ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा
– ज्ञान मणि भुर्तेल
मने ! म त्यसलाई भित्तामै पुर्याईदिन्छु ! कमरेड जंगलीले दारा किट्दै टेवल ठोक्नु भो !
खुबै पुर्याउनु भो ! पहिले भित्ते राष्ट्रपती हुनु भो ! अहिले भुइँमा ” हामी यता छौं ” मा हुनुहुन्छ ! कमरेड राष्ट्रीय सभाले लोपार्ने भावमा सम्झाउदै थप्नु भो – यसरी एक अर्काको लगौटी तान्न थालियो भने कोहि बाकी रहन्नौ ! आफुलाई त यहि नोट भारी होला जस्तो छ ! आफू सग भएको पाचक नोटको प्याकेट देखाउदै अगाडि बोल्नु भो – एक पटक बार्ताको पहल गरौं ! म दुबै पक्ष बिच बसेर कुरा बुझ्दैछु ! दुबै तर्फ अप्ठ्यारोमा छ ! कमरेड खजान्ची र कमरेड सर्प नाथले मुखामुख गर्नु भो ! केही बोल्नु भएन !! तपाईं हरु एक अर्काको लगौटी खोल्नमै ब्यस्त हुनुहुन्छ ! कतै नाक देखाउने ठाँउ समेत छैन ! हाम्रो बुद्धिजिवि परिषद लाई बिचमा राखेर बार्ता गर्नुपर्छ भन्ने मेरो बुझाई छ !!
जंगली कित्ता पनि त्रसित ! उखान कित्ता पनि त्रसित !! बिचमा दम्भको अजङ्ग पहाड !! कमरेड राष्ट्रीय सभाको भनाई लाई मान्दै बुद्धिजिवि परिषद समक्ष प्रस्ताव पुग्यो ! हुन त नेपालका बामपंथी यसै बुद्धिजिवि ! एक से एक विद्वान !! त्यस मध्ये पनि ठुला बुद्धिजिवि छानेर कमिटी गठन भो !!
बार्ता सुरु भो ! कमरेड जंगली दक्षिण फर्केर बस्नु भो ! कमरेड उखान उत्तर फर्केर बस्नु भो ! एक अर्काको नाक नहेर्ने कसम खाएका एक अर्कालाई चाक फर्काएर बस्नु भो !!
तपाईंलाई त ट्रान्सपरेन्सिले समेत भ्रष्ट भनिसकेकोले हामिले छोड्नुस भनेको त संसद भङ्ग गर्नुस भनेको पो बुझ्नु भएछ ! अझ जोरि खोज्नु भो भने म तपाईंलाई भित्तामा पुर्याईदिन्छु ! कमरेड जंगलीले आक्रोश पोख्नु भो !
त्यो ट्रान्सपरेन्सी हैन ! भ्वाङ्गपरेन्सी हो ! त्यसले भ्रष्ट भन्दैमा म भ्रष्ट हुने हो र ? म भ्रष्ट हैन प्रष्ट हो ! कमरेड उखानले ट्रान्सपरेन्सी लाई ढ्याम्पुलुस गर्दिनु भो !
कसरी प्रष्ट ? वरिपरि सबै भ्रष्ट थुपारेर कोहि प्रष्ट हुन्छ ? अझ आयु हुँदा हुँदैको संसदको हत्या गर्ने तपाईं त हत्यारा हो ! डकर्मिले बनाएको धरहरा मैले बनाएको भन्ने ठग समेत हो !! कमरेड सर्पनाथ बम्किनु भो !
कोहि भ्रष्ट छैनन ! सबै प्रष्ट छन ! निर्दोष छन ! सरकारको लोकप्रियता बाट डराएका हरुले फिजाएको हल्ला मात्र हो ! अझ अहिले त भेट्नु कुहिएका फल समेत थपिएका छन !!
को कति भ्रष्ट छन ? को कति प्रष्ट छन ? मलाई एक एक हिसाबकिताब थाहा छ ! हिसाबकिताब राख्न बच्चै देखि सिपालु हो म ! उहिले बैंकको हिसाब समेत दुरुस्त राख्थे ! कमरेड खजान्चिले आफ्नो विशेषता बर्णन गर्नु भो !
आफ्ना जति सबै प्रष्ट ? अर्काका चै सबै भ्रष्ट ? मेरो महरालाई सौचालय काण्डमा फसाएर त्यो भ्रष्ट गोकुलेलाई काखी च्याप्ने तपाईं साच्चै भ्रष्ट हो ! नालायक हो ! आई एम विथ ट्रान्सपरेन्सी !! कमरेड जंगलीको आक्रोश झन बढ्यो – हिजो सम्मको सुकुम्बासी तपाईंकै भ्रष्ट भर्याङ चढेर आज राष्ट्रको ढिकुटिको चाबी बोक्ने भको छ ! ईश्वर परमेश्वर सबै तपाईंकै कारण असनका साँढे जस्ता भएका छन ! अब अति भो ! सहन कठिन भो ! तपाईं सोफामा ? हामी बोरामा ?हामी पनि सोफामै बस्न पाउनुपर्छ नत्र भित्तामा पुर्याईन्छ !
स्याल लाई काल आए शहर पस्छ भन्थे ! हो रैछ ! कमरेड उखानले उखान छाद्नु भो! कुहिएको फर्सिले म सग जोरि खोज्ने ? तिम्रा पो छोरा थिए ! तीन तीन वटि बुहारी छन ! छोरी छन !! नाति नातिना छन !! आफ्ना त छोरा भनेपनी बुहारी भनेपनी नाति नातिना भनेपनी तिनै हुन ! अनि तिनलाई नच्यापेर कसलाई च्याप्नु त ? उखान कमरेड तपाईं बाट सोझै तिमिमा झर्नु भो !तिमिले ओढेर आएको बोरा हेर त ! कति ठाँउमा भ्वाङ्ग परेका छन ? खोटो बटुल्न हिंडेको केटो सर्प पाल्न खर्च माग्दै आयो ! लौ न त केटो आईगो भनेर खर्च दिएर पठाको अहिले मलाई नै टोक्न आउँछ ! अर्को भ्वाङ्ग ललिता निवास बेचेर देश डुवानमा पार्छ उल्टै केपिले देश डुबायो भन्दै नौका खोज्दै हिंड्छ ! जुन केटालाई माया गर्यो त्यै पो पुक्क लात्तले हान्छ ! कमिलाको प्वाँख पलाएपछी के जाती भने झैं !! अनि तिम्रो चै के ताल हो नि ? कमरेड राष्ट्रीय सभा तिर फर्किनु भो उखान कमरेड – दुईटै कित्तामा बुर्कुसी मार्दैछौ ! कुन कित्ताका हौ ? पाचक नोटको बिटो बोकेर आईसक्रीम खान हिंड्दैछौ भन्ने हल्ला छ ! जाली नोटमा परौला नि होस गर !! कमरेड राष्ट्रीय सभा फिस्स हाँस्नु मात्र भो केही बोल्नु भएन !!
तिमी धम्की दिदै छौ ! तिम्रो धम्कि सग म डराउने वाला छैन ! सोझो छ ! छिटै भावुक हुन्छ मानिहाल्छ भन्ने लाग्या भए त्यो भ्रम आजैका मिति देखि त्याग भन्ने चेतावनी पनि दिन चाहन्छु ! दुबै कुम हल्लाउँदै कमरेड जंगलीले तर्साउने भाव व्यक्त गर्नु भो !!
लङ्गडाले म्याराथन दौडेको देख्या छैन मैलो ! अर्को उखान बाण छोड्दै बोल्नु भो उखान कमरेड – पाँच हजार मारेको भन्दै हाब्रो च्यातेको भिडियो जिउँदै छ ! लडाकुको पैसा हसुरेको फाईल च्यात्तिएकै छैन ! खुरुक्क चुनावमा जाने ! जितेर आउने जे जे चाहिन्छ आफैं लिने ! बोको करायो भन्दैमा घाँस हाल्ने चलन छैन आफ्नो चै ! अर्को उखान बम छोड्नु भो !!
बाताबरण झन भयावह बन्दै गएर तपाईं बाट तिमिमा झर्न थालिसके पछि कमरेड बुद्धिजिविले हस्तक्षेप गर्नु भो ! समाधानको जिम्मेवारी परिषद लाई दिने निर्णय पश्चात् केही बेरको बुद्धिजिविको बैठक पछि निर्णय सार्बजनिक गरियो –
दुबै कित्तामा भ्रष्ट भएतापनी अब उप्रान्त एकले अर्कोलाई भ्रष्ट नभनी कमरेड प्रष्ट भन्ने ! त्यसको सुरुवातमा प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सिले भ्रष्ट भनेको कुरालाई अस्विकार गर्दै भ्रष्ट प्रधानमन्त्रीको साटो प्रष्ट प्रधानमन्त्री भन्ने अभियान सुरु गर्ने ! ट्रान्सपरेन्सिलाई भ्वाङ्गपरेन्सी भन्न सबै अरिङ्गाललाई उर्दि जारी गर्ने ! भ्रष्टाचार भन्ने शब्दलाई बिस्तापित गर्दै भ्रष्टाचारलाई सदाचार भन्न सुरु गर्ने ! भ्रष्टाचारिलाई सदाचारी मान्दै अब उप्रान्त भ्रष्टाचारिलाई सदाचारीको दोसल्ला ओढाउने अभियानलाई तिब्रता दिने !!यस बिचमा एक अर्कालाई गाली गलौज गरेको कुरालाई आजकै मिति बाट पार्टी भित्रै आत्मआलोचना गरि टुङ्याउने ! कसैको सिंन्दुर कसैले नखोज्ने र कुहिएको फर्सिको चर्चा पनि बन्द गर्ने ! कसको पोइ को हो ? चासो समेत नराख्ने !! तर पार्टी बाहिर भने यो सबै पदलोलुप शेर बहादुर र उसको काङ्ग्रेसले गरेको हो भनेर धुवाँधार प्रचार गर्ने जसरी कुनै समय मदन भण्डारीको हत्या गिरिजा र जुलिया चाङ्ग
मिलेर गरेको हो भनेर गरिएको थियो !!
अनि मुल कुरो – दुबै कित्ताका नेताले भ्रष्टाचारिको नाक नहेर्ने कसम खाएको तर आफ्नो वरिपरि भ्रष्ट मात्रै भएको र नियुक्ति सरुवा बढुवा ठेक्का पट्टा जे जसो गर्नु परेता पनि यिनै भ्रष्ट मध्ये बाट गर्नु पर्ने बाध्यता रहेकोले अब उप्रान्त भ्रष्टको मुख नहेरी चाक हेरेर कार्य सम्पादन गर्ने निर्णय गरियो !!!
नेताले हात मिलाए !
अरिङ्गालले ताली बजाए !!
कमरेड राष्ट्रीय सभाले हल्का मुस्कान छोड्नु भो !!!
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार