हल्दिबारी : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै स्वार्थ भूमिका नभएको बताएका छन्।
प्रकरणमा आफ्नो प्रमकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको भन्दै उनले १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने डा . भट्टराईले सामाजिक संजालमा आफ्नो धारण पोखेका छ्न ।
‘मन्त्रिपरिषद्का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन्! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ। मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु।’
तत्कालीन प्रमको हैसियतले आफूसँग जोडिएको विषय यति रहेको उनले जिकिर गरेका छन्। ‘त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ळगाएको पनि छैन’, भट्टराईले भनेका छन्।
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा आफूले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको पनि उनले बताए।
यस कुरामा आफू आजीवन प्रतिबद्ध रहेको उनको भनाइ छ।
‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्’, उनले लेखेका छन्।