ्चालन गरेका हो ।
यस अभियानका एक युवाले भने, सुरुमा १० जना साथीहरुले आफ्नै खर्चमा अभियान सुरु गरेका र अहिले सहयोगी हातहरु धेरै आइरहेका छन् । सुरुवात गर्दा यति प्रभावकारी होला भन्ने सोचिएको थिएन । अहिले त निकै प्रभावकारी भएको बताउँछन् । फुड बैंक दैनिक बिहान १०ः३० देखि १२ः३० बजे २ घण्टासम्म सञ्चालन हुन्छ । पहिलो दिन ५५ जनाले खाद्यान्न लगेको अभियान एक युवाले जानकारी दिए ।
हालसम्म उक्त अभियानमा फोनबाट थुप्रैले सहयोगको आश्वासन दिएको उनले जानकारी दिए । दुहवी जनआन्दोलन चौक अगाडि दाल, चामल, नुन, तेल, सोयाबिन लगायत खाद्यान्न राखिएको छ । निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारले सामग्री लगिरहेको, प्रतिपरिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाउँछन ।
दुहवीसँगै इटहरी उपमहानगरपालिका, रामधुनी र बराहक्षेत्र नगरपालिकाका युवाहरुले पनि यस्तै अभियान सञ्चालन गरिरहेका छन भने प्रेस युनियन सुनसरीले पनि बिपन्न पत्रकारहरुको लागि भन्दै फुड बैंकको अभियानलाई अगाडि बढाएको छ ।