राजबाबु शंकर / भद्रपुर नगरपालिका क्षेत्रमा ‘‘पढ्दै–कमाउँदै कार्यक्रम’’ शुरु भएको छ । भद्रपुर नगर–प्रमुख गणेश पोखरेलले यही असार २० गते सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।

स्थानीय वडा न.–१ स्थित हिमाली माध्यमिक विद्यालयमा २०७३ सालदेखि पढाइ–सिकाइ हुँदै आएको पशु प्राविधिक धार तर्फ यही शैक्षिक सत्रबाट ‘पढ्दै–कमाउँदै कार्यक्रम’ लागू भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको देशव्यापी कार्यक्रम अन्तर्गत प्राविधिक विषयक पढाइसँगै सीपमूलक उद्यमशीलता प्रवद्र्धन गर्न भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक विद्यालयस्तरबाटै विद्यार्थीलाई उद्यमशील बनाउने र स्वदेशमै रोजगार बन्न सकिन्छ भन्ने भावनाको विकास गराउने उद्देश्यले पढ्दै–कमाउँदै कार्यक्रमलाई अहिले आएर महत्व दिइएको छ ।

यो कार्यक्रम अन्तर्गत गाई, भैंसी, बाख्रा, बोयर बीउ बोका, बङ्गुर, कुखुरा र माछापालनका साथै सागसब्जीको खेती सम्बन्धी विद्यार्थीहरूलाई व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गरेर व्यावसायिक बनाउन मद्दत पु¥याउने नगर–प्रमुख पोखरेलको कथन छ ।
उपप्रमुख राधा कार्कीले पनि ‘अहिलेको आवश्यकता नै प्राविधिक शिक्षा भएको बताउँदै सीपयुक्त प्राविधिक शिक्षाले युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा जान रोक्नुका साथै व्यावसायिक बनाउने’ बताएकी छिन् ।

पशु र माछापालन तथा च्याउ र टनेल खेती सम्बन्धमा पढाइपछि सोको व्यावहारिक सिकाइ फिल्डमा प्रयोगात्मक अभ्यासद्वारा हुने बताउँदै प्रअ. दीपक दाहालले– सोही प्रयोगात्मक अभ्यासको चरणमा किसानहरूलाई बालीनाली लाउँदा र पशुपालन गर्दा ध्यान दिनु पर्ने एवम् रोगव्याधिका बेला गर्नु पर्ने उपचारका सम्बन्धमा विद्यार्थीहरूले जानकारी दिने बताए । प्रयोगात्मक सिकाइका क्रममा फिल्डमा खटिँदा वा बोलाएका बेलामा बिरामी चौपायाहरूको उपचार समेत गर्ने विद्यार्थीहरूले सो काम वापत लिने विद्यालयद्वारा निर्धारित सेवा–शुल्कको ५० प्रतिशत रकम पाउने भएबाट यस कार्यक्रमलाई ‘पढ्दै कमाउँदै’ भनिएको पनि उनले बताए । यस विद्यालयमा पशु प्राविधिक धार तर्फको ४ वर्षे स्नातक तहको पढाइ–सिकाइ शुरु भएयता संघीय सरकारले सशर्त अनुदान उपलब्ध गराउँदै आएको छ भने चालू आव. २०८०–’८१ मा भद्रपुर नगरपालिकाले पहिलो पटक १० लाख बजेट विनियोजन गरेको छ । आगामी आव.का लागि पनि नपा.ले बजेट विनियोजन गरेको बताएको छ ।

पढ्दै–कमाउँदै कार्यक्रमको बजेटबाट यस वर्ष विद्यालयको १० बिघा जग्गामध्ये ५ कट्ठामा माछापोखरी सञ्चालनमा ल्याइएको, पशुपालनका लागि खोर निर्माण, कृषिजन्य खेतीका लागि जग्गा तयार गरिनुका साथै दाना बनाउने मेसिन खरीद गरिएको र अब च्याउ खेतीका लागि विद्यालयको एउटा कक्षा कोठा प्रयोगमा ल्याउने तयारी गरिएको प्रअ. दाहालले जानकारी दिए ।
हिमाली मावि.मा पशु प्राविधिक धार तर्फ हालसम्म चौथो ब्याचको पढाइ सकिँदा निजामती तर्फको नासु. सरह ५० जना जुनियर टेक्निसियन उत्पादन भइसकेका छन् । यो धारको पढाइ कक्षा– ९ देखि नै शुरु भएर १२ कक्षासम्म चालू रहन्छ । हाल पाँचौं ब्याचमा करीब ८० जनाको पढाइ–सिकाइ चालू रहेको यस कार्यक्रमका संयोजक शिक्षक विनोद खरेलले जानकारी दिए । उनका अनुसार, यस धार तर्फ १ जना ल्याब–टेक्निसियन र ७ जना शिक्षक कार्यरत् छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार