हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । पोखराबाट फोटोग्राफीका लागि भन्दै फोटोग्राफरको सामग्री चोरी गरी फरार भएका झापाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सोही स्थानका २० वर्षीय सारांश भट्टराई रहेका छन् ।
अनुपले पोखरा महानगरपालिका–२० मलाम घर भई योर डिजिटल फोटो स्टुडियोका सञ्चालक विमल कार्कीलाई फोनमार्फत विराटनगरमा हाम्रो भब्य फेसन सोमा फोटो खिच्ने कार्यको लागि भन्दै बोलाएका थिए । उनले २४ पुसमा इ–सेवामार्फत चार हजार रुपैयाँ पेश्की पठाएपछि विमल त्यसको भोलिपल्टै पोखराबाट आएर मोरङको बूढीगङ्गा–१ स्थित आरएन होटल एण्ड लजमा बसेका थिए ।
अनुपले होटलको कोठामा फोटोग्राफीसम्बन्धी सम्पूर्ण सामाग्रीहरू राख्न लगाइ खाना खाने बहानामा इटहरीमा रहेको प्राइम होटलमा लगेका थिए । उनले विमललाई त्यही छाडी बूढीगङ्गाको होटलबाट फोटोग्राफीसम्बन्धी सबै सामाग्री चोरी गरी फरार रहेका थिए । उजुरी परेपछि अनुपलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीबार साँझ पक्राउ गरेको हो ।
उनका साथै प्रहरीले अनुपका सहयोगी सारांश भट्टराईलाई पनि पक्राउ गरेको छ । साथै उनीहरूबाट क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६, ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान र लाइट १ थान बरामद गरेको छ ।-कमला भट्टराई