-गोमा नेपाल

बैदिक सनातन धर्मको मुख्य विशेषता सहिष्णुता मात्रै होइन चाड संस्कार र संस्कृति सँग प्राकृतिको सम्मिलन पनि हो । सनातन धर्मालम्वीहरुमा पनि विभिन्न देश , क्षेत्र तथा समुदायका मौलिक चाड पर्वहरु धेरै छन् । जसमध्ये नेपालीहरुको चौथो ठूलो चाड तीज घर आँगनमै आएको छ ।

तृतीया शब्दबाट तीज बनेको हो । भाद्र शुक्ल प्रतिपदाबाट पञ्चमीसम्मका पाँचवटै दिनलाई समन्वितरुपमा तीज भने पनि खास तीजचाहिँ तृतिया दिनलाई मानिन्छ । दिदी बहिनी जम्मा हुने मिठो खाने, राम्रो लाउने र गीत सङ्गीतमा रम्ने यो चाडको विशेषता हो ।

तीजको धार्मिक महत्व पनि त्यतिकै छ । तीजमा खासगरी भगवान शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकास भइरहेको पर्व हो तीज ।

बहुसाँस्कृतिक पर्वका रुपमा विकसित भइरहेको तीज अब हिन्दू महिलाहरुमा मात्र सीमित नरही सबै धर्म–जातिका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकसित भइरहेको छ । नेपालीहरुका ठूला चाड दशैं र तिहारपछिको तेस्रो ठूलो चाडका रुपमा स्थापित हुँदै गएको पर्व हो तीज । यो चाड मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाउने गरेको पाइन्छ ।

मानव जातिको विकासक्रम सँगै प्राचिन सभ्यता र इतिहासका कथाहरु धार्मिक ग्रन्थमा पढ्न र सुन्न पाइन्छ । सत्य , त्रेता द्धापर युगका भगवानका विभिन्न नामहरु , भगवानका विभिन्न रुप, चरित्र र गाथाहरुलाई पछ्याउँदा बैदिक सनातन धर्म संस्कृति बहुआयामकि बन्दै गइरहेको छ । एकातिर धार्मिक आस्थाका आधारमा भगवानको पूजा आराधाना गर्नु र अर्कातिर भौतिक शरीरको शुद्धता , स्वास्थ्य र सन्तुलनका लागि बैत उपसाना गर्नु बैज्ञानिक कारणबाट पनि जायज मानिएको छ ।

#हिजोको तीजः चेली र माइतीलाई जोड्ने पर्वका रुपमा नेपालमा तीजको महत्व रहिआएको पाइन्छ । वर्षभरी चेलीहरु आफ्नो कर्मघारमा रहँदा आफ्नो जन्मघरको यादले तड्पनु स्वभाविकै थियो । पराई घरले दिएको पिडालाई जन्मघरमा आएर गीतको माध्यमबाट व्याक्त गरिन्थ्यो । चेली र माइतीबीचको हार्दिकता बढाउने पर्वका रुपमा हिँजो तीजको ठूलो महत्व थियो ।

माइतबाट बुबा , दाजु, भाई चेलिवेटी लिन जाने घरबाट छुट्टी दिए मात्रै लिएर फर्कन पाउने चलन थियो । बुबा , दाजु भाईले घरमा ल्याएर मीठोमीठो खुवाउने, तीज सकिए पछि यथाशक्य उपाहार तथा दक्षिणाका साथ कर्मघरमा पु¥याउन जाने चलन थियो ।

थकान मेटाउने र आराम गर्ने समयः वर्षभरी खेती पाति तथा घरधन्दामा अहोरात्र खटिनु भनेको चानचुने कुरा थिएन । बुहारीलाई कामको बोझ निकै ठूलो थियो । वर्षको एक पटक केही दिनका लागि भए पनि माइतमा गएर आराम गर्न पाउने अबशर भनेको तीज पर्व नै थियो । साथै आँफू सँगै हुर्केका साथी सँगीहरु सँग भेट गर्न पाइने , दुख सुख बाँढ्न पाइने । एक ठाउँ र अर्को ठाउँको चाल चलन आदान प्रदान हुने माध्यम तीज पर्व थियो ।

