(यो अवधारणा पत्र संक्षिप्त मात्र हो, यसको पूर्ण पाठ विधान, नियमावली र घोषणा पत्रमा हेर्न मिल्छ।)
१. के तपाईं जीवित रहेका सबै नेताको स्रोत नखुलेको सम्पत्ति जफत गरी राष्ट्रियकरण होस् भन्ने चाहनु हुन्छ ? यसो गर्दा त्यो रकमले झ्न्डै ४ वर्षको बजेट बन्ने रहेछ । त्यसमा त्यस्तै स्रोत नखुलेको सम्पत्ति नेताहरुको मात्र होइन, वकील, न्यायाधीस, कर्मचारी, व्यापारी, प्रशासक सबैको राष्ट्रियकरण गर्ने हो भने १० वर्षको बजेट तयार हुने रकम निस्कन्छ ।
२. के तपाईं सांसदहरु मन्त्रीप्रधानमन्त्री बन्न नपाउने व्यवस्था चाहनुहुन्छ ? यसो गर्दा सांसद बन्न खर्चिलो चुनाव हुन्न, सांसद खरिदबिक्रि हुन्न, अप्राकृतिक मूल्यबृद्धि हुन्न ।
३. के तपाईं सांसदको बहुमत होइन मतदाता जनताको ५१ प्रतिशत भोट पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था चाहनुहुन्छ ? यसो गर्दा विदेशीले सांसदलाई लगानी गरेर सरकार ढलाउने बनाउने कुरा सम्भव हुँदैन, विश्वास,अविश्वासको मतमा सांसदले विदेशीको इसारा पर्खनुपर्ने हुँदैन । जनताले सोझै सरकार बनाउँछन् ।
४. के तपाईं पार्टीले गुण्डा फटाहालाई चुनावमा उम्मेदवारको टिकट दिँदा जनताले उम्मेदवार बहिष्कार गर्न पाउने राइट टु रिजेक्ट चाहनुहुन्छ ? यसो गर्दा हामीले प्रतिनिधि छनौटमा सहभागिता पाउँछौ, अहिले प्रतिनिधि हामीले छानेको होइन, टिकट दिनेले छानेको र जनताले भोट हालिदिएको मात्रै हो, उम्मेदवार उठाएको होइन ।
५. के तपाईं चुनाव जितेर गएपछि गर्छु भनेको काम नगर्ने, असल काम नगर्ने वा गलत काम गर्नेलाई मैले दिएको भोट फिर्ता लिन्छु भनेर उनीहरुलाई फिर्ता बोलाउन पाउने राइट टु रिकल चाहनुहुन्छ ? यसो गर्दा जनप्रतिनिधि जिम्मेवार बन्छन् अहिले एक पटक जितेपछि महाभियोग पनि नलाग्ने मैमत्त पद सांसद हो ।
६. के तपाईं संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणाली अन्त्य गर्न चाहनुहुन्छ ? यसो गर्दा धनीबाट धेरै कर लिएर गरीबका लागि खर्च हुन्छ, अहिले डेमोक्र्या्टिक ट्याक्सेसन सिस्टम छैन।
७. के तपाईं सामावेसिताको नाममा ठालूहरु मात्र सांसद मन्त्री हुने व्यवस्था हटाउन चाहनुहुन्छ ? यसो गर्दा खसीबोका बेच्न राखेजस्तो समावेसी सांसद पद पार्टीहरुले डोनेसनमा बेच्न पाउँदैनन र उदाहरणकै रुपमा मधेसी महिलाको प्रतिनिधित्व राज्यलक्ष्मी गोल्छा, मधेसीको प्रतिनिधित्व विनोद चौधरी, काठमाण्डुका नेवार महिलाको प्रतिनिधित्व शंकर पोखरेल र ईश्वर पोखरेलका श्रीमतीले अनि जनजातिका महिलाको प्रतिनिधित्व वामदेव गौतमको श्रीमतीले गर्न पाउँदैनन् ।
८. के तपाईं नै काम नगर्नेहरु राजनीतिलाई मात्र पेशा बनाउनेहरु लगायत श्वेतग्रिवी अपराधीहरु झन् धनीधनी र गरीवहरु भने झन् गरीवगरीव हुँदै जाने व्यवस्था नष्ट गर्न चाहनुहुन्छ ?
९. के तपाईं कुनै काम नगर्ने आफू एक पैसा नकमाउने तर समाजमा सबैभन्दा महंगा घर, गाडी, अस्पतालहरुमा शेयर हुने नेताहरुको साँचो हैसियत पत्ता लगाउन र सधै मरीमरी काम गर्ने जनता चाहिँ विरामी हुँदा अस्पतालको सामान्य उपचार समेत गर्न नपाई मर्ने अवस्थाको कारण पनि सप्रमाण पत्ता लगाई तिनको पत्ता साफ् गर्न चाहनुहुन्छ ?
१०. के तपाईं आफ्नो पेट पाल्नकै लागि राजनीति गर्ने र राजनीति बाहेक कुनै पेशा व्यवसाय नगर्नेहरुले राजनीतिलाई पेशा बनाएका कारण उनीहरुले देश लुटेका हुन् र यस्तो कुनै आर्थिक उपार्जनको काम नगर्नेहरुले खानकै लागि राजनीति गरेका हुन् , त्यसैले त्यस्ता कुनै व्यवसायिक, प्राज्ञिक, कला, खेलकूद, अध्ययन अनुसन्धानको औपचारिक संलग्नता लगायत केही पनि आर्थिक उपार्जन गर्ने माध्यम नभएका, आफ्नो जीवनकाल भरि आफैले आफ्नो लागि एकछाक पनि एक पेट पनि खानेकुरा समेत नकमाउने, आफ्नो पेटसम्म आफै नपाल्नेहरुलाई राजनीतिबाट बिदा दिनुपर्छ अनि मात्र राजनीति ठीक हुन्छ भन्ने ठान्नुहुन्छ ?
११. के तपाईं सदाका लागि नेपाली अनुहारका विदेशीहरुको समाप्ती भएको नेपाल हेर्न चाहनुहुन्छ ?
१२. के तपाईं हाम्रा मन्त्री प्रधानमन्त्रीले कुनकुन विदेशीसँग के के गोप्य देशघाती सहमति र कुराकानी गर्छन् भन्ने एकएक कल डिटेल हेर्न सुन्न चाहनुहुन्छ ?
१३. के तपाईं युवाहरुको स्वरोजगारीका लागि सरकारको मुख नताकी नयाँ “युनिक” उपायहरुबारे जान्न चाहनुहुन्छ ?
१४. के तपाईंविरुद्ध कुनै पनि गम्भीर अपराध भएकोछ र गरिवीको कारण न्याय समेत पाउनु भएको छैन भने निशुल्क न्याय चाहनुहुन्छ ?
१५. के तपाईँ १८ देखि २४ वर्षसम्मका सबै युवालाई अनिवार्य सैनिक सेवामा लगाउने, स्वास्थ्य, शिक्षा, आवास निशुल्क गर्ने व्यवस्थाको शुरुवात चाहनु हुन्छ ?
१६. के तपाईँ नेपालको संविधानमै मानचित्र राखेर पूर्व टिष्टादेखि पश्चिम कांगडासम्म नेपालको भूमि कायम गराउन ऐतिहासिक र अन्तराष्ट्रिय कानुनहरुले पनि दिएको विशाल नेपालको पक्षमा हुनुहुन्छ ? हामीले त्यसका लागि अन्तराष्ट्रिय अदालतसम्म बाटो तय गरिसकेका छौं ।
१७. के तपाईँ नेपालको उत्तर दक्षिण सीमामा पूर्ण रुपमा पर्खाल लगाउने र पूर्व पश्चित चाहिँ टिष्टा र कांगडासम्म कायम गर्न अन्तरािष्ट्रय अदालत जाने बाटो तय हुँदै गरेकोले इण्डियनहरुका लागि पनि नेपाल प्रवेश गर्न भिजाको व्यवस्था हुनुपर्छ भन्ने पक्षमा हुनुुुहन्छ ? हुनुहुन्छ भने हामीसँग जोडिनुहोस् ।
१८. के तपाईँ संसारको कुनै पनि देशका नागरिकलाई नेपालमा अन अराइभल भिजा दिनुहुन्न, नेपाल प्रवेश गर्ने हरेक विदेशीले भूटानमा जस्तो हरेक दिन खर्च गर्ने न्यूनत्तम रकम पहिला ग्यारेण्टी सहित जम्मा गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गर्नु पर्छ भन्ने चाहनु हुन्छ ?
१९. के तपाईँ नेपालबाट सबै विदेशी आएएनजिओहरुलाई प्रतिबन्ध लगाउनु पर्छ तर विदेशी लगानी नेपालले तयार गरेको परियोजना अनुसार मात्र स्वीकार गरिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
सबैभन्दा मुख्य
निष्कर्श
राइट टु रिजेक्ट, रिकल सहितको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको नयाँ युग चाहनुहुन्छ ?
यदि हो तपाईँ चाहनुहुन्छ भने,
यसका लागि नेपालमा मात्र होइन विश्वमै कहिँ नभएको अभियान नेपालमा आजभन्दा १० वर्षअघि सर्वोच्च अदालतमा राइट टु रिजेक्ट को रीट दायर गरेर त्यसका लागि निर्देशनात्मक आदेश भएपछि शुरु भएको अभियान जनतालाई दुःख नदिई ग्यास चुल्हो खाजा सामल आफैँ बोकेर, सडक सडकमै टेन्ट टाँगेर वा वास बस्दै जनतालाई कुरा बुझाउँदै मेचीमहाकाली अभियानमा छौँ । यो अभियानको तपाईं पनि मूल आयोजक र सदस्य बन्न सक्नु हुनेछ, मेचीमहाकाली हामीसँगै जनतावीच अन्तरक्रिया गर्दै हिँड्न सक्नुहुनेछ । नसके आफ्नो नजिकका केही जिल्लासम्म केही दिन मात्र पनि रिले यात्रामा सहभागी भएर फेरि नजिकका जिल्ला वा आफ्नै जिल्लाको निश्चित क्षेत्रसम्म मात्र सहभागी भएर आफ्नो घर फर्कन सक्नुहुनेछ । तर, एउटा शर्त छ (हामी गलत धन कमाउनेलाई साथ लिने छैनौं, कारवाही गर्नेछौ, हामी पनि हाम्रो सम्पत्ति विवरण शुरुमै सार्वजनिक गर्नेछौँ । हाम्रा कल डिटेल समेत जनतालाई सार्वजनिक गर्छाै । तपाईं आफ्नो काम र समयले भ्याउने दूरी अनुसार पैदलै, आफ्नो साइकल, मोटर,साइकल, गाडी जे पनि प्रयोग गर्न सक्नु हुनेछ ।
यसका लागि तपाईं आफू सहभागी हुने जिल्ला, स्थान, सम्पर्क नम्बर इमेल आइडी र आफ्नो पेशा सहित खुलाएर यसै [email protected] मा वा फोन नम्बर ९८५१०१७७१० मा सम्पर्क गर्न सक्नुहुनेछ । विश्वास छ तपाईँको साथ, समर्थन, सहयोग र शुभकामना रहनेछ । यो कुनै वादी होइन राष्ट्रवादी हो, स्वतन्त्र हो, सही क्रान्ति अर्थात् शान्तिपूर्ण गुणात्मक परिबर्तनको बाटो हो ।त्यसैले यसको नाम स्वतन्त्र राष्ट्रिय अभियान हो । हामी यहाँको फोन र इमेल आइडी सहित नाम ठेगाना पर्खने छौँ । यहाँको सहभागिताका लागि हाम्रो वेवसाइटको सदस्यता भर्ने उपशीर्षकमा क्लिक गरेर सदस्यता भर्नु हुन अनुरोध गर्दछौँं ।
मूल दर्शन
यो अभियानको मूल दर्शन उन्नत लोकतन्त्र (Advance Democracy) र प्रत्यक्ष प्रजातन्त्र (Direct Democracy) हुने छ । राजकीयसत्ता होइन, चेतनसत्ता र अध्यात्मिकताबाट सञ्चालित रहने छ । कम्युनिष्ट विचारजस्तो आदिम रुढ साम्यवाद पनि होइन, कथित प्रजातान्त्रि समाजवाद पनि होइन उन्नत लोकतान्त्रिक समाजवाद यसको मूल विचारधारा हुने छ । यो विचार नेपालको सन्दर्भमा न त कम्युनिष्ट विचार हो न कांग्रेसको मूलधार रहेको प्रजातान्त्रिक विचार हो । यो नेपालको आफ्नै माटोको नवीनतम विचारधारा हो । न त पूर्व निरंकुश शासन, न त विकृत संसदीय व्यवस्था । ती दुवैभन्दा उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र जसमा राइट टु रिजेक्ट, राइट टु रिकल, अदालती प्रहरी, लोकतान्त्रिक कर प्रणाली सहित सबै युवाहरुलाई अनिवार्य सैनिक सेवा सहितको सबैलाई निशुल्क स्वास्थ्य, शिक्षा र आवास राज्यको तर्फबाट हुने नयाँ व्यवस्था हो । त्यसैले कि त पूर्व शासकहरु नै कि तिनै कांग्रेस, कम्युनिष्ट आदि नै ठीक भन्ने दुवै विचार नेपालमा असफल भइसकेकोले यो नवीनतम व्यवस्था नै हालको विश्वको परिवर्तनको नयाँ लहर हो ।
देशभित्र र बाहिर छरिएर रहेका नेपालीहरु बीच क्षेत्रीय वा भौगोलिक होइन, राष्ट्रिय भाव हुने छ । राष्ट्रियताको संकेतक कुनै एउटा जाति धर्म भाषा समुदाय पोशाकले होइन भावना र त्यो भावनालाई मूर्त रुपमा अभिव्यक्त गर्ने व्यवहार नै हुनेछ । र नेपालको सरकार विदेशीको ईसारामा चल्ने पार्टी र तिनका सांसदहरुले विश्वासको र अविश्वासको मतले ढाल्ने र बनाउने होइन जनताले सोझै बनाउने अर्थात् व्यवस्था नै देश बलियो बनाउने ऐक्यबद्धताको आधार हुने छ । अबको नेपालको राष्ट्रिय ऐक्यबद्धताको आधार भनेको नेपाल भौगोलिक रुपमा एक रहनुपर्छ भन्ने नै पहिलो हो भने देश टुक्रिन दिनु हुन्न, र सो कुरा सोच्नु समेत हुन्न भन्ने मुख्य भावना सहित कूल राष्ट्रिय आयको समानुपातिक वितरण तथा कूल गार्हस्थ उत्पादनको बृद्धिद्वारा आर्थिक रुपमा देश तथा नागरिकलाई बलियो बनाई बेरोजगारी समस्या निराकरण गरेर स्रोत साधनको अधिकतम उपयोग गरी देशलाई समृद्ध तुल्याउने दिशामा लाग्नु नै राष्ट्रिय भावनाबाट अभिप्रेरित हुनु हो भनेर बुझ्ने आधार हो । हालसम्म सो हुन नसक्नुको मुख्य आधार यस अवधारणापत्रमा उल्लेख गरिएको पहिलो पृष्ठका बुँदाहरु नै हुन् र ती मध्ये पनि मुख्य रुपमा संस्थागत र व्यक्तिगत भ्रष्टाचार नै हो । त्यसैले ती बुँदामा उल्लेखित खराब पक्षका पक्षधरहरु र मुख्य रुपमा भ्रष्टाचारीहरु नै राष्ट्रविरोधीहरु हुन् ।
त्यसै आधारबाट राष्ट्रघाती र राष्ट्रवादी पनि छुट्याई हेरिने हो । त्यसैले हालसम्मको ती बुँदामा भनिएको राजनीतिक, शासकीय, स्वरुप, चुनाव प्रणाली सबै अबको सन्दर्भमा अलोकतान्त्रिक, बेग्लाबेग्लै नामको एउटै प्रवृत्ति भएको एउटै दलको निरंकुशतन्त्र नै भएकोले यो जनविरोधी र देशघाती छ भन्ने निष्कर्शका साथ ती पूराना सोच, विचार, व्यवहार र व्यक्तिले नै राष्ट्रघात भएको हुनाले त्यसका पक्षधर सबै राष्ट्रघाती हुन् । नेपाललाई धार्मिक शासन होइन, अध्यात्मिक शासन चाहिएको छ । अध्यात्मिकताले सबैलाई समान देख्छ । नेपालले सबै धर्मलाई समान संरक्षणको प्रत्याभूति दिनेछ । हामी जुनसुकै धर्म, जाति र भूगोलका भए पनि पहिला नेपाली हौं । यस अभियानमा धर्मको कुरा हुँदैन राष्ट्र, राष्ट्रियता, जनजिवीकाको कुरा हुन्छ । म पहिला नेपाली हुँ । इस्लाम धर्म मान्ने भए पनि म नेपाली मुस्लिम हुँ भन्ने, इसाइ धर्म मान्ने भए पनि म नेपाली क्रिश्चियन हुँ भन्ने । बौद्ध, बोद्ध, हिन्दू जुनसुकै धर्म मान्ने भए पनि पहिला म नेपाली हुँ भन्नेहरु यो अभियानको सदस्य हुन सक्ने छन् । हामी धार्मिकताभन्दा माथि अध्यात्मिकतामा विश्वास गछौंँ ।
नेपाली समाज र नेपाली संस्कृति एकीकृत संस्कृति हो । हामी होली पनि मनाउँछौ, उँभौलि उँधौली पनि मनाउँछौ । हामी रमदान पनि मनाउँछौ, क्रिसमस पनि मनाउँछौ । सबै धर्मका मुख्य पर्वका दिन हामी सबै खुसी हुन्छौं । हामी भजन गाउँदा पनि ईश्वर अल्लाह तिम्रो नाम भनेर गाउँछौँ । हामी सबैलाई समान देख्छौँ । ३३ कोटी देवी देवताभित्रै संसारका सबै धार्मिक स्थलमा पसेर शीर नत गर्न हामी हामी खुला छौं । यो खुला र एकीकृत संस्कृति हो । यो नैं संसारको आदर्श देशको रुपमा हामी स्थापित गर्न मानवताको हबको रुपमा हामी विश्व सामु कायम राख्न चाहन्छौँं ।
राजनीतिबाट दर्शन हटेपछि देश र जनताले अन्यायी शासन भोग्नुपर्छ, भ्रष्टाचारको मार खेप्नुपर्छ । त्यसैले राज्यले अध्यात्मिकताबाट पापधर्मको डर राखेर राज्यको नीति लिनुपर्छ भन्ने तथ्य स्वतन्त्र सामाजिक मानवतावादी दर्शन हुने छ जो हालसम्म अस्तित्वमा रहेका सबै प्रकारका राजनीतिक वादविचार र सिद्धान्तभन्दा फरक रहनेछ । देशभित्र र बाहिर रहेका आदिम रुढ कम्युनिष्ट साम्यवादी र विकृत संसदीय अव्यवस्था पूँजीवादी विचारमध्ये यो दुवै विचार होइन । आदिम साम्यवाद सुन्दर दर्शन भए पनि त्यो सम्भव छैन । असम्भव तर सुन्दर कुराको आश देखाएर जनतालाई झुक्याउनु धार्मिक रुपले पाप र कानुनी दृष्टिले ठगीकै अपराध हो । त्यसैगरी पूँजीवादको विकृत पक्षको बारेमा चर्चा गरिरहनै पर्दैन जसको कारणले अन्याय, अत्याचार, दमन, शोषण उत्पिडन सबैथोक देश जनता र विश्वले नै भोगिरहेको छ । त्यसबाट वीचमा रहेर स्वतन्त्र सामाजिक मानवतावाद विश्वास राख्ने उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र नै स्वतन्त्र राष्ट्रिय अभियानको मूल सुत्र हुनेछ । यो शान्तिवादी हुनेछ तर अन्यायको विरुद्ध लड्नु समेत पर्छ र गलतका विरुद्ध सहीको पक्ष लिनु पनि मानवको धर्म हो भनेर गीता, महाभारत,रामायण, त्रिपिटक, मुन्धुम, कुरान, बाइबल लगायत सबै धर्मग्रन्थहरुले सारमा शिक्षित गरेको तथ्य पनि यो अभियानले बिर्सने छैन । असत्यका विरुद्ध सत्य पहिल्याउन मर्न समेत तयार भएर अभियान अघि बढ्ने छ । त्यस्तो शुद्धीकृत व्यवस्था र शासन प्रणाली अशुद्ध नेतृत्वबाट प्राप्त हुन सक्तैन । त्यसैले शुद्ध र अशुद्ध अभियानले छुट्याउने आधार तलको उपशीर्षकमा प्रष्ट गरेको छ ।
मूल नेतृत्व : एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन
एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन नसकेजस्तै जति पटक जस्तो संविधान आए पनि पूरानै नेताहरुबाट केही पनि हुन सक्दैन, उमेर मात्र पूरानो होइन यिनको विचार पनि पूरानै हो । संधिवान सभाको निर्वाचनपश्चात जन्मिएका नयाँ भनिएका नामका मात्र पार्टीहरु पनि सबै पूरानै विचारका हुन् । यी सबैको विचार सांसद भएर मन्त्री प्रधानमन्त्री बन्नुपर्छ भन्ने हो । नेपाललाई चाहिएको सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हो । नेपाललाई चाहिएको जनताले आफ्नो सरकार आफै बनाउन पाउने, विदेशीले हाम्रो सरकार ढाल्न नसक्ने व्यवस्था हो । त्यो व्यवस्था सांसदको बहुमत होइन, जनताको मतदाताको जम्मा मत मध्ये ५१ प्रतिशत मत पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हो ।
पञ्चायत व्यवस्था गलत तर पञ्चायती व्यवस्थाकै व्यक्तिहरु लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापा सही भनेर यिनै कांग्रेस र एमालेले हामीलाई फेरि बहुदलीय व्यवस्थामा पनि पञ्चको शासन भोगाएका हुन् । यिनै कांग्रेस एमाले पहिला पञ्चायतमा पनि शासक थिए, अर्जुन नरसिंहदेखि कम्युनिष्टका नेता राजपरिषद स्थायी समिति सभापतिसम्म । माओवादी आएपछि पनि हामीलाई यिनै बहुदलवादी र गणतन्त्रवादी नेताले कमल थापादेखि लोकमान ठीक हुन् भनेर यिनैले शासक बनाएर हाम्रा टाउकामाथि राखिदिए । त्यसैले पञ्चायतदेखिका अहिलेसम्मका सबै शासक एउटै हुन् । चाहे ती कांग्रेस एमाले माओवादी राजावादी मधेसवादी जो जो हुन् । त्यसैले हिजो राजाका समयदेखि कांग्रेस एमाले माओवादी सबैसँग मिलेर खाने राजेन्द्र, महतो, जे पी गुप्ता, महन्थ ठाकुर सबैलाई सबै दलले र व्यवस्थाले पालिरहेका थिए । आज पनि एमाले र माओवादी मिलेर राजेन्द्र महतोलाई भोट हालेर निर्णयै गरेर जिताएका हुन्, राप्रपका महामन्त्री राजेन्द्र लिंगदेनलाई पनि एमाले र माओवादीले आफ्नै उम्मेद्वार सरह भोट हालेर निर्णय नै गरेर जिताएका हुन.् । महन्थ ठाकुरलाई कांग्रेसले जिताएको हो । हृदयेशलाई कम्युनिष्टले जिताएको हो । प्रचण्डले हिजोअस्तिको स्थानीय निकायको निर्वाचनमा रुखमा भोट मागेको हालेको, देउवाले हिजो अस्ति मात्रै हो हसिया हथौडामा भोट हालेको । साझा विवेकशीलले कांग्रेलाई भोट हाले राष्ट्रिय सभामा । अनि यिनीहरु सबैको के फरक फरक सिद्धान्त, नीति, विचार छ र ? यिनीहरु सबै जनताको ढाड सेकेर एउटै सिद्धान्त भएका फरक फरक नामका एउटै पार्टी हुन् नेपालका हालसम्मका । नाममा नयाँ देखिए पनि नेपालका हालसम्मका सबै पार्टी पूरानै र एउटै नीतिका फरक फरक नामका त्यही सांसद खरिद बिक्री गर्ने, सांसदबाट मन्त्री प्रधानमन्त्री बन्ने,जनताको बहुमतका नाममा जनताको होइन विदेशीको पैसाले खरिदबिक्री गरिएका सांसदको बहुमतबाट सरकार बनाउने । विदेशीले नै चाह्यो भने जनताको मतबाट होइन विदेशीकै इशारामा सांसदको भोटबाट सरकार ढलाउने, मह्रंगो चुनाव गराएर अप्राकृतिक मूल्यबृद्धि गराउने एउटै सिद्धान्तका पार्टीहरु हुन् । त्यसैले बहुमत छँदाछँदै पनि विदेशीको डरले सरकारलाई अझै बढी सांसदहरुलाई मन्त्री बनाएर सरकारमा सामेल गराउनु पर्ने बाध्यता हुन्छ । अहिलेको सरकारलाई पनि त्यही भएको हो ।
जम्मामा हालसम्मका सबै दल र नेताहरु निरंकुश हुन, वास्तविक लोकतन्त्र विरोधी हुन् । यिनीहरु पञ्चायतकाल देखिकै नेता र दलहरु हुन् । त्यसैले संविधान पटक पटक हामीलाई षडयन्त्रमूलक ढंगले झुक्याएर परिबर्तन भए पनि नेता उनै रहिरहन्छन् । नेपालमा राजनीति भएकै छैन, जालझेल मात्र भएको छ । व्यवस्था परिवर्तन भए पनि तिनै निरंकुश शासनका पक्षधर नै अहिलेसम्म मन्त्री प्रधानमन्त्री छन् । यो देखिँदाको मात्र लोकतन्त्र हो । यो पढिरहनेको भोटले होइन, सांसदको भोटले मात्र सरकार चलाउने व्यक्ति छानिन्छ । सरकार बन्छ । तर सोझौ जनताको अर्थात् मतदाताको जम्मा मत संख्याय ५१ प्रतिशत ल्याउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हुने हो भने हरेक जनतालाई विदेशीले यसलाई भोट हाल्नुस् भन्न सक्छ ? सक्तैन, त्यसैले विदेशी हस्तक्षेप चल्दैन । तर यी दल र नेताहरु त्यो व्यवस्था चाहँदैनन् किनकि यिनीहरु विदेशीका गुलाम हुन् । अब चाहने हो भने पनि यिनहरु पटक पटक नुहाइसकेका पानीहरु हुन् यिनैलाई प्रयोग गरेर नेपाली राजनीति र समाज शुद्ध हुन सक्तैन । त्यसैले यो विचारको यो अभियानको मूल नेतृत्व भरसक अहिलेसम्म कुनै पनि पार्टीबाट वडाध्यक्ष समेत नभएको व्यक्ति हुनुपर्छ ।
संगठनात्मक स्वरुप
क) स्वतन्त्र राष्ट्रिय अभियानको संगठनात्मक स्वरुप राष्ट्रिय सम्मेलन नहुञ्जेलसम्मका लागि सहमति र सर्वसम्मतिबाट सर्कल समिति (आधार समिति), विदेशका देश अनुसार विदेश समिति, वडा, गाउँ नगर, जिल्ला, क्षेत्रीय र केन्द्रीय समितिहरु बन्ने छन् । राष्ट्रिय सम्मेलन पश्चात अनुमोदित विधान बमोजिम हुने छ । तर, राष्ट्रिय सम्मेलनका लागि मुख्य प्रस्तावका रुपमा वडादेखि केन्द्रसम्मका सबै समितिको अध्यक्षमा जो निर्वाचित भए पनि कम्तिमा ५१ प्रतिशत मतले निर्वाचित हुनु पर्ने छ । र, त्यसरी निर्वाचित अध्यक्षले सम्पूर्ण समितिका पदाधिकारीहरु आफैँ मनोनित गर्ने छ । वडाभरिका आधार समितिमा आबद्ध सदस्यहरुको कम्तिमा ५१ प्रतिशत मतले वडाको अध्यक्ष निर्वाचित भएपछि वडा समितिका अध्यक्ष मध्येबाट फेरि कम्तिमा ५१ प्रतिशतबाट