ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा

गृहमन्त्रीका रूपमा पहिलोपटक झापा सवारी हुँदा गिरिबन्धु टि स्टेट्मा उहाँको सम्मानमा सन्ध्याकालिन आरति आयोजना भो ! स्वाभाविकै हो – आरतिकै क्रममा पन्चामृत सेवन पछिको रासलिलाको सुइँको पाएपछि बगान विरुद्ध आन्दोलनरत काङ्ग्रेसि चिया मजदुर रिसाए ! बहुदल प्राप्तिको तातो माहोलमा आएको भन्दा पनि ‘ ल्याएको ‘ दम्भ बोकेका हामी ने बि संघे छुचुन्द्रालाई अहिले देउवा सगै शकुनि पोलिटिक्समा ब्यस्त नेताले ‘ हल्का लाठीचार्ज ‘ गर्दिएपछी बर्तमान झापालि महामन्त्री सम्मीलित छुचुन्द्रे टोलि स्पष्टीकरण हेतु उहाँ सामु पुग्यो ! हल्काफुल्का नोकझोक पछि बगान मालिक सगको आरती र पन्चामृत सेवन बिधिसम्बत नभएको स्विकार्दै अब उप्रान्त सुध्रिने वचन प्राप्त भो ! हामी दङ्ग – ओहो ! गृहमन्त्री हप्काईयो ! सुधार्ने भईयो !! हाँगामा झुण्डेको बाँदरले आफुलाई सबैभन्दा अग्लो ठान्ने रोग हामी बाँदरकै सन्ततिलाई नसर्ने कुरै भएन ! हामी गृहमन्त्री भन्दा अग्ला भयौं ! क्रान्ति सफल भएकोमा दङ्ग पर्यौ !

अब उहाँको सुधार सुरु भो – बिनोद समसेरको खड्कुलोमा पाउ चोपलेर सुधारको श्रीगणेश भो ! बिनोदी किशुन जि ले ‘ अहिलेसम्म केटो हाम्रो थियो अब राणाको ज्वाईं भो ‘ भन्दै रमाइलो गर्नुभएको थियोे रे ! उहाँले धर्मपत्नी पाउनु भो ! हामीले बर्तमान राजमाता प्राप्त गर्यौ ! नभन्दै उहाँ काङ्ग्रेस नेता बाट सुधारमार्ग हुँदै राणा मार्गमा बिचरण गर्न थाल्नु भो ! सुधारको क्रम यति बढ्दै गयो कि वर्णन साध्य रहेन ! पदिय दायित्व सगसगै सुधारको भार पनि बढ्दै गयो ! प्रधानमन्त्री हुँदाका बखत कहिल्यै थानकोट सम्म नकटेका सांसदलाई सुरा सुन्दरीका साथ बैंककको टिकट कटाईदिनु भो ! बयलगाडा चढ्ने हैसियतकालाई पजेरो चढाईदिनु भो ! गिरिजा प्रसादले अन्याय गरे भन्दै पार्टी फोर्ने देखि दरवारमा प्रजातन्त्र बुझाउने पुरुषार्थ पनि उहाँको सुधारिएको रुप नै थियोे !

तेर्हौ अधिबेशन बाट सभापति चुनिएपछी ‘ गुटबन्दीको अन्त र कार्यकर्ता प्रती न्याय ‘ को वाणी ओकल्ने उहाँको सुधारमा अझ तिब्रता आयो ! गोबिन्द राज जोशिको निष्कासन र सुर्य बहादुर पुत्रको आगमनलाई पनि सुधारकै रुप मान्नु पर्ला ! राजदुत नियुक्ति देखि हरेक सरुवा बढुवा राजमाताकै बाहुली बाट सम्पन्न हुने कुराले ब्यापकता पाउँदै गयो ! यस्ता कुरामा अर्थलाभका कुरा त सुधारका पदेन बुंदा भैगए ! सुध्रिने नै भएपछि आईजिपी काण्ड र प्रधान न्यायाधीश महाअभियोग काण्ड मच्चाउनु अनिवार्य सर्त थियोे ! त्यो पनि पूरा गरियो ! बिश्वप्रकाश शर्मा प्रबक्ता नियुक्त भएपछि पुरानो प्रसङ्ग कोट्याउदै ‘ सुधार्ने ठाउँमा पुगेको छौ ! देउवाको पुजारी हैन , काङ्ग्रेस प्रबक्ता बन्नु ! देउवा सुधार्नु नि ‘ भन्ने मेरो सुझाव बगरको गित सरह भो ! उहाँलाई बिश्वप्रकाशको सुधारात्मक सल्लाह किन चाहिन्थ्यो र ? सुध्रिन आफैं सक्षम , झन राजमाताको सक्रिय मार्ग निर्देशन सगसगै प्राप्त भएपछि त प्रजातान्त्रिक समाजवाद भान्सा बाटै उत्पादन हुने भैगो ! किन चाहियो बिपिको आदर्श ? क्रमिक सुधारका कारण डडेल्धुराको रोटा खाने बाछो सिङ्गै फर्सी निल्ने असनको साँढे जस्तो भो ! गोरखा काङ्ग्रेसलाई हिसिलाको पोईलाई भोट हाल्ने उर्दि जारी गर्ने र चितवनमा छविलालकि छोरी मेयर बनाउनुपर्ने बाध्यता उहाँको सुधारको सुनौलो पक्ष हुन पुग्यो !

उहाँमा आएको उग्र सुधारको प्रभावले पार्टी पुर्णतया लङ्गडो भएर अरुको बैशाखी बिना चल्नै नसक्ने र यस्तै क्रम बढ्दै गएमा प्रजापरिषद खोज्न काङ्ग्रेस बाहिर जानु नपर्ने निष्कर्ष निकाल्दै चौधौं अधिबेशन बाट उहाँको सुधार अभियानको अन्तेष्ठी गर्ने तरखर हुँदै गर्दा पहिलो दिन आईसियु मा पुगेपछि रातभरिको क्रन्दन उपचार पछि काठमाडौको बफ मोमो , धनुषाको माछाको झोल अनि महोत्तरीको बङ्गुरको साप्रोको मिश्रण बाट निर्मित पौष्टिक आहार बाट पुनः तन्दुरुस्त हुन पुग्नु भो ! झापा बाट आयातित भेडाको होमप्याक परिकार त पहिले नै तयार थियोे ! उता रुञ्चे धृतराष्ट्रले तटस्थता नामको पौष्टिक आहार पनि दिनु भएकै थियो ! यो मिश्रण निर्माणमा उहाँको पुनः सुध्रिने बाचाले निकै ठुलो काम गरेको भनिएतापनी रातभरिको आइसियु खर्चको मोटै बिल भुक्तानीको चर्चा समेत चल्यो !

खैर ! उहाँ फिर्नु भो ! तन्दुरुस्त हुनु भो ! फेरि सुध्रिन थाल्नु भो ! उहाँको यसपटकको सुधार पनि हिन्दी फिल्मको प्रेम चोपडाकै तालको भो ! सभापति नपाउँदा पार्टी नै छोड्ने रुञ्चे धम्की दिने धृतराष्ट्र , घर सम्हाल्न नसक्ने तर बंश बिरासत थाम्ने दम्भ बोकेर चुनाव हारेपछी मुलुक छोड्ने घुर्की दिने मन्थरा , आफू जित्न भन्दा पनि अरुलाई हराउन सिपालु सकुनिको मनोनयन बाट उहाँको सुधार प्रष्टिदैछ ! अझ त्यसमा दुर्योधन , दुशासन , कंस , सिखण्डी , कैकयी आदि थपिदै जालान जसबाट काङ्ग्रेस भित्र राम्रै महाभारतको तयारी बुझिदैछ ! उता राजमाताको कृपादृष्ट्री रहदै गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय माफियाका लागि नयाँ ब्यासासन तयार हुनेमा संकै रहदैन ! अर्को सुधार आउँदो चुनावमा प्रष्टै देखिने छ ! गाउँ गाउँ पसेर फोक्सो गिजा सम्म जोडिउन्जेल काङ्ग्रेस चिच्याउदै संगठन गर्ने काङ्ग्रेसिले हँसियाहथौडा बोक्नुपर्ने हो कि ? कलम समाउनु पर्ने हो ? उहाँकै सुधारमा भरपर्छ ! रुखमा भोट हाल्न पाउने सम्भावना न्यून छ ! उहाँको सुधारले काङ्ग्रेस आफैं आफ्नो बुतामा उभिन सक्दैन भन्ने सोचले मानसिक अपाङ्ग भैसकेको छ ! प्रष्ट छ – उहाँ जति सुध्रिदै जानुहुन्छ काङ्ग्रेस त्यतिनै उध्रीदै जान्छ ! उहाँको सुधार अभियानलाई साथ दिन अब त झन बतास , हावा , हुन्डरी आदि ईत्यादी थपिदै जालान !

भो प्रभु ! अब पुग्यो ! तपाईंको सुधार अभियानको अन्तेष्ठी गरौं अब ! कुनै समय तपाईंलाई शेरे पश्चिम भनिन्थ्यो अहिले शेरे खत्तम भन्छन ! पहिले अरुले पश्चिम भन्दा गर्व महसुस हुन्थ्यो अहिले अरुले खत्तम भन्दा ग्लानी महसुस हुन्छ ! हामिलाई बिग्रेको पहिलेकै शेरे पश्चिम नै ठिक छ , सुध्रेको अहिलेको शेरे खत्तम हैन !!! कसो गरौ होला ????

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार