हल्दिबारी न्यूज डेक्स गौशाला/महोत्तरीबाट सञ्चालित सबै रेडियो स्टेशन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणको बाँकी बक्यौता रकम नतिरेपछि जिल्लाका सबै रेडियोहरुको लाइन काटिएको छ ।
गौशालाका तीन र बर्दिवासका तीन गरी ६ वटा रेडियोको सोमबार लाइन काटिएको नेपाल .विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले जानकारी दिए । उनका अनुसार यसअघि बक्यौता रकम तिर्न सातदिने अल्टिमेटमसहित सम्बन्धित संस्थालाई पत्र काटिएको थियो ।
रेडियोहरुमा अधिकतम ५ लाखसम्म बाँकी बक्यौता रहेको काण लाइन काटिएको उनले बताए । सञ्चारमाध्यमको हकमा एकलाख भन्दा बढी बक्यौता रहेकाहरुको लाइन काटिएको प्रमुख साहको भनाइ छ । यता सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महोत्तरी अध्यक्ष राजकुमार श्रेष्ठले जिल्लाका सबै रेडियोको लाइन काटिएको बताएका छन् । उनका अनुसार हाल जिल्लामा १० वटा रेडियो सञ्चालनमा रहेको छ ।
कोरोना कहरले थला परेको सञ्चार क्षेत्रलाई यस्ता कार्यले हत्तोसाहित पार्ने काम भएको उनको भनाइ छ । ‘कोरोना कहरमा निषेधाज्ञाले समग्र सञ्चार क्षेत्र थला परेको छ । विधुतको पैसा त हामीले तिर्नैपर्छ । तर यसरी हतारिएर लाइन काट्न हुँदैनथ्यो,’ अध्यक्ष श्रेष्ठले भने ‘हामी छलफल गर्दैछौं । संस्थागत निर्णय गरेर अघि बढ्छौं ।’