कमला भट्टराई , झापा। देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारी गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज एक प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको विधिवत औपचारिक घोषणा गरेको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विकेक” (डा. मनोज कुमार झा) द्वारा हस्ताक्षरित उक्त वक्तव्यमा हालको गणतान्त्रिक ब्यवस्थालाई “कोरोनाको समगोत्री विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्र” को सँज्ञा दिईएको छ भने यो ब्यवस्था, ब्यवस्थापक र संविधानको अवसान नभएसम्म आन्दोल जारी रहने बताइएको छ । साथै आज जारी गरिएको प्रेस वक्तव्यमा आन्दोलनको औपचारिक विधिवत घोषणा गरिनुको साथसाथै आन्दोलनका विविध कार्यक्रम पनि घोषणा गरिएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ कि, बि.सं. २०४६/०४७ को तथाकथित परिवर्तन सँगसँगै आयातित बैदेशिक हस्तक्षेप, भ्रष्टाचार, राज्य–आतंक, कु–संस्कार, अनियमितता लगायतका बेथिति र अराजकतालाई निरन्तरता र संस्थागत गर्ने दुरगामी वैदेशिक षडयन्त्र कै तहत “१२ बुंदे दिल्ली सम्झौता र तथाकथित बृहत शान्ति सम्झौता” कै जगमा लादिएको तथाकथित “धर्म–निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२” जसको वास्तविकता “कोरोना कै समगोत्री विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्र” हो भन्ने परिस्थितिको ठम्याई रहेको सर्वविदित नै छ ।
देशमा विध्यमान सबैखाले लूट–खशोट, अराजकता, आतंक, बेथिति र अराजकता एवं बाहिरी आक्रमण तथा अतिक्रमणबाट देशलाई जोगाउन र राष्ट्रिय स्वाधिनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, इतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्धन गर्न “राज–संस्था सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुन:स्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि जन-भावनाको उच्च सम्मान गर्दै देश, काल (समय) र परिस्थितिको उच्च मुल्यांकन एवं माग अनुसार “राष्ट्रिय नागरिक आन्दोलन २०७७” को उदघोष गरेका छौं ।
बर्तमानको व्यवस्था, व्यवस्थापकीय पद्धति, संविधान र राजकीय संरचनालाई पशुपति आर्यघाटमा विसर्जन नगरे हाम्रो मातृभूमि नेपाल नै नरहने, खण्डित हुने, गृहयुद्ध, धार्मिक–युद्ध, जातिय–युद्धको लपेट र चपेटमा हामी फस्दै हामी र हाम्रो अवशेष समेत नष्ट हुने निश्चित देखिएको छ । त्यसकारण जातिगत, दलगत, व्यक्तिगत, समुहगत, क्षेत्रगत स्वार्थ बाट माथि उठ्दै विभिन्न वाद र सिद्धान्तलाई कुनामा राख्दै देशका लागि एकजुट हुन् सम्पूर्ण राष्ट्रवादी देश–भक्त आम मुक्ति कामि जान–समुदाय, नागरिक समाज, अभियानकर्मी, पेशाकर्मी, संचारकर्मी सबैलाई “राष्ट्र बचाउ अभियान” मा सक्रिय योगदान दिदै राष्ट्रिय झन्डा र ॐ को झण्डा मुनि गोलबन्द हुँदै “राष्ट्रिय नागरिक आन्दोलन २०७७” लाई सफल बनाउन सार्वजनिक अपील गर्दछौं, “अब देश जोगाउने अभिभारा आम नेपालीको काँधमा” ।
अन्तर संगठन निर्देशन एवं संघर्षका कार्यक्रम :- १) मिति २०७७ मङ्सिर १० गते बुधवार देखि मङ्सिर ३० गते मंगलवारसम्म क) आ-आफनो घर,नगर, गाउँ, टोल, चौक, सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा र ओम को झण्डा फहराउने र अन्यलाई प्रोत्साहन गर्नुको साथसाथै झण्डा वितरण गर्ने । ख) आ-आफनो गाउँ, टोल, नगर, चौक, सार्वजनिक स्थानमा “राष्ट्र बचाउ अभियान” को ब्यानर झुन्ड्याउने । ग) केन्द्रिय सचिवालय द्वारा घोषित नाराहरु आ-आफनो नगर, गाउँ, टोल, चौक, सार्वजनिक स्थानमा भित्ते-लेखन गर्ने-गराउने । घ) संगठन विस्तार र निर्माणको कार्यलाई व्यापकता दिने । ङ) व्यवस्था र व्यवस्थापकको भण्डाफोर अभियानलाई निरन्तरता दिने । च) वाड, गाउँपालिका, नगरपालिका र जिल्ला स्तरमा बिभिन्न अभियान, सामाजिक संस्था, नागरिक समाज, नागरिक अगुवा, संजाल, क्लवहरु, प्रबुद्ध व्यक्तिहरु, बुद्धिजिवीहरु, पेशाकर्मीहरु, राजानिक दलका नेता-कार्यकर्ताहरु सित ब्यापक अन्तरक्रिया गर्ने र राष्ट्र बचाउ अभियानमा सहभागिता गराउने । छ) मिति २०७७ मङ्सिर २० गते शनिवार र मिति २०७७ मङ्सिर २७ गते शनिवार दिनको ११:०० देखि २:०० सम्म आ-आफनो नगर, गाउँ, टोल, चौक, सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा र ओम को झण्डाका साथ नारा, जुलुश, परिक्रमा, कोणसभा, जनसभा लगायतका विविध कार्यक्रम गर्ने गराउने । ज) स्थानीय कमिटीहरुले आ-आफनो स्व-विवेक प्रयोग गर्दै परिस्थिति एवं अनुकुलतालाई केन्द्रमा राख्दै संघर्षका थप कार्यक्रमहरु घोषणा गर्ने र त्यहि अनुसार अगाडी बढाउने । झ) आ-आफनो सम्पूर्ण गतिविधिहरुको पूर्ण विवरण दैनिक रुपमा केन्द्रिय सचिवालयमा पठाउने । २) आधिकारिक नाराहरु :- क) देशै भरि हल्ला छ, राजा ल्याउने सल्लाह छ !! ख) लूटतन्त्रको एकमात्र विकल्प जनतन्त्र जनतन्त्र जनतन्त्र !! ग) राजा ल्याउ देश बचाउ !! घ) यो संघियता होईन भ्रष्टाचारको बिकेन्द्रिकृत स्वरुप हो !! ङ) यो गणतन्त्र होईन गन्हाउनेतन्त्र हो – ३ !! च) कोरोनाको समगोत्री धर्म-निरपेक्षता खारेज गर खारेज गर खारेज गर !! छ) धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर घोषणा गर घोषणा गर !! ज) देश-बेचुवा गणतन्त्र मुर्दावाद मुर्दावाद मुर्दावाद !!! झ) देश-बेचुवा दलाल भ्रष्टाचारी बलात्कारीलाई फासी दे फासी दे !! ञ) राष्ट्र बचाउ अभियान जिन्दावाद – ३ !! त) जनतान्त्रिक तराई मुक्ति मोर्चा जिन्दावाद – ३ !! थ) जनतन्त्र जिन्दावाद – ३ !! द) मुक्ति पथ जिन्दावाद – ३ !! जय क्रान्ति !! जय जनता !! जय जनतन्त्र !! जारी मिति :- २०७७/०८/१० गते बुधबार