प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।
‘देश अब चुनावतर्फ गयो गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु परेको दाबी गरे ।
‘संसद्लाई केही गर्न नसक्ने पंगु बनाएर बहुमतको सरकार ढालेर अस्थिरताको राजनीति गर्न खोज्नुभयो । काम गर्न नपाउने स्थिति भएपछि म जनताको बीचमा जानुपर्ने भयो,’ ओलीले भने, ‘अस्थिरताको राजनीतिमा जाने रु म भन्न चाहन्छु, अस्थिरता होइन, चुनावतर्फ जाऔं ।’ प्रधानमन्त्री ओलीले सभामा उपस्थित सबैलाई चुनाव चाहियो भनेर नारा लगाउन लगाएर सिंगो काठमाडौंलाई आवाज सुनाउन आग्रह गरे ।
‘अस्थिरता होइन चुनावतर्फ जाऔं, अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ रु चुनाव चाहियो,’ ओलीले भने, ‘अब सुने होला नि, उहाँहरूले जस्तो हामी कसैलाई धम्की दिँदैनौं, हामी अनुरोध गर्छौं, उहाँहरूले अदालतलाई धम्की दिनुभयो, निर्वाचन आयोगलाई धम्की दिनुभयो । संवैधानिक अंगले स्वतन्त्र ढंगले निर्णय गर्नेछन् ।’