न्यूज व्यूरो- चन्द्रगढी। नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षमा टीकाप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएका उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेपछि हटेपछि ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।
मंगलबार झापाको बिर्तामोडमा भएको तेस्रो साधारणसभाले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी श्यामले जानकारी दिए । नयाँ कार्यकारिणी समितिको उपाध्यक्षमा भीमबहादुर पौडेल र राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।
पौडेल जिल्ला नगर तर्फ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुँदा राउत एसोसिएट तर्फबाट निर्विरोध भएका हुन् । यस अघि पनि उपाध्यक्ष रहेका राउत उद्योग वाणिज्य महासङ्घकाे केन्द्रीय सदस्य पनि हुन् । कोषाध्यक्षमा रमेशकुमार राठी पनि निर्विरोध निर्वाचित भएका छन् । जिल्ला नगरसदस्य तर्फ युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटवला, विरेन्द्रकुमार साह र प्रितम खड्गी निर्विरोध निर्वाचित भएका छन् ।
एसोसिएट सदस्य तर्फ सुवास आचार्य र राजन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । बस्तुगत तर्फ रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाल पनि निर्विरोध भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशमा जिल्ला नगर तर्फ पाँचजना, एशोसिएट र बस्तुगत तर्फबाट २–२ जना सदस्य रहने प्रावधान छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ मा २ सय २९ सदस्य छन् । जसमा एशोसिएट सदस्य १ सय ८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य सङ्घका ३६ गरेर जम्मा २ सय २९ सदस्य छन् ।-कमला भट्टराई