ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा
ज्ञान मणि भुर्तेल – बिर्तामोड ,झापा
राजा आउ ! देश बचाउ !!
हाम्राे राजा हाम्रो देश ! प्राण भन्दा प्यारो छ !!
दमक चियाबारी छेउ पुग्दा चिच्याउदै गरेको भाङ्रे भिड देखा पर्यो ! ताज्जुव लाग्यो – हुँदै नभएको राजा कता बाट आउनु ? अनि आफ्नो प्राण भन्दा प्यारो अरु केही हुन सक्ला ? अरु कोहि हुन सक्ला ? मिस्टर चिच्याहट लाई सोधेँ – के हो सर ? के को नारा जुलुस ? कस्तो भिड ?
लौ ! थाहा छैन ? महाराज सवारी भाको छ !
कुरो पुर्व राजाको रैछ ! भेट्ने ईच्छा जाग्यो ! गेटमा पालेले रोक्यो ! पत्रकार भएको अनुनय बिनय पछि भित्र बाट बोलावट भो !
ओहो ! बडेमान सोफामा बिराजमान महाराज ! मेरो नमस्कार अर्पण पछि सोधनी बक्स भो – कताको पत्रकार पर्यौ ? कुन पत्रीका हो ?
हजुर ! झापा भद्रपुर ! आलोक साप्ताहिक !!
आलोक त बन्द भैसक्या हैन र ? अनि के को पत्रकार ? भुतपुर्व पो रैछौ त ! कार बिनाको पत्र मात्र ! तिमी लाई त पत्र भन्नू पर्ने रैछ ! हुन्छ ? व्यंग्यात्मक मुस्कान बक्स भो महाराज बाट !!
महाराजको मुस्कान पछि मलाई पनि आट आयो – तपाईं पनि त भुतपुर्व हो नि ! कार बिनाको सर मात्र ! म पनि सर भनौं त ? यस पटक मुस्कान अलि लामो भो महाराजको !
ईन्ट्रेस्टिङ्ग पर्सन ! नाम के हो नि ?
हजुर ! ज्ञानमणि भुर्तेल !
महाराजले हात कानको छेउ पुर्याएर पुनः सोध्नु भो – भुजेल ?
हैन ! भुर्तेल !! मैले अलि चर्को स्वरमा स्पष्टीकरण दिएँ !
एकै रासिका पो परिएछ त ! ड्रीन्क लिन्छौ ? आफुले चुस्क्याउदै गरेको ग्लास तिर ईसारा गर्नु भो !
मैले घुटुक्क थुक निल्दै ” नाई ” मा टाउको हल्लाएँ !
किच्चक सग बसेर खान हुने ! म सग नहुने ? धेर नाटक नगर मिस्टर पत्र ! महाराजको हुकुम पछि ग्लास हाजिर भो !
चियर्स ! ग्लास ठोक्काईयो ! माहोल तात्दै गयो ! बार्ता सुरु भो !
सन्चै हुनुहुन्छ ? प्रश्न सुरु भो !
तिमी डाक्टर हो र ? सन्चो बिसन्चो सोध्ने ? धमलाको जस्तो ताल नदेखाउ न ! पत्रकार जस्तो कुरा गर ! महाराज ” ठिक ठिक ” भैसकेको आभाष भो !
ok. sorry . दिनचर्या कसरी बित्दैछ त सर ? जनताले त बोलाउदैछन ! बाहिर नारा जुलुस छ !
ती मेरा जनता हैनन ! तिम्रै गणेशमानका जनता हुन ! केही बर्ष अधि ” ज्ञाने चोर देश छोड ” भन्ने यिनै हैनन ? मैले छोड्दिएँ त ! अब किन आउनु ? म त मस्त छु ! यी देखेनौ ? महाराजको ईसारा बोतल तिर थियोे !! बाई द वे ! आएँ भने पनी बर्ष दिन नपुग्दै फेरि चिच्याउन थाल्छन – ज्ञाने चोर देश छोड ! ननसेन्स पिपुल ! ग्लास स्वाट्ट पार्नु भो र टेबलमा बजार्नु भो !!
अनि ! यो जन लहर ! नारा जुलुस – राजा आउ देश बचाउ !! सिमरा जानू हुन्छ उस्तै भिड ! दमक आउनु हुन्छ त्यस्तै भिड ! मठ मन्दिर जताततै हाम्रो राजा हाम्रो देश ! प्राण भन्दा प्यारो छ !! यो के त ? सरको धारणा के छ यस बारेमा ? जनता जान्न चाहन्छन !
हेर पत्र ! सिमरा जान्छु चुरोट बेच्न ! दमक आउँछु चिया बेच्न !! यु नो सुर्या टोबाको ? हिमालय टि गार्डेन ? म मेरो बिजिनेस प्रमोसनका लागि हिंड्दा मेरो पछि भिड लाग्छ त मैले के गर्नु ? आइ डोन्ट केयर देम ! महाराज पुरै सुरमा पुग्नु भो सत्य ओकल्न थाल्नु भो !!
अनि सर ! सजिलै उकालो लाग्नु भो नि त ? दरवार छोडेर !
महाराज भावुक हुनु भो ! एकछिन टोलाउनु भो ! एक चुस्की लिनु भो ! लामो श्वास पछि बोल्नु भो – धोका भो म माथी ! गिरिजाको प्रकोपमा परे म ! त्यसमाथि उसको दुत महा छट्टु रैछ फसायो मलाई !
लौ ! तपाईं जस्तो कुशल ब्यापारी लाई पनि फसाउने कस्तो छट्टु हौ ?
तिम्रै पुर्व तिरैको त हो नि ! अलिक दिन माथी गएर बस्दै गर्नु पछि बोलाउँला भन्थ्यो! आफ्नै बारिको भन्दै एक भारी रक्तचन्दन समेत ल्याईदेकोथ्यो गिफ्ट !! फर्केर आएन ! के को आफ्नो बारिको हुनु ? पारिको पो रैछ !!
आफ्नै बारिकै होला नि सर ! उहाँको ससुराली नै पारी भएपछि बारि नहुने कुरै भएन नि ! उहाँको धेरै कुरो उतै छ !!
महाराज पुरै मुड्मा पुग्नु भो ! म पनि ठिक ठिक !!
अनि सर ! कोरोनालाई दान गर्दा निकै सोधखोज पो गरे त ! स्रोत खोजे है ?
हो त ! हिजो भुक्के चप्पल लाएर काठमाडौ छिरेका चाउरेले म सग स्रोत खोज्ने ? ईडियट !! महाराज आक्रोशित हुनु भो !
अनि स्रोत चै के हो त ? बताउन मिल्ला सर ? जनता फेरि जान्न चाहन्छन !
व्हाई नट ! बट अफ द रेकर्ड है त ! महाराजले स्रोत बताउन थाल्नु भो – लिसन मिस्टर पत्र – मेरो पिताजी राजा हुँदै देखिको ब्यापारी म ! चिया चुरोट लगायत धेरै ब्यापार छ मेरो ! मेरो पिताजी पनि धेरै चलाख ! मेरो कान छेउ मुख ल्याएर साउती स्वरमा रहस्य खोल्नु भो – नारायणहिटि नै दुई पटक बेचिदिनु भो सरकारलाई ! दाजु युवराज हुँदा मेची पुलको कलेक्सन २८ लाख समेत हाम्रै पकेटमा ! त्यस बेलाको कथा दिब्य र याम लाई सोध्नु नि ! साच्चि !! अहिले कता छ्न कुन्नी ? सन्चै छन ?
दिब्य काका भद्रपुर नै हुनुहुन्छ रिटायर्ड लाईफ ! सन्चै हुनुहुन्छ !! याम दाई धुलाबारी अलि बिरामी हुनुहुन्छ !!
महाराज केही बेर टोलाउनु भो ! सायद त्यसबेला भद्रपुरे युवा माथी गरेको अत्याचारको मौन प्रायस्चित पो थियोे कि ? केही बेर पछि पुनः बोल्न थाल्नु भो – त्यसमाथि म धार्मिक प्रबृत्तिको मान्छे ! भगवान प्रती अगाध श्रद्धा भक्ती छ ! उसबेला धेरै भगवानलाई मैले बिदेश यात्रा समेत गराएको छु ! त्यसैको प्रतिफल हुनसक्छ कुनै आर्थिक अभाव छैन ! अहिले चिया चुरोटको ब्यापार पनि राम्रै छ ! कुनै टेन्सन छैन ! केटोले चै घरीघरी टेन्सन दिन्छ ! अहिले पोखरा तिर हल्लिदैछ क्यारे ! नत्र त सबै ठिक ठाक छ !!
अनि ! तिम्रो चै के छ नि ? मेरो पिठ्युँमा प्याट्ट पार्दै सोध्नु भो – कति ढिलो लिएको ? ग्लास उठाएर मेरो मुखैमा लाईदिनु भो !
महाराज फुल फिटान भैसक्नु भकोथ्यो ! मैले मौका छोपें – अब मुल कुरो सोधौ है सर ?
महाराजले स्वीकृति दिनु भो !! जनताले बोलाउदैछ्न – राजा आउ भनेर ! साच्चै भन्नुस त ! तपाईं आउने कि नआउने ? अब त उखान अन्कलले झन सजिलो पार्दिए जस्तो छ तपाईलाई ! संसद पनि पोलि खाए !! तपाईं आए सुख पाईन्छ रे नि त !
हेर मिस्टर पत्र ! म आफ्नो खुशीले राजा भएको हैन ! समयले बनाएको हो ! मधेस आन्दोलनले करिमा बेगम लाई मन्त्री बनाए जस्तै ! पहिलोपटक मावलिमा छुटेर दोस्रोपटक पोखरामा छुटेर ! तर कोहि आएपनी यी गणेशमानका भेडा नसुध्रे सम्म केही हुनेवाला छैन ! एउटाको रिसले अर्को समातेर सुख पाईन्छ भन्ने सोच्नु ठुलो भ्रम हो ! ईतिहास साक्षि छ – तिम्रा कुप्रा हजुरबा मेरा कुप्रा हजुरबा सग गोरखामा सगै कुदेका हैनन ? मुलुक एकीकरण गर्न ! एकीकरण भो !
मेरा हजुरबा सग तिम्रा हजुरबा कुदे राणा फाल्न ! राणा फालिए !! तिम्रा काका बाउ हरु मेरा बाउ सग जोरि खोज्दै पन्चायत फाल्न लागे ! तिमी समेत लाग्यौ ! पन्चायत फालियो !! पछि मलाई समेत खेदन लाग्यौ म पनि खेदिएँ ! सुख पायौ त ? अब फेरि मलाई ल्याएर के लछारपाटो लाउछौ ? आफ्नै छोरो समाल्न सकेको छैन कता मुलुक समाल्नु ? आफ्नै छोरालाई सुख दिन सक्या छैन कता अरुलाई सुख दिनु तिमिहरुलाई ?
महाराजले ग्याम्बे गर्नु भो र सोफामै ढल्नु भो ! मैले घच्घच्याएर सोधेँ – तपाईं आउने कि नआउने त ?
निन्द्रा मिश्रीत स्वरमा महाराज बर्बराउनु भो – जनताले चाहेमा …………
महाराज घुर्न थाल्नु भो ! म पनि बाङ्गा खुट्टा लाउदै बाटो लागें ! बाहिर भाङ्रे भिड चिच्याउदै थियोे – राजा आउ ! देश बचाउ !!!!
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार