काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै देशभरका जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुसँग जोडिइरहेका छन् । केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गरेका अध्यक्ष थापाले आज जिल्ला अध्यक्षहरुसँग भर्चुअल मिटिङ गरेका हुन् ।
अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था एवं भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षहरुलाई जानकारी गराएका थिए । मुलुकमा राप्रपाले बोकेको एजेण्डाको आवश्यकता र औचित्य दिन प्रतिदिन बढिरहेको सन्दर्भमा पार्टीलाई जबर्जस्त ढंगबाट स्थापित गर्नुको विकल्प नरहेको स्पष्ट पार्दै थापाले जनताबाट अनुमोदित भएर आउनको निमित्त संगठन निर्माणमा केन्द्रित हुन जोड दिए ।
प्रजातन्त्रको सौन्दर्य फरक विचार भएकोले प्रजातन्त्रलाई मजवुद बनाउनको निमित्त फरक विचार बोक्ने शक्ति बलियो हुनुपर्ने आवश्यकता औंल्याउदै अध्यक्ष थापाले राप्रपालाई शसक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने बताए । धर्म परिवर्तन, भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटना उन्मुख भएकाले देश जोगाउन र बनाउन राप्रपाको विकल्प नभएको सन्देश जनतामाझ पु¥याउन थापाले जिल्ला अध्यक्षहरुलाई आग्रह गरे ।
बैठकमा जिल्ला अध्यक्षहरुले पार्टीलाई अगाडी बढाउनको निमित्त प्रतिबद्ध रहेको भन्दै सैद्धान्तिक र वैचारिक रुपमा चट्टानी दृढता रहेको विचार व्यक्त गरेका थिए । स्पष्ट विचार र अलग पहिचान सहितको दललाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी र निर्णायक बनाउन जिल्ला जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका थिए ।
५१ जिल्लाका अध्यक्षहरु भर्चुअल बैठकमा सहभागी भएका र आगामी दिनमा यस्ता बैठकलाई अध्यक्ष कमल थापाले निरन्तरता दिनुहुने केन्द्रीय सचिबालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।