तीजको यो महत्वलाई धर्म संस्कृती सँग जोडेर चीरस्थायी बनाइएको हुनसक्छ । विवाहित महीलाले पतिको दीर्घायुको कामना गर्दै निराहर ब्रत बस्नुको पनि मौलिक कारण थियो । त्यतिबेला पुरुषहरु जोखिमपूर्ण काममा घरबाट बाहिर निस्कन्थे । बर्खाको बेला भीर पहाडका कुना कन्दरामा पतिहरु जाने भएकोले उनीहरु तल वितल नपरुन भन्नका लागि पत्नीहरुले भागवानसँग प्रार्थना गर्दै निराहर व्रतबस्ने परम्परा सुरु भएको हुनसक्छ । यसैगरी तीजको दरखाने दिन धेरै नै गरिष्ठ भोजन गरिने भएकोले भोलिपल्ट केही नखाई स्वास्थ्य सन्तुलनमा राख्ने उपाय अवलम्वन गरिएको पनि हुनसक्छ ।

#परिवर्तित समयः आज समयको परिवर्तन संगै रितीरिवाज , चाड पर्व मनाउने तौर तरिका पनि फेरिएका छन् । हुनेखाने वर्गलाई ३ सय ६५ दिननै तीज पर्व हुन्छ । हुँदा खाने वर्गलाई भने अहिले पनि तीज पर्वका ३ दिन भारी हुने गरेका छन् । अर्थात हुनेखानेलाई राम्रो लगाउन र मीठो मसिनो खान चाड पर्व कुर्नु पर्देन , हुँदा खानेलाई दशैं, तिहार पर्खनु पर्छ ।
पछिल्ला दिनमा चाड पर्वका नाममा खराव कुराको देखासिखी तथा अडम्वर एवं सम्पत्ति पर्दशन जस्ता विकिृति बढेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि तीज मनाएको नाटक गर्नेहरु पनि थुप्रै छन् ।

तीज पर्व सामुहिक रुपमा मनाउने परम्परा पनि विकसित भएर आएको छ । जसले गर्दा महीनाभरी तीज पर्वका नाममा तडक भडक बढेको छ । तीजका नाममा पार्टी प्यालेसमा गएर दारु पिउँदै डिस्को नाच्ने प्रवृतिलाई विकृति मान्ने हो वा विकसित रुप मान्ने ?

बढ्दो शहरीकरण तथा शहरी जीवन शैलीका कारण हिँजोको ग्रामिण अवस्थाको जसरी मनाउन संभव छैन । संचार तथा यातायातको विस्तार सँगै पारिवारिक दायरा तथा जमघटको दायरा फराकिलो हुँदै गएको छ ।

छोरी चेली मात्रै नभएर भाञ्जा, भाञ्जी , ज्वाँइ , छर छिमेक , आफन्त र साथी पनि सामेल हुने भएका कारण भोजका लागि क्याटरिङकै व्यवस्था गर्नु पर्ने भएको छ । क्याटरिङको व्यवस्था त ठीकै थियो , कसको भन्दा कसको भोज भाड्किलो ? बनाउने ? भन्ने प्रतिस्पर्धा नै चल्न थालेको छ । धर्म र संस्कृति जोगाउने नाममा आडम्बर सम्भ्रान्त समाजले भित्र्याएका तडकभडकजस्ता विकराल विकृतिहरुलाई हटाउने प्रयत्न गर्नु सभ्य र सचेत नारीहरुको कर्तव्य हो ।

तीज नेपाली महिलाहरुको आफ्ना भावना पोख्ने पर्वको रुपमा परिचित थियो र छ । तर, पछिल्लो समयमा आएर महिलाहरुको भावना पोख्नेभन्दा पनि यो व्यावसायिक हुँदै गएको छ । परिवर्तन हुनु नराम्रो कुरो त होइन तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ । वर्तमान पुस्ताको जिम्मेवारी भनेको हाम्रा भाषा, साहित्य, कला र संस्कृतिलाई भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु हो । तीज गीत त हाम्रो मौलिक संस्कृतिको धरोहर हो ।