गाउँ नगरको अध्यक्ष चुनिने छन् । वडाका अध्यक्ष मध्येबाट गाउँ नगरको अध्यक्ष चुनिएपछि एक व्यक्ति दुई पद हुन नहुने मान्यताका आधारमा बाध्यकारी रुपमा वडाको समितिको अध्यक्ष पदबाट राजीनामा गर्नु पर्ने छ । यसैगरी चुनिएका गाउँ तथा नगर र वडाका अध्यक्षहरुको कम्तिमा ५१ प्रतिशतमध्येबाट निर्वाचित व्यक्ति जिल्लाको अध्यक्ष बन्ने छ । निजले समेत सम्पूर्ण जिल्ला समितिका पदाधिकारीहरु आफ्नो निर्णयमा मनोनित गर्ने छ । र, क्षेत्रीयहरु समिति पनि एवम् रितले तयार हुनेछ । र, केन्द्रीय समिति समेत सोही आधारमा वडा, नगर, जिल्ला, क्षेत्रका अध्यक्षहरुको सभाबाट कम्तिमा ५१ प्रतिशत मत प्राप्त गर्ने व्यक्तिले मनोनित गर्ने छ । केन्द्रदेखि वडासम्मका सबै समितिमा कम्तिमा ५१ प्रतिशत मत ल्याएर विजयी हुने अध्यक्षले मनोनित गर्ने पदाधिकारी तथा सदस्यहरु वा पदाधिकारीहरु सबै विभिन्न क्षेत्रका प्राज्ञिक तथा प्राविधिक विज्ञहरु मध्येबाट मात्र हुनेछन् । त्यसरी सबै तहका समितिमा अध्यक्षबाट मनोनित हुने पदाधिकारी वा सदस्यहरुमाथि विश्वास नभएमा त्यस्तो अध्यक्ष निर्वाचित गर्ने दुई तिहाई मतबाट मनोनित व्यक्तिलाई हटाउन सकिने छ । मनोनित जति सबै सदस्य तथा पदाधिकारीलाई दुई तिहाईले हटाउने निर्णय भएमा अध्यक्ष समेतको पद स्वतः समाप्त भएको मानिने छ । यो नियम सबै तहका अध्यक्ष र निजले मनोनित गरेका सदस्य तथा पदाधिकारीका हकमा समेत लागू हुनेछ । पहिलो राष्ट्रिय सम्मेलनसम्मका लागि सबै विभागका विभागीय प्रमुख, सबै विषयगत र व्यवसायिक संघसंगठनका प्रमुखहरु, सबै क्षेत्रका क्षेत्रीय प्रमुख वा संयोजकहरु समेत केन्द्रीय समितिका सदस्यहरु रहनु हुनेछ । त्यसैगरी पहिलो राष्ट्रिय सम्मेलनका दिनसम्म सदस्यता प्राप्त गर्ने सबै सदस्यहरु संस्थापक सदस्य र संस्थापक संयोजक संस्थापक संयोजक रहने छन् ।
ख) सो सँगै एक स्वतन्त्र राष्ट्रिय अभियान मूल परिचालन समिति गठित हुने छ ।
ग) मूल परिचालन समितिसँगै दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय कार्य सञ्चालन समिति रहने छ
घ) सो सँगै सबै पेशागत, व्यवसायिक, प्राज्ञिक र व्यवहारिक क्षेत्रका संगठनहरुका समेत केन्द्रदेखि क्षेत्रीय, जिल्ला, गाउँ नगर र वडा समेतका समितिहरु रहने छन् ।
ङ) खण्ड घ मा उल्लेखित संगठनहरु समेत विभागीय रुपमा आवश्यकता अनुसार अर्थ, परराष्ट्र, सँस्कृति, शिक्षा, महिला बाल बालिका , समाजकल्याण, खेलकूद, फरक ढ्रगले सक्षम वर्ग, एलजीवीटी समूह, भाषा साहित्य, लगायत फरक फरक जिम्मेवारीका फरक फरक स्थानीयदेखि केन्द्रसम्मका शाखाहरु स्थापित हुनेछन् । अभियानको संगठनमा रहनेहरुले ती विभाग अन्तर्गत आफ्नो रुची अनुसन्धान र विशेषज्ञता अनुसार आजीवन एउटै क्षेत्रमा मूल जिम्मेवारीमा रहेर पछि जिम्मेवारीमा रहनु पर्दा सोही क्षेत्रको जिम्मेवारी लिनेगरी संगठनमा रहँदाकै अवस्थादेखि आफ्नो क्षेत्रको मात्र देशविदेशको सो सम्बन्धमा भएका काम र विकासबारे अध्ययन गरी कार्यत्रपत्रहरु प्रस्तुत गरिरहनु पर्ने छ ।
सपथ
स्वतन्त्र राष्ट्रिय अभियानको कुनै पनि व्यक्ति कुनै पनि पदमा पदासीन रहन लाग्दा गरिने सपथ ग्रहण पद तथा गोपनीयताको हुने छैन । सपथ गोपनीयताको नभई पारदर्शिताको हुनेछ र पदको नभई जिम्मेवारी वा उत्तरदायित्वको हुनेछ । सबै पदमा रहने व्यक्तिले आफूले आस्था र विश्वास राखेको ईश्वरको नाममा जनता र आफ्ना बाबुआमा तथा छोराछोरीलाई पारदर्शीताका आधारमा उत्तरदायित्वपूर्ण कार्य गर्ने छु, नगरेमा आफ्ना छोराछोरी र बाबुआमाका अगाडि जनता समिति र जनताले दिएको सजाय भोग्न तयार छु भन्ने भाषाको हुने छ । र, त्यही अर्थमा राज्यका पद ग्रहण गर्ने व्यक्तिले सपथ लिनु पर्ने छ । पदभार ग्रहण गर्ने भन्ने शब्द पनि हुने छैन, पद लिने तर पदलाई भार भन्ने सोचबाट पदमा गएपछि गर्नु पर्ने कर्तव्य पूरा गर्ने काम पदभार हुन सक्दैन, पदको जिम्मेवारी र उत्तरदायित्व हुन्छ । भार भन्ने सोचबाट कर्तव्य पूरा गर्नुपर्ने होइन भन्ने सोचको अन्त्य गर्नुपर्छ ।
सञ्चार संहितमा थप सामान्य तथ्य
संसारमा नेपाल मात्र यस्तो देश हो जहाँ विदेशी राजदूतहरु हाम्रो देशको परराष्ट्र मन्त्रालयको अनुमति नलिईकन कहिले मुस्तांगमा पुगेर विद्यालय उद्घाटन गर्छन, कहिले तराईको कुनै जिल्लामा पुगेर एम्बुलेन्स हस्तान्तरण गर्छन्, तर हाम्रा सञ्चार माध्यम उसले अनुमति लिएर आयो कि नलिई भन्ने सोध्दैनन् बरु पछि पछि लागेर उनकै समाचार बनाउँछन् ।विदेशी राजदूतहरुले सोझै नेपाली सञ्चार माध्यमलाई अन्तरवार्ता र समाचार दिन र सञ्चार माध्यमले लिन नपाउने व्यवस्था हुनुपर्छ । विदेशी दूतावासका विदेशी राष्ट्रिय दिवसका अवसरका आदि विज्ञापन भुक्तानी राजदूतावास मार्फत सोझै सञ्चार माध्यमले लिन नपाउने व्यवस्था हुनुपर्छ । नेपालको परराष्ट्र मन्त्रालयको अनुमति विना विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुसँग सोझै नेपाली सञ्चार माध्यमले अन्तरवार्ता आदि समेत गर्न र विदेशीले समेत नेपालका कूटनीतिक असर पर्ने समाचारहरु सोझै प्रकाशित गर्न पाउने छैनन् । हरेक समाचारहरु प्रकाशित हुने वित्तिकै राम्रा समाचारहरुबारे प्रशंसा र उठाइएका विषयहरुको सम्बोधन तत्कालै गरिने र गलत समाचारहरुको तत्काल छानविन सूचना विभागको तथ्यांक संकलनका आधारमा सरकार गर्नुपर्छ ।
