भद्रपुर : डाक्टर तथा नर्स उपचार केन्द्रमा नआउँदा मंगलबार दिउँसो भद्रपुर नगरपालिका-५ मेची किनार बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मीसिंह राजपूत (नुनिया)ले अकालै ज्यान गुमाएका छन। तीन दिनअघि कोरोना लागेका उनलाई उपचारका लागि मेचीको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो।
श्वासप्रश्वास, रक्तचाप तथा सुगर रोगले ग्रसित संक्रमित राजपुत दिउँसो ३ बजेसम्म ठिकै थिए। त्यसपछि उनलाई सास लिन समस्या भएपछि अक्सिजन चाहियो भन्दै छटपटाइरहेको उपचार केन्द्रमै रहेका संक्रमितहरु बताउँछन्। कोरोना भाइरस संक्रमण लागेका व्यक्तिको उपचारका लागि स्थानीय तह, प्रदेश हुँदै संघीय सरकारसम्मले उपचार केन्द्र तथा आइसोलेसन सञ्चालनमा ल्याएको छ। संक्रमित व्यक्तिलाई घर नजिकैको उपचार केन्द्र तथा आइसोलेसनमा राखेर उपचार गराउन तीनै तहको सरकारले ठूलो रकम खर्चिदैछ।
सरकारले सङ्क्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई समेत ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ। तर, पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या देशभर ह्वातै बढेसँगै उपचार केन्द्र र आइसोलेसनमा उपचाररत सङ्क्रमितको अवस्था बेहाल बनेको छ। मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालनमा ल्याएको कोभिड–१९ उपचार केन्द्रमा एक सातादेखि कुनै डाक्टर र नर्स सङ्क्रमितको उपचारमा नखटिएका त्यहाँका सङ्क्रमितहरूले आक्रोश पोख्दै थाहाखबरलाई जानकारी दिए।
सरकारले दिने ७५ प्रतिशत भत्ता डाक्टर र नर्सले त्यत्तिकै पचाउन लागेको भन्दै संक्रमित कृष्ण खतिवडाले आक्रोश पोखेका छन्। डाक्टर तथा नर्स कोही नहुँदा एक जना कैदी सङ्क्रमितले उनलाई अक्सिजन लगाएका थिए। तर, उनको समयमा डाक्टरले उपचार नगर्दा अकालमै ज्यान गुमाउनुपरेको एक जना सङ्क्रमितले बताए। ‘म बसेको सात दिन बितिसक्यो,’ जीवन त्रिखत्री सङ्क्रमितले भने, ‘अहिलेसम्म उपचार केन्द्रमा स्वास्थ्यकर्मीको अनुहार पनि देख्न पाएका छैनौं।
सरसफाइका कर्मचारी आउने खाजा र खाना दिने अनि फर्किन्छन्। बेड र उपचार केन्द्रको सरसफाइ संक्रमित स्वयं आफैंले गर्नुपर्छ।’ ‘उपचार केन्द्रमै डाक्टर तथा नर्स नआउँदा यहाँ बस्ने सङ्क्रमितको अवस्था बेहाल छ,’ अर्का संक्रमित पङ्कज उप्रेतीले भने, ‘स्वास्थ्यकर्मी उपचार गराउन नआउने हो भने हामीलाई यहाँ किन राखिएको हो, अकालमै ज्यान गुमाउनलाई?’ ७५ जना क्षमता भएको उपचार केन्द्रमा अहिले ३५ जना संक्रमित उपचाररत रहेको मेची प्रादेशिक अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए।
यता अस्पतालका मेसु डा पीताम्बर ठाकुरका अनुसार आवश्यकता अनुसार सङ्क्रमितको उपचारमा डाक्टर र नर्स खटिने गरेका बताए। अन्य समयमा भिडियो कन्फ्रेन्स, सिसी क्यामेराको सहयोगमा सङ्क्रमितको उपचारलाई सहज बनाउने काम चिकित्सकले गर्दै आइरहेको उनले बताए।
दीर्घरोगी र जटिल बिरामी भएका सङ्क्रमितलाई पनि यहाँ राखेर उपचार गराउँदा समस्या भएको बताउँदै उनले भने, ‘मेचीमा सङ्क्रमितको लागि आइसियु र भेन्टिलेटर छ्टटै व्यवस्था छैन। त्यसका लागि अस्पताल प्रशासनलाई समस्या भइरहेको छ। जटिल बिरामी भएका सङ्क्रमितलाई धरान वा विराटनगर पठाउनुपर्ने हाम्रो बाध्यता छ।’
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार