काठमाडौँ, ९ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो ।
पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद–पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका विषयमा पार्टी अध्यक्षद्वयबाट शुक्रबार नै पत्रकारसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । बैठकले पुस ११ गते प्रदेश कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम र सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरी पुस १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिनेछ । “उक्त कार्यकर्ता भेलामा एकीकृत पार्टीलाई कसरी सशक्तरुपमा अगाडि बढाउने, पार्टी एकताविरुद्ध भएका षड्यन्त्र र भ्रमलाई कसरी चिर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध कसरी सङ्घर्ष अगाडि बढाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिनेछ”, उहाँले भन्नुभयो ।
राजधानीका साथै सबै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध पुस १४ गते विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गर्ने तथा पुस २० गतेसम्म सबै गाउँपालिका र नगरपालिका र पुस २५ गतेसम्म वडास्तरमा पार्टी बैठक र भेला आयोजना गरिने निर्णय भएको जनाइएको छ । सबै जनवर्गीय तथा मोर्चा सङ्गठनको केन्द्रीय बैठक र आवश्यकताअनुसार भेला पुस १४ गतेसम्म आयोजना गरिने बताइएको छ । बैठकले विरोध कार्यक्रमलाई स्थानीयरुपमा पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्घर्षको कार्यक्रमलाई व्यवस्थित ढङ्गले परिचालन गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा दुुई हजार ५०१ सदस्यीय केन्द्रीय सङ्घर्ष समितिको गठन गरिएको छ । पहिलो चरणको सङ्घर्षको कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रुपमा उच्चस्तरको कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बैठकले सम्बन्धित प्रदेशसँग सम्बन्धित स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाधिकारीलाई तत्कालै पार्टी र सङ्घर्षको कार्यक्रममा जुट्न आआफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।
पार्टीलाई नमूना बनाउँछौँ ः अध्यक्ष नेपाल
बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । “कम्युनिष्ट पार्टी क्रान्तिकारी उद्देश्यप्रति समर्पित हुँदै विधि, पद्धतिअनुसार चल्छ भन्ने विषयलाई नमूनायोग्य ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ”, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुुभयो ।
अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदमका रुपमा अथ्र्याउनुुभएको श्रेष्ठले जानकारी दिनुुभयो । अध्यक्ष दाहालले ऐतिहासिक परिवर्तन, संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल बनाएर समाजवादको दिशातर्फ अगाडि बढाउन थप सङ्घर्ष गर्न तयार हुनुुपर्नेमा जोड दिनुुभएको थियो ।
पार्टी एकता विरोधी षड्यन्त्रलाई सफल हुन नदिने, एकतालाई सुदृढ गर्ने, विघटन भइसकेका पूर्वपार्टी ब्युँताउने षड्यन्त्रलाई असफल पारेर नेकपालाई एकीकृत, क्रान्तिकारी र सशक्त पार्टीका रुपमा विकास गर्न ऊर्जाशील भएर काम गर्न सबै नेताकार्यकर्तालाई उहाँले निर्देशन दिनुुभएको थियो ।
महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई
बैठकपछि प्रवक्ता श्रेष्ठले छिट्टै पार्टी महासचिवको टुुङ्गो लाग्ने बताउनुुभयो । बैठकले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको जनाइएको छ ।
महासचिव चयनका विषयमा बाहिर सार्वजनिक भएजस्तो कुनै विवाद नरहेको जिकिर गर्दै उहाँले भन्नुुभयो, “हाम्रो पार्टीमा अहिले त्यसप्रकारको विवादसहितको दाबी आएको छैन । विवादका कारण महासचिव चयनमा ढिला भएको सत्य होइन ।” स्थायी कमिटीको सर्वसम्मतिबाट महासचिव चयन गरिने उहाँले बताउनुुभयो । (रासस)