हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। विराटनगरमा लागूऔषध खैरो हिरोइनसहित झापाका व्यापारी पक्राउ परेका छन् ।लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित झापाको गौरादह नगरपालिका–८ स्थायी ठेगाना भएका व्यापारी ३६ वर्षीय किसन अग्रवाल पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनको साथबाट मे १ च ५८६२ नम्बरको सेतो कार पनि बरामद भएको छ । उनी पक्राउ पर्नु एक घण्टाअघि नेपाल–भारत सीमा क्षेत्र पुगेका थिए । नेपालतिरै कार पार्किङ गरेर भारतको जोगवनी बजारतिर लागेका उनी फर्कदा भने लागुऔषध ब्राउन सुगर लिएर आउँदै गर्दा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार व्यापारी अग्रवालका साथबाट तीन ग्राम एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । ज्याकेटको गोजीभित्र प्याक गरेर राखेको अवस्थामा फेला परेको थियो ।
जोगवनीबाट फर्किएपछि पार्किङ गरेर राखेको कारमा चढेर उनी उत्तर विराटनगर बजारतर्फ आउँदै थिए । बीचैमा रोकेर चेकजाँच गर्दा कारमा हिँडिरहेका व्यापारीको साथबाट लागुऔषध फेला परेको थियो । ‘धनाड्य व्यापारी विराटनगरको बाटो हुँदै लागुऔषध खरिद गर्ने योजना बनाएर कारमा झापाबाट हिँडेको सूचना थियो,’ प्रहरी स्रोतले भन्यो , ‘ अनुसन्धान गर्दा लागूऔषध भेटियो ।’
अग्रवाल यसअघि पनि भारतको पूर्णियामा लागुऔषधसहित पक्राउ परेका थिए । पाँच वर्षअघि पक्राउ परेका उनी तीन महिनासम्म प्रहरी हिरासतमा बसेका थिए । हिरासतमा परे पनि उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा भारतीय प्रहरीले चलाएको थिएन ।-देशबन्धु कौशिक