शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी  नेकपा को सचिवालय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेस गरेका छन् । उनले आफ्नो जवाफ पढेर सुनाएका थिए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि अध्ययन गरेर मंसिर १६ गते पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिए । ओलीको प्रस्ताव पार्टीलाई व्यवस्थित गर्ने विषयमा केन्द्रित रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेस गरेक हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए ।

यसअघि यही ३ मंसिरको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए । सोही बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोप खारेज गर्नुपर्ने समेत बताएका थिए ।

पछिल्ला समय नेकपामा मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडपका विषयलाई लिएर विवाद भइरहेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे पनि नेकपामा विवाद उत्पन्न हुँदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार