धर्म संस्कृति तथा परम्परा अनुसार
घरमुली प्रिय र सम्मानित हुन्छन नै
अनि भरोसायोग्य पुजनीय पनि
घरमुलीले पनि त्यो धर्म निर्वाह गरेकै हुन्छ
तर सरल र सहजतासंग हिडदा हिडदै
अचानक कुबाटो हिडिदिन्छन कुनै घरमुली
अनि स्वाभाविक बिग्रहको बाटो तिर
ओरालो झर्न थाल्दछ घर
हुँदाखाँदाको घर बिगार्ने घरमुलीले
योग्य भाइबहिनीलाई या छोराछोरीलाई
घर चलाउन दिनै पर्दछ
आफु आरामले तीर्थब्रत गर्दा भयो
कित , त्यस्तो खराब स्थिति आउदैन भनेर
पूर्ण बिश्वास दिलाउन सक्नु पर्यो
हठ या अहंकारले पेलेरै जाने
निरंकुश मनस्थिति बनाइयो भने
कसरी मूकदर्शक बन्न सक्छन परिवारजन
त्यहा त स्वाभाविक बिद्रोह जन्मन्छ
उकुसमुकुसले बिकराल रूप लिदै गर्दा
घरमुली घरबाट
बहिष्कृत पनि हुन सक्छन
या अपजसको भारीले थिचेरै
टाउको उठाउनै न सक्ने पनि हुनसक्छन
त्यो अत्यन्त पीडादायक हुन सक्छ
समग्र परिवारजनले त्याग , निष्ठा र कठोर संघर्षले
चिटिक्क पारेर सिङ्गार्दै आएको
अनि पौरखी पुर्खाहरूको रगत पसिनाले सिंचित
त्यो सुन्दर , सुभासित र प्रिय घर
जसको प्रतिष्ठा चारैतिर मगमगाई रहेको भए पनि
आपसी कलहले दुर्गन्धित हुन क्षणभर लाग्दैन
त्यो घर सबैको साझा सम्पत्ति न हो
सबैको गौरब र स्वाभिमान न हो
घरकै ब्यवस्थित पुनर्निर्माणकोलागि
अब समाल्नै न सक्ने अवस्था सिर्जित भएको
अन्तरमनबाट महसुस गर्दै
सुयोग्य पुस्तालाई सत्ता हस्तान्तरण गर्दै
स्वेच्छाले त्यागको सम्मानित बाटोमा हिडिदिन्छन
घरका सच्चा शुभचिन्तक घरमुली ।
राम कट्टेल
४ माघ २०७९