काठमाडौं, माघ १२ गते । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । ।केन्द्रीय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ जना र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको तथ्यांक विभागले जनाएको छ ।

त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ भने ति परिवारहरु ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । त्यसैगरी प्रतिपरिवार ४।३२ जना सदस्य रहेको देखिएको जनाइएको छ ।

सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ जना रहेका छन् । सबैभन्दा कम जनसंख्या भने कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८८९ जना रहेको छ ।

७७ वटै जिल्लाहरु मध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ । सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा परको छन् ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ । धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ ।

२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ । त्यस्तै सबैभन्दा धेरै जनसंख्या भएको बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ जना रहेको छन् । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।

नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार