काठमाडौं । त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ ।कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३६ रन बनायो ।

नेदरल्याण्ड्सको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका म्याक्स ओडोडलाई सन्दिप लामिछानेले १० रनमा आउट गरे । त्यसपछि डच टिमको स्कोर १२ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक नेपालका लागि सोमपाल कामीले विकेट लिन सफल भए । डच टिमका बेन कुपरलाई सोमपालले खाता खोल्न दिएनन् ।तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए ।

तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल भए । जसमा उनले स्कोट इडवार्डलाई ३० रनमा साहब आलमको हातबाट क्याच आउट गराए । जसका कारण नेदरल्याण्ड्सले ७३ रनमा तेस्रो विकेट गुमायो । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झर्यो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्यान आउट गराए ।त्यसपछि कप्तान पिटर सेलारले २२ रन बनाए भने एन्टोनिउस स्टालले २० रनको योगदान गरे । उनीहरुले पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गरे ।बलिङमा सन्दिपले दुई विकेट लिए भने साहबको नाममा एक विकेट रह्यो ।

यस्तै सोमपाल कामीले एक विकेट लिए । सन्दिपले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए । उनको घरेलु मैदानमा खेलेको यो पहिलो अन्तराष्ट्रिय खेल हो । जसमा उनले कसिलो बलिङ गर्न सफल भए ।सोमपालले चार ओभरमा मात्र १३ रन खर्चिएर एक विकेट लिए भने करण केसीले चार ओभरमा २२ रन खर्चिएर विकेट लिन सकेनन् । यस्तै अभिनाश बोहराले चार ओभरमा २५ रन खर्चिएर विकेट विहिन बने ।

जवाफमा नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेख टी २० क्रिकेटमा एक सय १६ रनको कीर्तिमानी साझेदारीका कारणले नेपालले सहज जित निकाल्न सफल भयो । जसमा दुबैले डेब्यु खेलमा नै अर्धशतक बनाउन सफल भएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार