दक्षिण अफ्रिकाको एक नाइट क्लबमा २१ विद्यार्थीको शव भेटिएपछि सनसनी मच्चिएको छ । मारिएका बालबालिका उच्च माध्यमिक विद्यालयको परीक्षा सकिएको उत्सव मनाउन क्लब गएका थिए । मृत्युको कारण भने खुल्न बाँकी छ । प्रहरी अधिकारीका अनुसार मारिएका बालबालिकाको शवमा कुनै चोटपटकको निशान भेटिएको छैन् । घटनामा मारिएका विद्यार्थीको उमेर १३–१७ वर्ष रहेको बताइएको छ ।
पूर्वी लन्डनको सिनरी पार्क नजिकैको नाइट क्लबमा २१ विद्यार्थीको मृत्यु भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले उल्लेख गरेको छ । ८ बालिका र १३ बालकको शव फेला परेको हो । क्लब भित्रबाट १७ वटा शव फेला परेको थियो । उपचारका क्रममा ४ बालबालिकाको मृत्यु भएको छ ।
एजेन्सीको अनुसार प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । प्रहरीले फरेन्सिक टोलीसहित घटनाको अनुसन्धान गरिरहेको छ । मृत्युको कारण पत्ता लगाउने काम भइरहेको जनाइएको छ । घटनाको अनुसन्धान भइरहेको छ । अहिले शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
१८ वर्षभन्दा माथिकाले मात्र मदिरा सेवन गर्न पाउँछन् । यस्तो अवस्थामा क्लबमा हाईस्कूलका बालबालिका राख्नुले प्रश्न खडा गरेको छ । प्रशासनले मदिरा लाइसेन्ससम्बन्धी कानुनमा संशोधन गर्ने विषयमा छलफल गर्नेछ । वास्तवमा, सबैभन्दा धेरै रक्सी दक्षिण अफ्रिकामा खपत हुन्छ।