ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा
– ज्ञान मणि भुर्तेल 
ढोकामा उभिएको पाले जोड्ले चिच्यायो – नेपाली काङ्ग्रेस !!!!!!
देउवा जुरुक्क उठ्नुभो र कमजोर काङ्ग्रेसलाई हतेर्दै भित्र पस्नुभो !
यता बस्नुस बाजे ! नजिकैको टुल देखाउदै डाक्टरले सोध्नु भो – के भएको हो ? समस्या के छ ? निकै कमजोर देखिनु हुन्छ त ?
खै के हो ? के हो ? दिनदिनै सुक्दै जानू भको छ ! हिंड्डुल गर्न समेत कठिन छ ! अर्काको सहारा चाहिन्छ !
पहिले कुन डाक्टर देखाउनु हुन्थ्यो ? औषधि के खाने गरेको थियो ? देउवाले झोला बाट झिकेर पुराना रिपोर्ट देखाउनु भो ! सबै रिपोर्ट हेरिसकेपछी डाक्टर फेरि बोल्नु भो – यो त बिपि हुन्जेल सम्मको रिपोर्ट रैछ ! त्यसपछिको खै त ? बिपि हुन्जेल सम्म त राम्रै रैछ त !
त्यसपछि त कुनै डाक्टर देखाएकै छैन ! आफू पनि ब्यापार ब्यबसायमा ब्यस्त भैयो ! खासै ध्यान नै दिईएन !! देउवाले स्पष्टीकरण दिनु भो !
बाजे यता सुत्नुस त ! डाक्टरले बा लाई बेडमा सुताउनु भो ! छातिमा आला लाएर लामो सास फेर्न लाउनु भो ! मुख च्यातेर टर्च लाईट बालेर जिब्रो हेर्नू भो ! हात खुट्टा तन्काउनु भो र देउवा तिर हेर्दै बोल्नु भो – एक पटक होलबडी चेकअप गरौं अनि मात्र केही भन्न सकिन्छ ! अहिलेलाई यी टेष्ट हरु गरौं ! लामो लिस्ट थमाउदै पुनः बोल्नु भो – दुई नम्बर कोठामा गएर यी टेष्ट गराउनुस !!
बा लाई लिएर देउवा दुई नम्बर कोठामा पस्नु भो ! पैताला देखि टाउको सम्म सबै टेष्ट भए ! भोलि दुई बजेपछि रिपोर्ट लिन आउनु होला भन्ने ल्याबटेक्निसियनको आदेश पछि टाउको हल्लाउँदै देउवा निस्किनु भो !
भोलिपल्ट सबै रिपोर्ट हेरेपछी डाक्टर गम्भीर देखिनु भो ! देउवाले सुस्तरी सोध्नु भो – के भको हो डाक्टर साब ? कस्तो छ स्थिति ?
हालत खराब ! गलत खानपिनको असर ! सारिरिक भन्दा पनि मानसिक असरले गलाएको छ बाजे लाई ! एक्स रे प्लेटमा सानो लठ्ठी नचाउदै डाक्टरले बताउनु भो – फोक्सो पुरै कालो छ ! लगभग ड्यामेज ! रगतमा पानीको मात्रा बढेको देखिन्छ ! दिमागमा समेत गहिरो चोट छ !
खानपिनमा त ध्यान पुर्याएकै हो डाक्टर साब ! स्याहारसुसार पनि गरेकैछ ! त्यसो त नहुनुपर्ने …….. शेर बहादुरले जित बहादुर बन्ने प्रयत्न गर्नु भो !
नहुनुपर्ने हैन ! भैसक्या छ ! तपाईं आफैं जान्ने भए म कहाँ किन ल्याउनु भको त ?तपाईं डाक्टर कि म डाक्टर ?
देउवाले घोसे मुन्टो लाउनु भो ! केही बोल्नु भएन ! यी हेर्नुस त ! फोक्सो पुरै तुवाँलो ले ढाकेको पहाड जस्तो देखिन्छ ! क्याल्सियमको कमिले हड्डी गलेर पाटाखाडिको सन्ठी जस्तो भैसक्या छ ! तपाईंहरुका गलत क्रियाकलापले गर्दा सारिरिक भन्दा पनि मानसिक असरले फुक्दै जानुपर्ने ज्यान सुक्दै गएको देखिन्छ ! यी हेर्नुस त – टाउकोमा भएको दाग देखाउदै डाक्टरले अगाडि बताउनु भो – बिपिको स्याहार पुगुन्जेल स्वस्थ रहेका बा लाई पन्चायत लडाउने हतारमा ०४६ सालमा बिषादियुक्त बाम साग मिसाएर ख्वाएपछी बुढा खस्किदै गएको देखिन्छ ! यी हेर्नुस यो कालो दाग त्यै हो ! किशुन जि को रेखदेख सम्म पनि बा ठिक ठिकै रैछन ! गिरिजाप्रसादको हात परेपछि खस्किन थालेको ज्यान गणेशमान जि र किशुन जि ले बिरक्तिएर बा लाई छोडेपछि दिमागमा परेको चोटको नराम्रो असर छ ! झन तपाईंको हात परेपछि त बा चिलिम चौतारी !! एक पटक बा को टाउको फोरेर बेग्लै डेरा समेत लिएर बस्नु भएको रैछ ! हैन त ? बल्लतल्ल पाएको प्रजातन्त्र राजालाई बुझाउन पुग्नु भएछ ! टाउकोको अर्को कालो डल्लो देखाउनु भो डाक्टरले ! बा लाई ख्वाउनु पर्ने खान्की सत्रुलाई ख्वाउन पुगेपछि बा नगलेर को गल्छ त ? चितवनमा के गरेको त्यस्तो ? जीवनमा कहिल्यै आफ्नो नहुने नकच्चरो बाबुराम स्याहार्ने कि आफ्नो बा स्याहार्ने ? देख्नु भो त ? तपाईंकै बा लाई म्युजियममा राख्नुपर्छ भन्दै हिंड्छ !!
अब बा लाई तङ्र्याउन के गर्नुपला त डाक्टर साब ? कुन औषधि ख्वाउनु पर्ला ?
बा ले खाने हैन ! बा लाई ख्वाउने हैन !! औषधिको आबस्यकता तपाईंलाई छ ! बा तन्दुरुस्त हुनुहुन्छ !! मात्र मानसिक शान्ती चाहिन्छ उहाँ लाई !!
मैले के औषधि खाने त डाक्टर साब ? मलिन स्वरमा देउवा बोलेपछी डाक्टरले औषधि बताउन थाल्नु भो – तपाईंको रगतमा सदाचार सकिएर भ्रष्टाचार बढेको देखिन्छ ! यसका लागि एन्टि भ्रष्टाचार टोनिक लेखिदिएको छु सदाचार टोनिक !! यसलाई नटुटाई दैनिक खानुस ! दिमागमा भाईचाराको स्थान भाईमाराले ओगटेको छ ! आफ्ना जति निकालेर सत्रुलाई भित्र्याएर जुत्तै सग भान्सामै पसाएको असर हो यो ! यसका लागि भाईचारा सिरफ चिसोपानी सग दैनिक खाने गर्नुस ! यसले दिमागमा बुद्धि बिकाश हुनुका साथै दिमाग ठण्डा राखेर सहि कुरा सोच्ने तागत प्राप्त हुन्छ ! म नै सर्वेसर्वा हुँ र मैले जे गर्दा नि हुन्छ भन्ने दम्भ मेटाउन दम्भ नासक ट्याब्लेट दिएको छु ! नबिर्सी खानु होला !!
अनि ! बा लाई जीवित राख्ने हो तन्दुरुस्त राख्ने हो भने अहिले तपाईंले खादै गर्नु भएको र खान खोज्दै गर्नु भएको बाम प्याकेट भित्रको मिक्स जुस खान तुरुन्तै बन्द गर्नुपर्छ ! ती प्याकेटमा राम्रा राम्रा उखान लेखिएको भएता पनि खतरनाक छ ! अनेकौं क्रान्तिकारी कुरा लेखिए तापनी भ्रमपुर्ण छ हानिकारक छ !! देउवा ट्वाल्ल परेर हेरि मात्र रहनु भो ! निकैबेरको मौनता पछि बोली फुट्यो – अरु के गर्नु पर्ला डाक्टर साब ?
एउटा अर्को काम गर्नुस ! शहर बजारमा भन्दा गाउँ घरमा बढी उपलब्ध शुद्ध समाजवादी पिठोको लिटो बनाएर बेलुकी सुत्ने बेलामा खानुहोला नत्र यी औषधिको कुनै असर हुन्न !
बा लाई चै केही गर्नु पर्दैन त डाक्टर साब ?
बा लाई मानसिक तनाव बाट मुक्त राख्नुस ! चर्को घाम बाट जोगाउनु होला ! हलो जोत्न पनि नदिनुस ! गाई गोठालो पनि भरसक नबनाउनुस !! रुखको सितल छहारिमा राख्नुस ! यति गर्नु भो भने बा आफैं हिंड्ने मात्र हैन कसैको सहारा बिना नै गुटुटु कुद्न सक्नु हुन्छ !! यी सबै औषधि स्वदेशमै उपलब्ध छन बिदेश दौडिनै पर्दैन ! भारत तिर त झन जाँदै नजानु ! बुझ्नु भो त ?
देउवाले बुझेको भावमा टाउको हल्लाउनु भो ! बा लाई सहारा दिदै अस्पताल बाट बाहिर निस्किनु भो ! हेर्दै जाउँ – डाक्टरको सल्लाह कत्तिको मान्नु हुने हो ?
हुन त उखान नै छ – के जाती को पुच्छर …….
खै के ? खै के ????
– बिर्तामोड ,झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार