द्रोण अधिकारी :
यो पृथ्वी सवै प्राणी र जीवको साझा घर हो । हरेकले आफ्नो अस्तित्व गर्वका साथ यही पृथ्वीमा जमाउन पाउनु प्रकृतिसिद्ध अधिकार पनि हो । तर सवै जीवको अधिकारमाथि चेतनशील भनिएको मानवले अतिक्रमण गर्ने क्रम बढ्दो छ । मानवका कारण उत्पन्न अतिक्रमित विचार नै जंगली जनवारसितको द्वन्द्वको उदय हो । प्राकृतिक सम्पदाको विनास बढेसंगै प्रकृतिबाट सिर्जित वस्तु बीचमा द्वन्द्व बढेर नयाँ विनासको अध्याय सुरू हुन्छ भन्ने प्रकृति प्रद्धत्त सिद्धान्त छ । यस सत्य भावलाई मात्र स्वीकार गर्ने हो भने जंगली जनवार र मानव बीचको द्वन्द्व किन र केका लागि हो भन्ने प्रश्नको उत्तर सजिलै पाउन सकिन्छ । तर, मानिसले प्रकृतिको नीतिभन्दा आफ्नो अहम बढी लादेर अगाडि बढ्दा समस्या दिनप्रतिदिन बढ्दो रूपमा छन् । झापाको चार दशकयताको मानिससितको हात्तीको द्वन्द्वलाई नजिकबाट हेर्ने हो भने काही न काही प्राकृतिक सम्पदा अतिक्रमणको प्रभाव भन्ने सत्य तथ्य निहाल्न सकिने छ । झापामा मानव—हात्ती द्वन्द्वको श्रृंखला निकै लामो भइसकेको छ । तराइको घना जंगल चारकोशे झाडीको महत्वपूर्ण क्षेत्रफलको प्रवेश विन्दु रहेको झापा भारतीय जंगलबाट नेपाल आउने हात्तीको मार्गस्थल पनि हो । यसैकारण झापामा जंगल साँघुरिदै गएर बस्ती विस्तार भएसंगै हात्ती—मानव द्वन्द्वको शुत्रपात हुन पुग्यो । यस द्वन्द्वको दीर्घकालीन समाधानका लागि पटक–पटक स्थानीयले सरोवारवालाको ध्यानाकर्षण गरे तर पनि समाधानको दीर्घकालिन उपाय निस्कन सकेन । यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा दिन प्रतिदिन बढ्दो छ । अन्नबालाी पाक्ने समयमा किशानलाई आफ्नो उपज जोगाउन निकै कठिन परिरहेको छ । सरोकारवाला निकायका रूपमा रहेको सरकारले प्रभावकारी काम नगरेको आरोप हात्तीबाट पीडित किसानहरूको छ । हात्तीले घर भत्काएको, बालीमा क्षति गरेको क्षतिपूर्ति पाउन पनि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको किसानहरूको दुखेसो छ । ‘सरकारले न समयमा क्षतिपूर्ति दिन सक्छ न त हात्ती आतंक नै रोक्न सक्छ । वर्षौंदेखि मानव—हात्ती द्वन्द्व सहेर बसेका किशानको समस्या सरकारले बुझ्नु पर्दैन भन्ने प्रश्न उठिरहेको भए पनि चित्त बुझ्ने जवाफ आउन सकेको छैन ।
उत्तर पूर्वी झापामा सरकारले करिब डेढ करोड खर्चिएर निर्माण गरेको इलामको पाटापुरदेखि मेचीनगरको नकलबन्दासम्मको १७ किलोमिटर लामो विद्युतीय तारबार बनाए पनि अहिले निष्प्रभावी बन्दै गएको छ । यस्तै दक्षिण पूर्वी झापा अन्र्तगत भद्रपुरको चन्द्रगढी वन, महेशपुर, पृथ्वीनगर क्षेत्रमा रहेका जलथल वनका पूर्वी सिमाना, हल्दिवारी र कचनकवलको जलथल वनका वस्ती आसपास विद्युतीय तारवार लागि सकेको छ तर पनि हात्ती बस्तीतिर पसेर जनधनको क्षति गर्ने क्रम घटेको छैन । विद्युतीय तारवारदेखि हात्ती डराउने र भाग्ने अवस्था कमजोर भइसकेको छ । अब हात्ती छेक्ने तारबार बाहेको अर्को उपायको खोजी गर्नु पर्ने जरुरी देखिन थालेको छ । स्थानीय अग्रजहरूका अनुसार वि सं २०३० सालतिर भारतीय सिमावर्ती जंगलबाट झापातिर हात्तीका हुल आउनथाले । तर, त्यतिविघ्न आतंक वा बिनासको अवस्था थिएन । जब २०३४ साउन ९ मा तत्कालिन बाहुनडाँगी गाउँ पञ्चायत–९ की यशोदा विश्वकर्मा हात्तीबाट मारिइन् । त्यसपछि यहाँ मानव–हात्ती द्वन्द्व सुरु भयो । त्यो बेला घना जंगल रहेको यो क्षेत्र विस्तारै बस्ती विकास हुँदै गयो । विज्ञहरूका अनुसार हात्ती करिडोरमा बस्ती बस्न सुरु भएपछि नै द्वन्द्व सुरु भएको हो । पञ्चायतकालका वन विभागका बडाहाकिम गञ्जबहादुर कार्कीका छोरा रविन कार्कीले लेखेको ‘बाहुनडाँगी सेरोफेरो’ किताबमा ०३० सालपछि मात्रै बाहुनडाँगीमा मानव—हात्ती द्वन्द्वको सुरु भएको उल्लेख छ । यो द्वन्द्वको क्रम उत्तर पूर्वी झापाबाट दक्षिण पश्चिम हुँदै समग्र झापामा फैलिसकेको छ । द्वन्द्वका क्रममा २०८० साउनयता झापामा तीन वटा हात्तीको मृत्यु भइसकेकोे छ भने हात्ती आक्रमणबाट ६ जना मानिसको पनि ज्यान गइसकेको छ । डिभिजन वन कार्यालयको विवरण अनुसार झापामा हात्तीको आक्रमणबाट अघिल्लो आव २०७८–७९ मा पाँचजना, आव २०७७–७८ मा तीनजना , २०७६–७७ मा दुईजना , आव २०७५–७६ मा एकजना र आव २०७४–७५ मा पाँचजनाको मृत्यु भइसकेको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १७ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मृत्यु हुने मानिसमा अधिकांश किशान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्तीे आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ । यस्तो विकराल बन्दै गइरहेको मानव—हात्ती द्वन्द्व नियन्त्रण गर्न सरकार किन मौन छ ? यस प्रश्नले उत्तर खोजिरहेको छ । विज्ञहरू हात्ती करिडोरको अतिक्रमण गरेर मान्छेले बस्ती बसाएकै कारण द्वन्द्व सिर्जना भएको बताउने गर्छन् । हामी सर्वसाधारण हात्तीचाहिँ हाम्रो घरआँगनमा आएर अन्याय गरिरहेको ठानेर त्यससित प्रतिकारमा लागिरहेका छौं । यसखालको द्वन्द्व न्युनीकरणका लागि राज्य पक्ष सिर्जनशील भएर नागरिकसित हातेमालो गर्न तयार हुनु पर्ने हो त्यस किसिमको वातावरण निर्माण हुन सकेको छैन । प्रकृतिबाटै सिर्जित प्राणी मानव—हात्ती द्वन्द्वले प्रकृति प्रद्धत्त अधिकार खोस्ने होड चलिरहेको हो त ? प्रश्न उठिरहेको छ । मान्छे विवेकशील प्राणी हो । उसले हात्तीसित लडेर होइन मिलेर आफ्नो विवेक बचाउनुचाहिँ प्रकृति प्रद्धत्त अधिकारको संरक्षण हुन सक्छ तर व्यवहारमा त्यस्तो नदेखिएकै कारण मानव—हात्ती द्वन्द्व दिनप्रतिदिन बढिरहेको छ ।