ज्ञानमणि भुर्तेल बिर्तामोड ,झापा – अब यसरी सधैं जङ्गलमा बसेर कन्दमुल खाएर मात्र हुन्न ! शहर पस्नुपर्छ !! बनकाली क्षेत्रको एउटा सुरो बाँदर चिच्यायो !
– हो ! हामी अब शहर नपसी हुन्न ! कन्दमुल र कहिलेकाही भक्तजनले दिएको कमिला लागेको बिस्कुटका भरमा कति मगन्ते जीवन बाँच्नु हौ ? अर्को क्रान्तिकारिले सहि थाप्यो !!
– अब शहर पसेर आफ्नै पौरखमा बाँच्ने हो ! यो जङ्गलि जीवन बाट अब मुक्तिको मार्गमा जानै पर्छ ! अर्को युवा बाँदरले आफ्नो तर्क सहितको चिच्याहट ओकल्यो !!
– मैले तिमीहरूलाई पहिलेनै भनेको हो नि ! राजनीतिमा लाग्नुपर्छ , नेता हुनुपर्छ भनेर ! वास्ता गरेनौ , मेरो कुरोमा टेर पुच्छर लाएनौ !! अहिले हेर त – २९- ३० तिर सुखानीमा उफ्रिने हरु बेलैमा शहर पसेर मुक्तिको मार्गमा लागेर कत्रो उन्नति प्रगती गरिसके ! ५०-५१ तिर सयौं रेलिङ्ग मर्मत गरे ! सडकमा टायर प्रज्वलन गरेर कालो पिचलाई झन कालो पार्न योगदान दिए ! चक्काजाम , नेपाल बन्द , तोडफोड के के मात्र गरेनन ? सडक क्रान्तिको सुरुवात गरे ! सडक क्रान्तिका जन्म दाता नै भए ! एक पटक त सदनमा द्रव्य मन्त्रीको ब्रीफकेस समेत कुच्याई दिएका थिए क्यारे !! उग्र बाँदर चिच्याउदै गर्दा अरु सबै ट्वाल्ल परेर हेर्दै थिए ! उसको चिच्याहट जारी रह्यो – उनीहरु बेलैमा शहर पसे ! राजनीतिमा लागे , नेता भए , आफ्नो कौशलता देखाए ! घर किने , गाडी किने ,पजेरोमा सयर गर्ने भैसके ! देश बिदेश घुम्न भ्याए , सात पुस्तालाई पुग्ने सम्पत्ति थुपारी सके ! हामी भने एउटा हाँगा बाट अर्को हाँगामा झुन्डिन पाउदैमा दङ्ग !!
– त्यै त यार ! अर्को युवाले सहि थाप्यो – भक्तजनले ल्याएको प्रसादको पोको खोस्दा समेत पुलिसले डन्डा हान्छ हामीलाई ! उता उनिहरुलाई चै सयौंको संख्यामा घेराबन्दी गर्दै शहर घुमाउँछ उल्टै सलाम पो गर्छ ! यस्तो असमान व्यबहारले कसरी समृद्धि आउँछ हौ ?
अर्को पनि सहमतिमा कुर्लियो – झन हिजोअस्ती होलेरी बाट फर्केका र सुखानी बाट हुर्केका मिलेर बालुवाटार देखि रहे सहेका सबै टार आफ्नो पारिसके ! हाम्रो भागमा चै यिनै सुकेका हाँगा अनि चाक रातो हुनेगरिको चिसो भुइँ ? हैट !! यस्तो पनि जिन्दगी ? आफ्नै थाप्लोमा मुड्की बजार्यो र थुचुक्क बस्यो !!
– अर्को दार्शनिकले दर्शन छाँट्यो – लौ है साथी हो ! बेलैमा सोचिएन भने यिनै हाँगाबिगा समेत बाँकी रहदैनन हाम्रा लागि !! अब शहर पसेर आफ्नो हक खोज्नु पर्छ आफ्नो हिस्सा लिनुपर्छ !! आमा दिदी बैनी हो ….. भन्ने गित सुन्या छैन तिमिहरुले ? एक लाईन गाएर पनि सुनाईदियो ! सबैले स्वरमा स्वर मिलाए , ताली बजाए !!
– भनेपछि …… तिमिहरुलाई नेता हुने भुत चढ्यो हैन त ? सबै तमासा हेरिरहेको प्रौढ बाँदरको जिज्ञासामा सबैले स्विकारात्मक टाउको हल्लाए ! बूढो सम्झाउन तिर लाग्यो – हेर केटा हो ! यसरी जोसमा होस गुमाउने कुरा नगर ! तिमिहरु मान्छे हुन तिर नलाग झन नेता हुने त कल्पना समेत नगरेको बेस !! हाम्रो पहिचान जे छ ठिक छ ! हो – आजका नेता सग पैसा होला , प्राडो पजेरो गाडी बङ्गला सबै होला तर शान्ति छैन ! अर्काका हजारौं छोरा मारेर थुपारेको सम्पत्तिले न त आफ्नै छोरो जोगाउन सक्दोरैछ न त आफ्नो प्रीयजन मर्दा बग्ने आँसु रोक्न सक्दोरैछ भन्ने त यहीँ आर्यघाटमा तिमी हामिले देखेकै हैन र ? लुटको धनले अरुको पिडामा अट्टहास गर्न त साथ देला तर आफुलाई पर्दा आफ्नै थाप्लोमा मुड्की बजार्नुको बिकल्प छैन भन्ने त देखिहालियो नि !!
माथी हाँगामा बसेर बुढाको भाषण सुनिरहेकी बुढी बादर्नी फुत्त हाम्फालेर फरिया सुर्किदै चिच्याई – लु भो ! यस्ता आदर्शका कुरा छोड बुढा ! हिजो अस्ति यतै बाट शहर पसेको नेताकी स्वास्नी हप्तै पिच्छे नयाँ साडी देखाउन मुन्टिन्छे अनेक बहाना बनाउँदै ! हरेक बर्ष तिजमा नयाँ छड्के तिलहरी भिरेर छमछमी उफ्रीन्छे पशुपतिमा ! ” गरिवको चमेली कोई छैन … कोई छैन भन्दै !! आफ्नो मुटु कटक्क खान्छ आफैंलाई व्यंग्य हानेको हो कि भनेर !!! साग किन्न समेत पजेरोमा जान्छे रे ! हाछ्यु आयो कि तातोपानीका चोपलिन सिङ्गापुर पो रे अहिले त !!! एउटै फरिया छ महिना सम्म घोट्नुको पीडा तिमेरु लोग्नेहरुलाई के थाहा ?? आफ्नो लोग्ने तिर धारे हात लाउदै फरियाको सप्कोले आँसु पुछी !! माहोल भावुक बन्यो !! बुढोको मुख टालियो !! बुढी बाँदर्निको कुरोमा दुई तीन वटि युवा बाँदर्निले समेत साथ दिएपछि युवा जनमतले बहुमत पायो !!! शहर पसेर नेता बन्ने निधो भो !! पारी गुहेस्वरी तिर पनि खवर भो ! स्वयंम्भु तिर बाट पनि प्रतिनिधित्व भो !!!
पस्न त पस्ने ! कता पस्ने ? कुन पार्टीमा पस्ने ? व्यापक छलफल पछि निष्कर्श निस्कियो – सत्ताधारी पार्टीमा पहिले नै दुई तिहाई पुगिसकेको र आफू भन्दा धुरन्धरले कब्जा जमाई सकेकोले माछा , भ्यागुता , गँगटा , सर्प , बिच्छी सबै अटाउने पार्टी काङ्ग्रेस नै भएको र अहिले काङ्ग्रेस प्रवेशको लहर समेत व्यापक भएकोले बाँदर सेना बुढानिलकण्ठ तिर लाग्यो ! क्वालिटी नहेर्ने तर क्वान्टिटी मात्रै हेर्ने बुढानिलकण्ठ प्रभुले उनिहरुको हार्दिकता पुर्वक स्वागत गर्नु भो ! अबिर जात्रा भो ! सबै नेता भए !! बिपिको सपना साकार पार्ने सपथ खुवाईयो ! समाजवाद रटाईयो !! पाँच नम्बर प्रदेश सभा पठाईयो !!! देखिहाल्नु भो – जिम्मेवारीको श्रीगणेश भैसको !!!
पुष्पलालको सपना त निकै अघि नै पूरा भैसकेको हो अब बिपिको सपना साकारको मार्ग प्रसस्त हुँदैछ !!! केन्द्रमा पुष्पलाल प्रदेशमा बिपि !!!समृद्धि त आएकै थियोे समाजवाद पनि आएरै छोड्ने भो !!