उद्योग व्यवसाय, उद्यमी र मजदूरहरुबारे
नेपालमा पछिल्ला दशकमा सबै उद्योगधन्दाहरु लगातार बन्द हुनुको कारण मजदुर अधिकारका नाममा खुलेका ट्रेड युनियनहरुको विदेशी थोपरेका एजेण्डाहरु हुन् । ०४८ साल पछि नेपालमा अत्यन्तै पीडामा रहेको क्षेत्र उद्योग व्यवसायको क्षेत्र हो । चुनाव गर्दा उद्योगी व्यवसाले नेता र दलहरुलाई चन्दा दिने अनि तिनै उद्योगीहरुलाई समानुपातिक वा प्रत्यक्ष पदबाट सांसद बनाउने र अन्ततः मजदुर विरोधी नीति नै संसदबाट बनाउने, त्यसैगरी मजदुरहरुलाई आन्दोलनको अधिकार छ भनी नेपालमा चाहिँ एजेण्डा सेट गराएर आन्दोलन हडतालमा अधिकारको नाममा संलग्न गराई आन्दोलनमा गएको दिनको पनि, हडतालमा बसेको दिनको पनि तलब दिनु पर्ने तर त्यो एजेण्डा नेपालमा मानवअधिकारका नाममा सेट गराउने ती पश्चिमा हरुको देशमा भने काम गरेको घण्टाको हिसाबले पारिश्रमिक दिने अवस्थातर्फ कसैको ध्यान गएन । ट्रेड युनियनले खत्तम गरेको उद्योग व्यवसायका लागि प्रतिकूल वातावरण अन्त्य गर्न प्रतिघण्टाको दरले पारिश्रमिक दिने, करारमा भएको सम्पूर्ण शर्त पूरा गर्नै पर्ने त्यति गर्दा पनि हडतालमा संलग्न हुनेहरुको पारिश्रमिक कट्टा हुने व्यवस्था हुनुपर्छ । अस्थायी वा स्थायी करार हुँदाकै बखत कडा ढंगको राज्यले तोके अनुसारको हुने र सो करार भंग गर्ने उद्योगहरुलाई पनि राज्यले २४ घण्टाभित्र कडा कारवाही तोकिए बमोजिमको हुने तथा त्यसका लागि एउटै उद्योगमा धेरै ट्रेड युनियन होइन, एउटा मात्र साझा युनियन रहने व्यवस्थाबाट उद्योगमैत्री वातावरण कडा हायर एण्ड फायर एवम् उद्योगमाथि मजदुर कर्मचारीको सेवा सुविधाका शर्त पालन नगर्ने उद्योगीलाई फौजदारी मुद्दा सरहको अभियोगमा कारवाही हुने व्यवस्था हुनुपर्छ । कुनै पनि पेशागत क्षेत्रमा सामूहिक सौदावाजीका लागि एक मात्र आधिकारिक ट्रेड युनियन रहने छ ।
लोकतान्त्रिक कर प्रणाली –डेमोक्र्याटिक ट्याक्सेसन सिस्टम_
उदाहरणका रुपमा सवारी करबाट उठेको रकम जनप्रतिनिधिको तलबभत्तामा होइन, सडक बनाउनकै लागि मात्र खर्च गरिने छ । जुन शिर्षकबाट उठेको रकम हो सोही क्षेत्रमा खर्च गरिने गरिने छ । यसबाट योगदान अनुसारको विकास सम्बन्धित क्षेत्रको हुने छ । र, कुनै शीर्षकमा खर्चका लागि कर नउठ्ने अवस्था रहेछ भने मात्र कुन क्षेत्रबाट उठेको रकम अर्को कुन क्षेत्रमा खर्च भयो भन्ने तथ्यांक समेत रहने गरी खर्च गरिने छ । त्यसबाट असर पुगेको क्षेत्रमा असर पुर्याउने क्षेत्रमा खर्च गरिने छ । वातावरण र स्वास्थ्य बिगार्ने क्षेत्रबाट उठेको रकमलाई मात्र स्वास्थ्य सुधार्ने क्षेत्रमा खर्च गरिने छ । यस्ता उदाहरण सरहको सर्वसामान्यले पारिभाषिक शब्द प्रयोगबाट बुझ्ने गाह्रो प्राविधिक तथ्यलाई बुझिने गरी मात्र यहाँ लोकतान्त्रिक कर उठ्ती र खर्चको यहाँ संक्षिप्त रुपमा व्याख्या गरिएको हो र यस प्रणालीबाट संघीयताको कारण अनावश्यक रुपले गरीबहरुमा मार पर्ने गरी बढेको कर प्रणाली अन्त्य गरी बढीमा २५ वर्षवीचमा देशको सबैभन्दा गरीव व्यक्ति र सबैभन्दा धनी व्यक्ति वीचको सम्पत्तिमा बढीमा ५० प्रतिशतले मात्र प्रतिव्यक्ति आय कायम हुनेछ । हाल प्रतिव्यक्ति आय संसारकै धनी व्यक्तिको सूचीमा परेका र दैनिक छाक टार्न गाह्रो हुनेको पनि एउटै गणना गरिने विश्वकै प्रणाली भए पनि नेपालमा देखिने गरी समतुल्य बनाइने छ ।
निर्वाचन प्रणाली र अन्य व्यवस्थाहरु
सम्पूर्ण देश एक निर्वाचन हुने छ । सबै स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकको मतको कम्तीमा ५१ मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने छ । मन्त्रीहरु सबै विज्ञहरु मध्येबाट नियुक्त हुनेछन् । खराब कार्य गरेमा महाभियोग लाग्न सक्ने छ । दुई तिहाईबाट निर्वाचित राष्ट्रपति समेत हट्न सक्नेछन् । स्थानीय निर्वाचन र केन्द्रको निर्वाचन एकैपटक हुनेछ । राइट टु रिजेक्टको व्यवस्था हुने छ । प्रादेशिक संरचना अन्त्य हुने छ । शक्तिपृथकीकरण पूर्ण रुपमा लागू स्थानीय निकायलाई परराष्ट्र, अर्थ, विदेश सम्बन्ध, मुद्रा, सेना, हवाई बाहेकका सम्पूर्ण अधिकारबाट सम्पन्न गरिने छ । जिल्ला तहको कार्य समन्वयकारी मात्र हुने छ । स्थानीय तहको निर्वाचन राजनीतिक दलको होइन, स्वतन्त्र उम्मेदवारहरुको वीच हुने छ । दलले उम्मेदवार हाम्रो हो भनी घोषणा गरे पनि दलगत रुपमा स्थानीय निर्वाचन हुने छैन । कुनै पनि सरकारी कर्मचारीलाई सोझो राजनीतिक संलग्नता हुने छुट हुने छैन । तर ट्रेड युनियनको सदस्य बन्न सक्नेछन् । तर साझा एउटा निर्वाचित हुने युनियनलाई मात्र सामूहिक सौदावाजीका लागि मान्यता दिइने छ । निर्वाचनमा सरकारका टेलिभिजनमध्ये एउटा च्यानल निर्वाचन च्यानल हुने छ । सोही च्यानलमा तालिका अनुसार आआफ्नो चुनावी घोषणाहरु सार्वजनिक गरिने छ । छुट्याइएको निश्चित समयमा आफ्ना सम्बोधनहरु दल वा व्यक्तिको तर्फबाट राखिने छ । सोबाहेक कुनै पनि चुनावी खर्च गर्न दिइने छैन । कम्तिमा ५१ प्रतिशत मत प्राप्त गर्ने एउटा र ४९ प्रतिशत मत प्राप्त गर्ने बाँकी एउटा दल बाहेक अन्य दललाई राष्ट्रिय दलको मान्यता दिइने छैन । तर चुनाव भने अर्को आवधिक निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने छन् ।
लोकतन्त्र दिवस र राष्ट्रिय एकता दिवसको दिन बाहेक विरामी विदा आकस्मिक विदा गणना नहुने गरी वर्षमा जम्मा १५ दिनको विदा दिइने छ । सोही दिनलाई आआफ्ना विश्वास अनुसारको धार्मिक विदाहरुको रुपमा मनाइने छ । आफूले नमनाउने चाडपर्वका दिन बिदा दिइने छैन तर मनाउनेहरु सोही १५ दिनभित्रबाट कट्टा हुने गरी बिदा बस्न सक्ने छन् ।
सबै सरकारी कार्यालयका कर्मचारी, विद्यालयका कलेजका विद्यार्थीले नेपाली नेपालमा उपलब्ध हुने सबै नेपाली उत्पादन नै प्रयोग गर्नु पर्नेछ । सो को उपलब्धता राज्यले सिर्जना गर्ने छ ।
बाटोमा जोडिएका सबै घरका अगाडि अनिवार्य रुपमा साना ठूला गमला वा बुट्यान प्रकृतिका फूलका वा अन्य बोट विरुवा रोप्नै पर्ने छ । कुनै पनि स्वदेशी विदेशीले बाटोमा हिँड्दा हरिया बोट र फूल नदेखिने ठाउँ रहनु हुने छैन । घर बनाई भाडामा लगाउनेहरुले त्यसको अत्यन्त सामान्य अंशले गर्न सकिने यो कार्य नगरेमा फौजदारी सरहको सजाय हुने छ । यसबाट नेपाली लोपोन्मुख कुमालेको माटाको गमला भाँडा बनाउने व्यवसाय पुनर्जागरण हुने छ ।
पूर्वाञ्चल विश्वविद्यालय भन्ने तर त्यसको मुख्य कलेज काठमाडौँमा खोल्ने,पोखरा मध्यपश्चिम आदिको त्यस्तै अवस्था हुने, स्थानीय तहमा भने सोही तहको नाममा खोलिएका विश्वविद्यालयमा गुणात्मक शिक्षा लिन नपाएर काठमाडौमा नै आउनु पर्ने अवस्था अन्त्य गर्नुपर्छ । राज्यले देशका लागि कुन कुन विषयमा कति कति जना जनशक्तिको आवश्यकता छ भन्ने निश्चित गरेर सो सो विषयमा सोही सोही सख्यामा विद्यार्थीलाई प्रतिष्पर्धाका आधारमा छनौट गरी कोटा अनुसार मात्र पढ्ने पढाउने व्यवस्था गर्ने छ ।
राज्य विरुद्ध र गम्भीर प्रकृतिका फौजदारी मुद्दा बाहेक सबै मुद्दा सबैभन्दा पहिला मेलमिलाप केन्द्रमा पठाई सो केन्द्रबाट मिल्न नसक्ने स्थिति भएमा मात्र अदालतमा सुनुवाई हुने व्यवस्था गरिने छ । त्यसका लागि पक्षले छानेका सबै अधिवक्ता अधिकार प्राप्त हुने छन् । तर मुद्दा मिल्न नसकेमा मात्र आफै मेलमिलापकर्ता भएको मुद्दा सोही अधिवक्ताहरुले हेर्न पाउने छैनन् ।
कानुनी कामहरु सबै तीनपुस्ते थाहा पाउनका लागि राष्ट्रिय परिचय पत्रको साँकेतिक नम्बरका आधारमा कसको तीनपुस्ते को हो भन्ने व्यक्तिको कार्डबाटै थाहा पाउने व्यवस्था गरिने छ ।
परराष्ट्र सम्बन्ध पूर्ण रुपमा असंलग्नताका आधारमा सञ्चालित हुने छ ।
अन्त्यमा सबैभन्दा महत्वपूर्ण तथ्य
सबैतिर देश, भाषा, साहित्य, राष्ट्रियताविरुद्ध धावा बोलिएको छ । त्यसका विरुद्ध महेन्द्रको राष्ट्रवाद होइन, युरोपियन युनियनले भाँड्न ल्याएको ‘रिलिजियस नेसनालिज्म’ होइन, ‘इथ्निक नेसनालिज्म’ पनि होइन स्वतन्त्र राष्ट्रवादी अभियान चाहिएको छ । राष्ट्रवादी भन्ने वित्तिकै राजावादी सम्झन्छन् मान्छेहरु । के राजा नभएको देशको राष्ट्रवाद हुन्न र ? राजा बिना राष्ट्रवाद/राष्ट्रवादी कल्पनै गर्न सक्तैनन् मान्छेहरु ।
नेपालमा हालसम्म प्रजातन्त्र/लोकतन्त्रका नाममा केवल भाइभतिजावाद (Nepotism), साथीवाद(Cronyism), बूढाबुढीतन्त्र (Gerentocracy), भ्रष्टहरुको चोरतन्त्र (Kleptocracy/Cleptocracy),सम्पत्तिको आडमा पिछडिएका वर्गको समानुपातिक सूचीबाट तिनै सम्भ्रान्तगोल्छा, चौधरी आदि कहिले एउटा पार्टीबाट कहिले अर्को पार्टीबाट सांसदको सूचीमा परिरहने धनतन्त्र (Plutocracy), बहुमतका नाममा अल्पमतको स्वल्पतन्त्र (Oligarchy) मात्र छ, हालसम्मका सबै पार्टी एउटै वर्गका पूराना सोच राख्नेहरु हुन्, नेपालमा नयाँ सोच भनेको५१% मत पाउनेले मात्र सरकार बनाउन पाउने, सांसदहरुले विधि मात्र बनाउनु पर्ने मन्त्री बन्न नपाउने, सबै जाति समुदायको जनसंख्याको प्रतिशतमा कर्मचारी प्रशासन सबै क्षेत्रमा प्रतिनिधित्व वैज्ञानिक ढंगले गराउने तर समानुपातिक भन्ने सांसद खरिदबिक्रीको व्यवस्थाअन्त्य गर्ने र संघीयतालाई खारेज गर्ने नै नयाँ विचार हो । बाँकी सबै पूरानै व्यवस्थामा प्रतिष्पर्धा गर्नेहरु हुन् । हालसम्म जनताले आफ्नो प्रतिनिधी छान्न पाउने व्यवस्था छैन, जनताले भोट हाल्न पाउने व्यवस्था मात्र हो प्रतिनिधी को बन्ने भनेर छान्ने काम त जनताले होइन पार्टीका ठालू नेताले मात्र गर्छन्, त्यसैले युवा नेतृत्व चाहियो …………
अब यस विचारको अभियानको १० वर्ष यताको विस्तारका लागि….
हामी मेची महाकाली अभियानमा ग्यास, खाजा सामल बोकेर, टेन्ट आफैँ बोकेर जहाँ रात पर्छ त्यही वास बस्दै जनतामा यो कुराको चेतना जगाउँदै हिँड्ने छौँ , एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन । त्यस्तै व्यवस्था परिवर्तन भएर पनि परिवर्तन नभएका नेता, क्रान्ति गर्छु भनेर थच्चिएकाहरुबाट परिबर्तन हुन्छ भन्ने कल्पना गर्नु एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन खोज्नुजस्तै हो । त्यसैले हामी सबै राजनीतिक फोहोर भयो भन्नेहरु एकजुट हुनु जरुरी छ । जनता परिबर्तन हुन सक्दा रहेछन् नेता परिबर्तन हुन सक्दैनन् भन्ने प्रमाणित भइ सकेको छ । हामी जनताले त्यसैले पटक पटकका परिबर्तनलाई साथ दियौँ नेता तिनै रहे । तिनीहरु परिबर्तन भएनन्, त्यसैले प्रवृत्ति त्यही रह्यो ।
अब पूराना होइन, नयाँलाई एक पटक चुनाव नलडेकाहरुको यो अभियानमा साथ दिनुपर्छ । हामी अभियन्ताहरु हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरेका छौँ । शुरुमै हाम्रो सम्पत्ति विवरणहरु सार्वजनिक गर्ने छौँ । हामीलाई कुन कुन देशी विदेशीको फोन कल आउँछ हामी कल डिटेल जनतावीचमा सार्वजनिक गर्ने छौँ । यस्तो हिम्मत अरु कसैको छैन किनकि उनीहरु देशको सूचना विदेशीलाई बेच्छन्, विदेशीबाट चल्छन् । सम्पत्तिको लागि राजनीति गर्छन् । यो अभियान त्यही विदेशीबाट चलेको राजनीति अन्त्य गर्ने र राजनीतिलाई लुटी खाने प्रवृत्तिका विरुद्ध हो । यो अभियान हो राजनीतिक दल होइन ।
हामीले युवा स्वरोजगारको ‘युनिक’ कार्यक्रमहरु ल्याएका छौँ, त्यसमा यस अभियानको सदस्य रहनेहरुलाई मात्र पहिलो चरणमा सहभागी गराइने छ जसबाट हामी आफैँ उदाहरण बन्नुपर्छ । त्यसैगरी सामाजिक साँस्कृतिक परिबर्तनका पनि यसपूर्व कहिल्यै नसोचिएका विषयहरु आफूमै लागू गरेर अभियन्ताहरु नै उदाहरणीय रुपमा प्रस्तुत हुने, क्रिश्चियनधर्मीहरु हप्तामा एक पटक चर्च गएजस्तो इस्लामधर्मीहरु पनि हप्तामा एक पटक मस्जिद गएजस्तो हामी हप्ताको एक पटक लहरै मन्दिर जाने छौँ, धर्म मासियो भनेर मात्र हुन्न उदाहरण पनि प्रस्तुत गर्नुपर्छ आफूबाटै बचाउनका लागि । मन्दिर जान मन नहुनेहरुले हप्ताको एक पटक परोपकारी काममा लाग्ने छौँ हामी अभियन्ताहरु ।
परोपकारी काम गर्ने ठाउँ छैन भन्नेहरुलाई देशका सबै युवालाई, सबै व्यक्तिलाई नसोचेका नसोचेका तर समाजको हित खातिर एकै दिन अचम्मको उदाहरण गरी सदस्यहरु वीचमा मात्र सर्कूलर गरेर नयाँ कामहरु शुरु गर्ने छौँ । र, अन्य सबैलाई सहभागी गराउने छौँ । तर यो सामाजिक र साँस्कृतिक सुधारका लागि व्यवहारिक क्रान्तिसँगै हामीले अन्यायमा परेकाहरुको पक्षमा दुःखी गरीबका पक्षमा अन्यायीका विरुद्ध निशुल्क कानुनी लडाइँ र अन्य प्रकारका पुनस्थापनाका सिर्जनशील हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने कार्य हाम्रा विभिन्न समितिहरु मार्फत गर्ने छौँ । कुनै पनि व्यक्ति अन्यायमा परेको सप्रमाण हामीलाई जानकारी पनि गराउन सक्नुहुनेछ ।
अन्त्यमा हामीले सबै योजना र कार्यक्रम सबै यहाँ उल्लेख गर्न सम्भव पनि छैन । त्यसैले फेरि पनि यो अभियानको माथिका केही विचारहरुप्रति यहाँहरुको समर्थन छ भने केन्द्रीय परिचालन समितिमा आफ्ना योजना र सोच सहित आउनुस् देश विदेश जहाँ भए पनि नेपाली भएको ठाउँमा नेपालको केही अंश हुन्छ, त्यसैले स्वदेश विदेश सबैतिरबाट सहभागिता जनाउन सकिन्छ । आफ्नो सम्पर्क इमेल र समेत उपलब्ध गराइदिनु हुन साथ, समर्थन, सहयोग र शुभेच्छा सहित गोलबद्ध हुन तथा हामी जिल्ला जिल्ला वडा वडा आउँदा हामीसँग अन्तरक्रियामा सहभागी भइदिनु हुन आग्रह गर्दछौँ । तलको ठेगाना र फोनमा सम्पर्क गरी आफ्नो नाम इमेल र संलग्नताको क्षेत्र उपलब्ध गराइदिनुहुन पनि आग्रह गर्दछाँै ।
स्वतन्त्र राष्ट्रिय अभियानले हालसम्म गरेका कार्यहरु
* राइट टु रिजेक्टको अधिकार स्थापित गर्न सर्वोच्च अदालतमा रीट दायर गरेर निर्देशनात्मक आदेश जारी गराएको
* विषादियुक्त पदार्थ नेपाल भित्र्याउने सरकारी कानुन विरुद्ध रीट दायर गरी रोकेको
* ॐ समेत हटाएर प्रकाशित नेपाली भाषा र व्याकरण अन्त्य गर्ने बृहद् नेपाली शब्दकोश खारेज गराएको
* नेपाली जनताको करबाट उठेको रकम खर्च गरी गर्न लागिएको आइफा अवार्ड रोकेको
* देशभर चेलीबेटीहरुलाई बलात्कार विरुद्ध आत्मरक्षाको तालिम दिँदै आएको
* देशभरका चेलीबेटीहरुको बलात्कार र महिला हिंसाका मुद्दामा निशुल्क कानुनी उपचारको सेवा उपलब्ध गराउने गरेको
* दुई वर्ष अघि नै सरकारी जमीन व्यक्तिको नाममा गराउने विरुद्ध प्रमाण संकलन गरी मुद्दा दायर गर्दा त्यस्तो कागज नै कीर्ते गरी तयार गरेको भनी उल्टो अभियानका अभिानका अभियन्ता युवराज कोइराला लगायत विरुद्ध सरकारले पक्राउ गरी मुद्दा दायर गरेकोमा त्यसमा पनि सफलता पाएको
* विचार र उत्पादनलाई जोड्ने गरी नेपाली कच्चा पदार्थ मात्र प्रयोग गरी नेपालीले नेपाली कपडा उत्पादन गरी बिक्री वितरण गरी थोरै भए पनि रोजगारी सिर्जना गरिरहेको
* एग्रो भेट उत्पादनमा वैचारिक अभियन्तालाई पब्लिक लिमिटेडमा जोडी हिमाल पहाड तराई एग्रोभेट, कुपण्डोल, एग्रो बर्ड दमौली, राष्ट्रिय उत्पादन लि. टोल मार्ट लि (जसले कार वास, ह्याण्ड वास, साबुन, तेल आदि नेपाली उपत्पादनहरु नै बजारमा ल्याई) रोगजार बनाइरहेको
* प्रत्येक अनाथालयमा गई हरेक हप्ता बालबालिकाहरुलाई होमवर्क गर्नमा अभियानका विद्यार्थी नेताहरुले सहयोग गरिरहेको
* विद्यार्थीहरुलाई आफूले खाना खाएको भाँडाहरु सफा गर्न, आफू सुतेको कपडा विहान उठेपछि आफैँ मिलाउन, आफ्ना कपडा आफैँ धुन, विहान उठ्ने वित्तिकै अभिभावक र एक अर्कालाई प्रणाम लगायतका अभिवादन गर्न सिकाउँदै हाम्रो संस्कृतिको रक्षाका लागि नियमित विद्यालयहरुमा अतिरिक्त कक्षाहरु सञ्चालन गर्दै आएको । आदि धेरै ।
-स्वतन्त्र राष्ट्रिय अभियान,
सम्पर्कका लागि, [email protected]
www.incnepal.com
९८५१०१७७१० / 012431947