तर, हिजोआज हामी मूल मर्मतिर छैनैँ कि जस्तो लाग्छ, पारिवारिकजस्तो छैन, बरू कतै उट्पट्याङ जस्तो भएको गुनासो पनि सुन्ने गरिन्छ । यसको विधान खल्बलिँदै गएकोमा चिन्ता बढ्नु पनि स्वाभाविकै हो । तर, यसको व्यापकतामा विकास हुँदै गएकोमा भने खुसी नै मान्नुपर्छ । तीजगीत घटनाप्रद हुने हुँदा यस गीतले घटना खोज्नेभन्दा पनि क्षणिक र सस्तो रमाइला विषयवस्तुहरु हाबी भइरहेको हो कि जस्तो देखिएको छ ।

महिलाहरुले आफूले भोगेका सामाजिक बन्धन, पारिवारिक हिंसा र अत्याचारप्रति कटुव्यङ्ग्य तथा विद्रोहका स्वरहरु तीजका गीतमा सुनिने भए पनि विगत केही वर्षदेखि त्यस्ता गीतहरुभन्दा क्षणिक रमाइला गीतहरुले बजार पाएका छन् ।

पछिल्लो समयमा तीजगीतको मौलिक र शास्त्रीय परम्परामा ह्रास आएको छ । तीज नारीहरुको पर्व हो, गीत पनि त्यस्तै झल्किने खालको हुनुपथ्र्यो । तीजका गीत अन्धविश्वास, हिंसा र विसङ्गतिपूर्ण व्यवहारका विरूद्ध र समानतामूलक समाज निर्माणका लागि हुनुपर्छ । तर पहिलेको तीज गीत र अहिलेको तीज गीतमा पनि आकाश जमिनको फरक देखिन थालेको छ । पुरुषहरु समेत गीत गाउने , नाच्ने देखि लिएर उच्छृंखल म्युजिक भीडओ संस्कृति पनि हावी हुन थालेको छ । तर केही गीत तथा भीडियोहरु सन्देश मुलुक र मनोरन्जनात्मक पनि छन् ।

तीजको सांस्कृतिक तथा सामाजिक पक्षलाई अझ राम्रो बनाउन पारिवारिक तालमेल हुनु पर्छ । खर्च गर्ने तरिका अरुको देखेर होइन आँफैले सोचेर आफ्नो हैसियत अनुसार हुनुपर्छ । मनोरन्जनलाई सन्तुलित, समय सापेक्ष र पारिवारिक माहौल बनाउनु पर्छ । स्वास्थ्यको ख्याल राख्दै निराहर भन्दा पनि फलाहार र इच्छा अनुसारको सावित्क भोजन लिनु उपयुक्त हुन्छ । पहिलाका नारी गृहणी मात्रै थिए । अहिलेका नारी कामकाजी छन् ।

पारिवारिक वातावरण र रहन सहनमा ठूलो भिन्नता आएको छ । लैंगिक विभेद धेरै हदसम्म घटेर गएको छ । आफ्नो खुट्टामा उभिनसक्ने महीला बढेका छन् । त्यसैले चाढको महत्व र शैली फेरिएको छ ।

कोरोना कहरको बाबजुद तीजलाई सरल शालिन र अर्थपूर्ण बनाउन सकौं , धर्म र संस्कृति जोगाउने नाममा विकृतिहरुलाई प्रश्रय नदिउ । यसपाली कोरोना कहरले आक्रान्त बनाइरहेको बेला घरमै सुरक्षित तरिकाले तीज पर्व मनाऔं । तीज मात्र होइन कुनै पर्व पनि राम्रोसँग मनाउने वातावरण छैन । आफ्नो र परिवारको स्वस्थ्यको ख्याल गरेर सामाजिक दूरी कायम राख्दै सुरक्षित तरिकाले तीज मनाऔं । अहिलेको परिस्थिति भिन्न भएकाले यो नेपाली नारीहरुको महान् पर्व घरमै सहज तवरले मनाऔं । हार्दिक शुभकामना ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार