- बिर्तामोड-सुत्केरीको उपचारमा लापरवाहीको विषयलाई लिएर बिर्तामोडस्थित मनमोहन अस्पतालमा भएको विवाद साम्य भएको छ । पीडित पक्षलाई राहत उपलब्ध गराउने सहमतिपछि विवाद समाधान भएको हो ।
साउन २७ गते प्रसुति गराउन मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड-१ की २७ वर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । वरिष्ठ प्रसुति रोग विशेषज्ञ एकराज गौतमले सिर्जनाको शल्यक्रिया गरेका थिए ।
सुत्केरीको स्वास्थ्यमा समस्या आएको भए पनि पीडित परिवारलाई कुनै जानकारी नदिइएको जनाइएको छ । व्लड प्रेस बढेर नशा फुटेपछि मनमोहनले बिर्तासिटी अस्पताल पठाएको थियो । बिर्तासिटीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
चिकित्सकीय लापरवाहीका कारण सिर्जनाको अवस्था जटिल बनेको परिवारको दावीका बीच छलफलका लागि तयार भएको अस्पताल प्रशासनले पीडित पक्षलाई राहत दिने सहमति गरेको छ ।
पीडित परिवारलाई २० लाख रुपैयाँ दिने, नवजात शिशुको शैक्षिक संरक्षकत्वसहित १२ कक्षासम्म राम्रो निजी विद्यालयमा पढाई दिने र शिशुको सबै उपचार खर्च अस्पतालले व्यहोर्ने सहमति भएको छलफलमा सहभागी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।
चिकित्सकको लापरवाहीका विषयमा आवश्यक तथ्य जाँचका लागि मेडिकल काउन्सिललाई आग्रह गर्ने सहमति भएको छ ।साभार : स्पीक कर्नर
सहमति भएको छैन् : पीडित परिवार
बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको परिवारले जनाएको छ । विभिन्न सञ्चार माध्यममा सहमति भएको भनी आएका समाचारमा सत्यता नरहेको सिर्जनाकी बहिनी कुसुम संग्रौलाले जानकारी दिइन् ।
उनका अनुसार सिर्जनाको उपचार भइरहेको छ ।
स्रोतको असावधानीका कारण सिर्जनाको मृत्यु भएको भनी समाचार सम्प्रेषण हुन गएकोमा क्षमाप्रार्थी छौँ । (सम्पादक)